काठमाडौं- नेपाली मौलिक खानाको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। फेस्टिभल असोज २५ देखि २९ गतेसम्म पाँच दिन सञ्चालन हुनेछ। फेस्टिभलअन्तर्गत काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्ट बिजनेस ग्रुपका आउटलेटहरूमा पक्कुलगायत विभिन्न नेपाली परिकार प्रस्तुत गरिनेछ। यसका साथै लुम्बिनी प्रदेशको भैरहवामा आयोजना हुने फुड फेस्टिभलमार्फत पनि प्रेसिडेन्टको पक्कुको प्रवर्द्धन गरिने समूहले जनाएको छ।
नेपाली खानाको विविधतामध्ये पक्कु परम्परागत पाककला र गाउँघरको सांस्कृतिक जीवनसँग जोडिएको मौलिक परिकार हो। पुस्तौँदेखि प्रचलनमा रहेको यस परिकारलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पर्यटक र अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउने उद्देश्यले समूहले विगत तीन वर्षदेखि पक्कु फेस्टिभल आयोजना गर्दै आएको छ।
समूहका अनुसार पक्कु फेस्टिभल केवल खानाको उत्सवमा सीमित नभई नेपाली रैथाने परिकारको पहिचान स्थापित गर्ने, मौलिकता संरक्षण गर्ने र नेपाली खानालाई पर्यटनसँग जोड्ने दीर्घकालीन अभियान हो। प्रेसिडेन्ट बिजनेस ग्रुपले नेपाली खानाको व्यवस्थित पहिचान, प्रस्तुति र ब्रान्डिङ गर्न सके पर्यटन प्रवर्द्धनसँगै स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला, उद्यमशीलता तथा रोजगारी सिर्जनामा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
समूहले ‘स्थानीय स्वादलाई राष्ट्रिय पहिचान र राष्ट्रिय स्वादलाई विश्व बजारसम्म’ पुर्याउने लक्ष्यसहित पक्कुलाई निश्चित अवधिको फेस्टिभलमा मात्र सीमित नराखी दीर्घकालीन ब्रान्डका रूपमा विकास गर्ने योजना अघि सारेको जनाएको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायमा दुई दशकदेखि सक्रिय रहेको प्रेसिडेन्ट बिजनेस ग्रुपले खाना, सेवा, गुणस्तर, स्वच्छता र आतिथ्यतालाई आफ्नो व्यावसायिक यात्राको आधार बनाउँदै आएको जनाएको छ। ‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ भन्ने मान्यताका साथ अघि बढिरहेको समूहले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने तयारीसमेत गरिरहेको छ।
समूहका अनुसार रुपन्देहीको बुटवल र काठमाडौंको बुढानीलकण्ठमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने योजना छ। हाल समूहअन्तर्गतका विभिन्न व्यवसाय तथा आउटलेटमा ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन्। नेपाली मौलिक परिकारको व्यावसायिक प्रवर्द्धनले कृषक, पशुपालक, आपूर्तिकर्ता, भान्सामा कार्यरत दक्ष जनशक्ति तथा सेवा क्षेत्रमा संलग्न श्रमिकका लागि अवसर सिर्जना गर्न सक्ने समूहको भनाइ छ। परम्परागत परिकारलाई आधुनिक बजारसँग जोड्दै गुणस्तरीय सेवा, स्वच्छता र व्यावसायिक मापदण्डअनुसार प्रस्तुत गर्न सके नेपाली खानाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान बनाउन सक्ने समूहले जनाएको छ।
तेस्रो संस्करणसम्म आइपुग्दा ग्राहक, सञ्चारकर्मी, साझेदार तथा नेपाली मौलिक खानाका पारखीबाट प्राप्त साथ र सुझावलाई अभियानको ऊर्जा मानेको समूहले जनाएको छ। नेपाली खानाको संरक्षण तथा प्रवर्द्धन कुनै एक व्यवसाय वा संस्थाको मात्र नभई साझा सांस्कृतिक सम्पदा, राष्ट्रिय पहिचान र पर्यटनसँग जोडिएको सामूहिक जिम्मेवारी भएको समूहको धारणा छ। पक्कु फेस्टिभलमार्फत नेपाली स्वाद, संस्कृति र आतिथ्यतालाई व्यापक रूपमा चिनाउने अभियानलाई निरन्तरता दिने समूहले जनाएको छ।