इटहरी - किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३१औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। स्थापना दिवसका अवसरमा संस्थाले सहकारी, सञ्चार, कृषि, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति, सदस्य, कर्मचारी र संस्थाहरूलाई २३ विधामा नगद पुरस्कारसहित सम्मान तथा पुरस्कृत गरेको छ।
कार्तिक १३ गते आयोजित समारोह संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न विधामा १०० जनाभन्दा बढी सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सम्मानित एवं पुरस्कृत भएका थिए।
स्थापना दिवसकै अवसरमा कृषकले उत्पादन गरेका कृषि उपज तथा सामग्रीहरूको प्रदर्शनीसमेत आयोजना गरिएको थियो। प्रदर्शनीमार्फत स्थानीय उत्पादन, कृषकको सीप, श्रम र उद्यमशीलतालाई प्रोत्साहन गर्नुका साथै कृषि क्षेत्रका सम्भावना र उत्पादनको बजारीकरणबारे समेत जानकारी गराइएको थियो।
कार्यक्रममा पूर्व क्षितिज प्रकाशन प्रा.लि.द्वारा सञ्चालित ब्लास्ट टाइम्स राष्ट्रिय दैनिकका सञ्चालक सुनील अधिकारीलाई युवा सञ्चार उद्यमीका रूपमा नगदसहित सम्मान गरिएको छ। लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील अधिकारीले मिडिया उद्यममार्फत समाज, समुदाय र राष्ट्रप्रतिको दायित्व निर्वाह गर्दै आएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको हो।
किसान कल्याण सहकारी संस्था र ब्लास्ट टाइम्स राष्ट्रिय दैनिकको व्यावसायिक यात्रा पनि लगभग एउटै कालखण्डमा प्रारम्भ भएको संयोग छ। समान समयावधिमा स्थापना भएका दुवै संस्थाले आ–आफ्नो क्षेत्रमा संस्थागत पहिचान र विश्वास स्थापित गर्दै अघि बढिरहेको सन्दर्भमा अधिकारीलाई प्रदान गरिएको सम्मानलाई थप अर्थपूर्ण रूपमा हेरिएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कर्मचारी पुरस्कारबाट रमेश खतिवडा, दीक्षा भट्टराई र कमला भण्डारी सम्मानित भएका छन्। संस्थाको सेवा प्रवाह, कार्यसम्पादन र संस्थागत विकासमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनीहरूलाई पुरस्कृत गरिएको हो।
सहकारी अभियानमा उल्लेखनीय योगदान पुर्याएबापत ताराबहादुर काफ्लेलाई सहकारी अभियन्ता सम्मान प्रदान गरिएको छ। त्यस्तै, उत्कृष्ट सेवाकेन्द्रका रूपमा राजाबास सेवाकेन्द्र, उत्कृष्ट लघुवित्त केन्द्रका रूपमा मणिपुर केन्द्र र पञ्चायन केन्द्र (जिम्मेवारी : रमित कार्की) सम्मानित भएका छन्। रामधुनी नगरपालिका–६, सुनसरीस्थित तेह्र बालबालिका आधारभूत विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत गरिएको छ।
समारोहमा संस्थाका अध्यक्ष शालिकराम ढकालले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै संस्थाको ३१ वर्षे यात्रामा योगदान पुर्याउने संस्थापक, सदस्य, सञ्चालक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे। सदस्यहरूको विश्वास र सहभागिताले नै संस्था निरन्तर अघि बढ्न सफल भएको उल्लेख गर्दै उनले सहकारीका मूल्य, मान्यता, पारदर्शिता र सदस्यको हितलाई प्राथमिकतामा राखेर संस्थालाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संस्थाको विकास र विस्तारमा योगदान पुर्याउने सम्पूर्ण सदस्य, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरे। संस्थाको ३१ वर्षे यात्रामा सदस्यहरूको विश्वास, कर्मचारीहरूको समर्पण र व्यवस्थापनको सामूहिक प्रयास महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरे।
तीन दशकभन्दा लामो यात्रामा किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरण, बचत संस्कृतिको विकास, वित्तीय पहुँच विस्तार र उद्यमशीलता प्रवर्द्धनमा काम गर्दै आएको छ। स्थापना दिवसका अवसरमा सम्मान तथा पुरस्कार वितरणसँगै कृषि उत्पादन प्रदर्शनी आयोजना गरिनुले संस्थाले सदस्यको योगदान, स्थानीय उत्पादन र सामूहिक समृद्धिलाई समेत प्राथमिकतामा राखेको देखिन्छ।
संस्थाले आगामी दिनमा पनि सदस्यको आर्थिक सशक्तीकरण, संस्थागत सुशासन र सहकारी अभियानको विकासलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा तथा गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।