काठमाडौं-नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा आज शुक्रबार काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
सभाले बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशतका दरले हुन आउने एक अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। उक्त रकममा लाभांश करसमेत समावेश रहेको बैंकले जनाएको छ। लाभांश वितरणसम्बन्धी प्रस्ताव बैंकको गत भदौ १४ गते बसेको १९१औँ सञ्चालक समिति बैठकले गरेको थियो।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गरेको छ।
सभाले सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा भएको नियुक्तिलाई समेत अनुमोदन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न सातौँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक लिमा अधिकारी आचार्यले पदबाट राजीनामा दिएपछि सञ्चालक समितिको १९८औँ बैठकले सोही समूहबाट बाँकी कार्यकालका लागि अनिता रायमाझीलाई सञ्चालक पदमा नियुक्त गरेको थियो।
यसैगरी, सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्नुका साथै निजको पारिश्रमिकसमेत निर्धारण गरेको छ।