काठमाडौं- मन्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गर्दै अन्य विविध कार्यक्रमसहित मन्जुश्री फाइनान्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
कम्पनीका अध्यक्ष सुमनप्रसाद अधिकारीको सभापतित्वमा हालै काठमाडौंको नयाँ बानेश्वरमा सम्पन्न सभाले सञ्चालक समितिद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। त्यसैगरी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

सभाले कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँ ८० पैसाको १५ प्रतिशतका दरले हुन आउने २० करोड २७ लाख ३२ हजार ९२७ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै चुक्तापुँजीको ५ प्रतिशतका दरले ६ करोड ७५ लाख ७७ हजार ६४२ रुपैयाँ ४४ पैसा बराबरको बोनस सेयर वितरण गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, बोनस सेयर समायोजन तथा अग्राधिकार सेयर जारी गरेपश्चात कम्पनीको अधिकृत पुँजी १ अर्ब ८३ करोड पुर्याउने प्रस्ताव पनि सभाले पारित गरेको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म प्रतिकित्ता १०० अंकित मूल्यका कुल १ करोड ३५ लाख १५ हजार ५२८ दशमलव ४८८ कित्ता सेयर बाँडफाँड भएका छन्।
आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कम्पनीको निक्षेप २४ अर्ब ९७ करोड ३९ लाख ५३ हजार ११० रुपैयाँ, लगानी ५ अर्ब २२ करोड ९० लाख ८९ हजार ४१० रुपैयाँ तथा कुल कर्जा २१ अर्ब १७ करोड ३८ लाख १६ हजार १० रुपैयाँ रहेको छ।
त्यसैगरी कम्पनीको कुल ब्याज आम्दानी २ अर्ब १० करोड २७ लाख ५४ हजार ८२० रुपैयाँ, सञ्चित मुनाफा ५२ करोड २१ लाख १४ हजार १४० रुपैयाँ र खुद मुनाफा ३५ करोड ९० लाख १८ हजार ५१० रुपैयाँ रहेको कम्पनीले जनाएको छ। उक्त आर्थिक वर्षमा कम्पनीको कुल खर्च ४७ करोड २६ लाख ४० हजार १०६ रुपैयाँ रहेको छ।
सभामा उपस्थित सेयरधनीहरूले कम्पनीको वर्तमान अवस्था, वित्तीय उपलब्धि तथा भावी योजनाबारे विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको जवाफ कम्पनीका अध्यक्ष सुमनप्रसाद अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत तेजराज तिमल्सिनाले दिएका थिए।