ललितपुर- स्कोप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सौगल ललितपुरको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दीपकराज शाक्यको सभापतित्वमा हालै ललितपुरको बालिफलमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
सभाले संस्थाको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन, वासलात, आय-व्यय विवरण, लाभांश वितरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ।

साधारण सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८३ असार मसान्तसम्म संस्थाको कुल कारोबार ९१ करोड ११ लाख ९६ हजार ९१६ रुपैयाँ पुगेको छ। सो अवधिमा संस्थाको सेयर पुँजी ६ करोड ३७ लाख ९९ हजार ३०० रुपैयाँ रहेको छ भने ऋण तथा सापटी लगानी ४० करोड ७७ लाख ३४ हजार ९९४ रुपैयाँ पुगेको छ।
त्यसैगरी संस्थाको बचत तथा निक्षेप दायित्व ७० करोड १२ लाख २१ हजार ५५२ रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड ७२ लाख ८० हजार ५०६ रुपैयाँ सञ्चित रहेको विवरण सभामा प्रस्तुत गरिएको थियो। सभाका अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा उत्कृष्ट कारोबारी सदस्यहरूलाई सम्मान गरेको थियो। साथै संस्थाको विकास र प्रगतिमा योगदान पुर्याउने कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, वित्तीय क्षेत्रका विज्ञ तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो। साधारण सभाले आगामी दिनमा संस्थालाई थप सुदृढ बनाउँदै सदस्यकेन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिने, सदस्यहरूको हितलाई ध्यानमा राखेर वित्तीय सेवा विस्तार गर्ने तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।संस्थाको संस्थागत विकास, सुशासन र सदस्य सेवामा थप प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्यसहित सभा सम्पन्न भएको आयोजकले जनाएको छ।