काठमाडौं- फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले कात्तिक १२ देखि १६ गतेसम्म ‘१९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी, २०८३’आयोजना गरिने भएको छ । फ्यानले ललितपुरको जावलाखेलस्थित खेलमैदानमा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित प्रदर्शनी सञ्चालन गर्न लागेको हो ।
फ्यानका उपाध्यक्ष सुमन महर्जनकाअनुसार नजिकिँदै गरेको तिहार तथा छठ पर्व समेत लक्षित गरी आयोजना गर्न लागिएको पाँचदिने यो मेलामा ८६ प्रदर्शनी कक्ष (स्टल) रहने छन् । त्यसमध्ये व्यावसायिक ७८, प्लान्ट क्लिनिक एक, अफिसियल चार, प्रतियोगितात्मक दुई र फोटो सेल्फी एक स्टल रहने मेलाका संयोजक समेत रहेका महर्जनले बताए । बागती प्रदेश सरकारका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री राम आलेमगर कात्तिक १२ गते बिहान ११ बजे मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।
पुष्प व्यवसायको व्यावसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले फ्यानले २०५१ सालदेखि लगातार रूपमा यस्ता मेला तथा प्रदर्शनीको आयोजना गर्दै आएको छ । यस वर्ष भित्र्याइएका नयाँ गोदावरी प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल–बिरुवाहरूका साथै चाडपर्वलक्षित सयपत्री, मखमली र अरू मौसमी तथा आलंकारिक बोटबिरुवा प्रदर्शन तथा बिक्री–वितरणका निम्ति राखिने आयोजकले जनाएको छ । यस प्रदर्शनीको ३९ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख रुपैयाँभन्दा धेरैको व्यावसायिक कारोबार हुने आयोजकले अपेक्षा गरिएको छ ।