काठमाडौं- २०४७ सालमा १६ वर्षको कलिलो उमेरमा शेरबहादुर देउवालगायतका नेताहरू सहभागी ठूलो सभामा पहिलोपटक भाषण गर्ने मौका पाएका नैनसिंह महरको त्यही दिनदेखि राजनीतिक जीवनको टर्निङ पोइन्ट सुरु भएको थियो। त्यही दिन नेताहरूले ‘यो बाबु तगडा छ’ भनेपछि उनी नेविसंघको राजनीतिमा होमिए।
डडेलधुराको दुर्गम भागेश्वर गाउँपालिका–३, लामिकाण्डेमा २०३१ सालमा जन्मिएका महर १६ वर्षको उमेरदेखि नै प्रजातान्त्रिक राजनीतिमा लागे। नेविसंघको जिल्ला अध्यक्ष हुँदै २०५७ सालमा केन्द्रीय सदस्य बने। २०७३ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए। २०६२/६३ सालको जनआन्दोलनमा पटक-पटक पक्राउ परेका महरले एकैपटक करिब तीन महिना जेल जीवन बिताएका थिए।
राजनीतिसँगै उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र कानुनमा एलएलबी गरेका छन्। राजनीतिशास्त्रमै एमफिलसमेत गरेका महर पत्रकारितामा पनि सक्रिय थिए। डडेलधुरा पत्रकार महासंघका संस्थापक अध्यक्षसमेत रहेका उनले रेडियो नेपालसहित राष्ट्रियस्तरका विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए। राजनीतिमा लागेपछि लाभको पदको लोभ नगरेका र लाभको पद नलिएका नेताका रूपमा महरलाई चिनिन्छ। भद्र, शालीन र बोलीमा मिठास भएका महरले पत्रकारिता छाड्दा ‘समाचार लेख्ने होइन, अब समाचार बन्छु’ भन्ने आत्मविश्वासका साथ राजनीतिमा पूर्णकालीनरूपमा लाग्ने निर्णय गरेका थिए।
मरिसकेको ठानेर बगरमा फाले महरको जिन्दगी बडो रोचक छ। २०६४ माघमा विवाह गरेका महरलाई चैत २४ गते राति माओवादीको हतियारधारी समूहले अपहरण गरेको थियो। करिब डेढ घण्टाको पैदल यात्रापछि उनलाई नानीगाड खोलाको बगरमा लगियो। त्यहाँ मरणासन्न हुनेगरी कुटपिट गरियो।
महरका अनुसार आक्रमणकारीहरूले उनलाई मृत ठानेर त्यहीँ छाडेर फर्किएका थिए। करिब चार घण्टापछि महरलाई होस आयो। आँखा खोल्दा वरिपरि कोही थिएनन्। शरीरभरि चोट थियो, रगत बगिरहेको थियो।
आफूलाई हेर्दा उनी फेरि अत्तालिए र केही समयका लागि बेहोस भए। तर होस खुलेपछि उनले आफूलाई सम्हाले। मृत्युबाट फर्किनुपर्छ भन्ने आत्मविश्वास लिएर जसोतसो घरतर्फ लागे। मृत्युको मुखबाट फर्किए पनि उनले राजनीतिलाई छाडेनन्। बरु त्यसपछि पनि राजनीतिक गतिविधिमा सक्रिय रहे।
अभावबाट राजनीतिको यात्रा डडेलधुराको विकट गाउँमा किसान परिवारमा जन्मिएका महरको बाल्यकाल सुविधामा होइन, अभावमा बित्यो। बाबुको काँधमा हलोको ठेला र आमाको निधारमा दाम्लोका डोब उनका बाल्यकालका दृश्य थिए। वर्षभरि काम गर्दा पनि वर्षभरि खान धान्न कठिन हुने परिवारबाट आएका उनी पढाइसँगै बस्तुभाउ चराउँथे। त्यही अभाव र संघर्षबीच उनी राजनीतिमा अघि बढे।
विद्यार्थी राजनीति, पत्रकारिता र सामाजिक काम हुँदै कांग्रेसको केन्द्रीय राजनीतिमा पुगे। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका महरको दैनिकी अहिले पनि भेटघाट, संगठन र सामाजिक काममै बित्ने गरेको छ। २०८३ असोजमा डडेलधुरा कांग्रेसले उनलाई कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउने निर्णय गरेको छ।
संगठनात्मक सुधार, पारदर्शिता, पुस्तान्तरण र ज्ञानमा आधारित राजनीति उनका सार्वजनिक एजेन्डाका विषय हुन्। १६ वर्षको उमेरमा एउटा ठूलो सभामा भाषण गरेर सुरु भएको नैनसिंह महरको राजनीतिक यात्रा जेल, अपहरण र नानीगाडको बगरसम्म पुग्यो। तर मृत्युको मुखमा पुगेर पनि फर्किएका महर फेरि राजनीतिमै सक्रिय भए। अहिले त्यही यात्रा कांग्रेसको महामन्त्री पदको दाबीसम्म आइपुगेको छ।