काठमाडौं- हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । काठमाडौंको नयाँबानेश्वरस्थित अर्पण बैंक्वेट, थापागाउँमा शेयरधनीहरूको उल्लेख्य उपस्थितिमा साधारण सभा सम्पन्न भएको हाे।
सभामार्फत कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वित्तीय अवस्थामा उल्लेखनीय सुधार भएको जानकारी दिएको छ। विभिन्न प्राकृतिक तथा प्राविधिक चुनौतीका बाबजुद कम्पनीले नाफा, ऋण व्यवस्थापन तथा विद्युत् निर्यातको सम्भावनाका क्षेत्रमा सकारात्मक प्रगति गरेको जनाएको छ।
खुद मुनाफामा उल्लेखनीय वृद्धि
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद मुनाफा ३ करोड ८४ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद मुनाफा १० करोड ९४ लाख रुपैयाँले वृद्धि भएको हो। यसले कम्पनीको वित्तीय अवस्थामा उल्लेखनीय सुधार आएको संकेत गरेको छ।
दुवै आयोजना भारतमा विद्युत् निर्यातका लागि सूचीकृत
कम्पनीका १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत् आयोजना र ७ मेगावाट क्षमताको अपर खिम्ती-२ जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणमार्फत भारतमा विद्युत् बिक्री गर्न स्वीकृत आयोजनाको सूचीमा सूचीकृत भएका छन्।
यसबाट कम्पनीका दुवै आयोजनाबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्री गर्ने अवसर सिर्जना भएको छ। विद्युत् निर्यातको सम्भावनाले आगामी दिनमा कम्पनीको आम्दानी वृद्धि तथा वित्तीय अवस्था थप सबल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
७ मेगावाट आयोजनाको बैंक ऋण पूर्ण चुक्ता
कम्पनीले आफ्नो वित्तीय दायित्व घटाउने क्रममा ७ मेगावाट क्षमताको आयोजनासम्बन्धी सम्पूर्ण बैंक ऋण चुक्ता गरिसकेको जनाएको छ। हाल कम्पनीको १२ मेगावाट क्षमताको आयोजनातर्फ मात्र १६४ करोड २३ लाख रुपैयाँ बैंक ऋण बाँकी रहेको छ। बैंक ऋण घट्दै जानुका साथै ब्याजदरमा समेत कमी आउँदै गएकाले आगामी दिनमा ब्याज खर्च घट्ने र नाफा वृद्धि हुने कम्पनीको अपेक्षा छ।
चुक्ता पुँजी १९८ करोड रुपैयाँ
कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरी आफ्नो चुक्ता पुँजी १९८ करोड रुपैयाँ पुर्याएको छ। सञ्चित कोषको अवस्था अझै सुधार गर्नुपर्ने भए पनि चालु आर्थिक वर्षमा हासिल गरेको १४ करोड ७८ लाख रुपैयाँ खुद मुनाफाले कम्पनीको वित्तीय यात्रालाई सकारात्मक दिशामा अघि बढाएको छ। सञ्चालक समितिले आगामी वर्षहरूमा शेयरधनीलाई सम्भव भएसम्म उच्च प्रतिफल तथा लाभांश वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सुशासन र जोखिम व्यवस्थापनमा जोड
कम्पनीले संस्थागत सुशासन, पारदर्शिता तथा प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राखेको जनाएको छ। कम्पनी ऐन तथा प्रचलित सुशासनसम्बन्धी व्यवस्थाको पालना गर्दै लेखापरीक्षण समिति, सम्पत्ति तथा दायित्व समिति र जोखिम व्यवस्थापन समितिमार्फत आन्तरिक व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ।
त्यसैगरी, आगामी दिनमा कम्पनीको आर्थिक आधार थप मजबुत बनाउँदै ऊर्जा क्षेत्रका नयाँ परियोजनाहरूमा लगानी विस्तार गर्ने दीर्घकालीन लक्ष्यसमेत अघि सारिएको छ। समग्रमा, नाफामा उल्लेखनीय वृद्धि, बैंक ऋणमा कमी, विद्युत् निर्यातको अवसर तथा संस्थागत सुशासनमा सुधारसँगै हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आफ्नो वित्तीय तथा व्यावसायिक अवस्था सुदृढ बनाउँदै लगेको देखिन्छ। आगामी दिनमा विद्युत् निर्यात र ऋणभार घटाउने योजनाले कम्पनीको आम्दानी तथा शेयरधनीको प्रतिफलमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।