काठमाडौं- एनसेल फाउन्डेसनले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुनः सञ्चालनका लागि शैक्षिक पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ।
गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले क्याम्पसको भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको थियो। क्याम्पसलाई पुनः सञ्चालनमा ल्याउन एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।
समझदारीअनुसार एनसेल फाउन्डेसनले क्याम्पसमा नियमित कक्षा सञ्चालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नेछ। साथै, क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर, फर्निचरलगायतका शैक्षिक सामग्री तथा सुविधासमेत उपलब्ध गराउनेछ। यसबाट पठनपाठन प्रभावित भएका ३०० भन्दा बढी विद्यार्थी पुनः कक्षाकोठामा फर्कन सक्ने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हस्ताक्षर गरेका छन्। सहयोगप्रति आभार व्यक्त गर्दै मेयर श्रेष्ठले क्याम्पसको पठनपाठन पुनः सञ्चालनका लागि आवश्यक शैक्षिक पूर्वाधार उपलब्ध गराउने एनसेल फाउन्डेसनको पहल सराहनीय रहेको बताए। उनले यस सहकार्यलाई उच्च मूल्याङ्कन गर्दै नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न फाउन्डेसनसँग सहकार्य गर्ने इच्छा व्यक्त गरे।
शिक्षा क्षेत्र एनसेल फाउन्डेसनको प्राथमिकतामा रहँदै आएको उल्लेख गर्दै निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न प्रतिबद्ध रहेको बताइन्। उनले प्रभावित क्षेत्रमा पुगेर स्थानीय समुदाय र निकायसँगको सहकार्यमा आवश्यकताका आधारमा सहयोग गर्ने फाउन्डेसनको योजना रहेको जानकारी दिइन्।
उनका अनुसार विदुर नगरपालिकासँगको सहकार्य सुरुवात मात्र भएको र आगामी दिनमा स्थानीय साझेदारसँग मिलेर अन्य प्रभावित विद्यालय तथा क्याम्पसको पहिचान गरी सहयोग विस्तार गरिनेछ। यसअघि एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो। त्यसपछि प्रभावित क्षेत्रमा शैक्षिक सहयोग आवश्यक रहेका विद्यालय तथा विद्यार्थीलाई लक्षित गर्दै स्थानीय पालिकासँग प्रत्यक्ष सहकार्य र समन्वयमा काम अघि बढाइएको हो।
कार्यक्रमको कार्यान्वयन एनसेल फाउन्डेसनको साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ। दुवै फाउन्डेसनले नगरपालिका र स्थानीय समुदायसँगको सहकार्यमा प्रभावित क्षेत्रका विद्यालय तथा क्याम्पसहरूको आवश्यकता मूल्याङ्कन गरी पठनपाठन पुनः सञ्चालन र निरन्तरताका लागि थप सहयोग आवश्यक रहेका शैक्षिक संस्थाहरूको पहिचान गर्नेछन्।