काठमाडौं- बागमती प्रदेश सरकारकी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले स्वदेशी फूलको उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताएकी छन्। ललितपुरको जावलाखेल खेलमैदानमा बिहीबार आयोजित १९औँ गोदावरी फूल प्रतियोगिता तथा प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री आले मगरले पुष्प व्यवसाय नेपाली नागरिकको रोजगारी र उद्यमशीलताको महत्त्वपूर्ण आधार बनेको बताइन्।

फूल नेपाली समाजको धर्म, संस्कृति, चाडपर्व र दैनिक जीवनको अभिन्न अंग रहेको उल्लेख गर्दै उनले जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, विवाह, पूजाआजा, स्वागत तथा श्रद्धाञ्जलीमा फूलको महत्त्वपूर्ण भूमिका रहेको बताइन्। उनका अनुसार पुष्प व्यवसायमा ६० हजारभन्दा बढी नेपाली नागरिक आबद्ध छन्। विशेषगरी महिला तथा युवाको सहभागिता यस क्षेत्रमा उत्साहजनक रहेको उल्लेख गर्दै उनले पुष्प व्यवसायलाई थप व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिइन्।
नेपालमा वार्षिक करिब २६ करोड रुपैयाँभन्दा बढी मूल्यका फूल तथा पुष्पजन्य वस्तु आयात भइरहेको तथ्यले पुष्प बीउ, कट फ्लावर तथा आलंकारिक बोटबिरुवामा मुलुकको परनिर्भरता अझै कायम रहेको उनको भनाइ छ। चाडपर्वका समयमा फूलको माग अत्यधिक बढ्ने भएकाले स्वदेशी उत्पादनबाटै बजारको माग धान्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताइन्। सयपत्री, गुलाब, कार्नेसन, सुनाखरी र लिलीजस्ता बजारमा राम्रो सम्भावना भएका फूलको व्यावसायिक उत्पादन विस्तार गर्न सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री आले मगरले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिलाई पुष्प तथा पुष्पजन्य वस्तुमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताइन्। ‘बाई नेपाली फर्स्ट’ नीतिअनुसार नेपाली फूलको प्रयोगलाई घर, कार्यालय, होटल तथा रेस्टुरेन्टसम्म विस्तार गर्नुपर्ने उल्लेख गर्दै उनले यसका लागि बागमती प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। पुष्प व्यवसायलाई आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन संरक्षित खेती, ग्रीनहाउस, थोपा सिँचाइ तथा गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी ज्ञान र प्रविधिको विस्तार आवश्यक रहेको उनले बताइन्।

त्यसैगरी, पुष्प व्यवसायको दिगोपनका लागि उत्पादनसँगै बजारको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले उल्लेख गरिन्। उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विकास गर्ने, आधुनिक पुष्प बजार निर्माण गर्ने तथा डिजिटल मार्केटिङ र अनलाइन बिक्रीलाई प्रोत्साहन गर्ने कार्यमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने उनको भनाइ थियो।
निर्यात सम्भावना भएका फूलको पहिचान, खेती प्रविधिको विकास, गुणस्तर र मापदण्ड निर्धारण तथा निर्यात प्रक्रियामा व्यवसायीलाई सहजीकरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री आले मगरले पुष्प क्षेत्रसँग सम्बन्धित विश्वसनीय तथ्यांक तथा सूचना प्रणाली विकास गर्नुपर्ने बताइन्। देशभरका पुष्प व्यवसायी, उत्पादन क्षेत्र र बजारसम्बन्धी तथ्यांकलाई डिजिटल प्रणालीमा व्यवस्थित गर्न फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) तथा सम्बन्धित निकायले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो।

उनले पुष्प व्यवसायमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि, महिला तथा युवा उद्यमीलाई प्राथमिकता, सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्धता तथा पुष्प बालीको बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। पुष्प उत्पादन तथा व्यवसायलाई कृषि क्षेत्रअन्तर्गत उपलब्ध सेवा, सुविधा र प्रोत्साहनमा समेट्नुपर्ने बताउँदै उनले प्राकृतिक विपद्बाट हुने क्षतिमा व्यवसायीलाई राहत उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न संघीय सरकारसँग आग्रह गरिन्। पुष्प व्यवसायको विकास र विस्तारका लागि बागमती प्रदेश सरकार व्यवसायीसँग सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारिन्।
कार्यक्रम फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी, पुष्प व्यवसायी, कृषि तथा पुष्पविज्ञलगायत सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रदर्शनीले स्वदेशी पुष्प उत्पादनको प्रवर्द्धन, व्यावसायिक अवसरको विस्तार, आयात प्रतिस्थापन तथा नेपाली फूलको बजार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।