काठमाडौं- मोलुंग हाइड्रोपावर कम्पनी लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको कीर्तिपुरमा कम्पनीका अध्यक्ष नवीन महर्जनको सभापतित्व तथा समाजसेवी राम महर्जनको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो।
सभाले अध्यक्ष महर्जनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत पारित गरेको कम्पनीले जनाएको छ। सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसहित अन्य विशेष प्रस्तावहरू पनि पारित गरेको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १७ करोड ६५ लाख २८ हजार २२८ रुपैयाँ आम्दानी भएको छ। त्यस्तै, साउनदेखि भदौसम्मको अवधिमा ४ करोड ३५ लाख ४१ हजार ८६ रुपैयाँ आम्दानी भएको जनाएको छ। कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९८ करोड रुपैयाँ टर्म लोन र ५ करोड रुपैयाँ वर्किङ क्यापिटल लोन लिएको थियो। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा वर्किङ क्यापिटल लोन लिमिट ३ करोड ५० लाख रुपैयाँ र टर्म लोन ४१ करोड ६९ लाख ३३ हजार ४६ रुपैयाँमा झरेको कम्पनीले जनाएको छ।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा बैंकको ब्याज खर्च १८.८२ प्रतिशतले घटेको कम्पनीले जानकारी दिएको छ। ब्याज खर्चमा आएको कमीका कारण प्रत्यक्ष रूपमा प्रतिशेयर आम्दानी (ईपीएस) मा ९८.१६ प्रतिशतले वृद्धि भएको पनि सभामा जानकारी गराइएको थियो।
कम्पनीले साउन र भदौ महिनामा ७८ लाख ८७ हजार ८७७.९३ किलोवाट विद्युत् उत्पादन गरेको जनाएको छ। उक्त उत्पादन ७.८८ गिगावाट आवर बराबर रहेको कम्पनीको भनाइ छ। सभामा सेयरधनीहरूले कम्पनीको वर्तमान अवस्था तथा भविष्यका योजनाबारे विभिन्न जिज्ञासा राखेका थिए। उठेका प्रश्नहरूको जवाफ कम्पनीका अध्यक्ष महर्जन तथा अन्य पदाधिकारीहरूले दिएका थिए।