झापा- महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, आर्थिक रूपमा विपन्न तथा कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा स्थापित ‘सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरिएको हो।
उक्त छात्रवृत्ति झापाको मेचीनगर नगरपालिका-१४ स्थित श्रीराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरिएको बैंकले जनाएको छ। छात्रवृत्तिको रकम ५० हजार रुपैयाँ रहेको छ। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत छात्रा खातुनलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका थिए।
बैंकले यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।सरल, सहज तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसैबीच, बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ।