काठमाडौं- भुजु हाइड्रोपावर लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गर्दै कम्पनीको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
बिहीबार काठमाडौँको बालुवाटारमा कम्पनीका अध्यक्ष माधव राज आचार्यको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू पारित गरेको छ। सभाले कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको हो।
साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्तावहरू पनि अनुमोदन गरेको कम्पनीले जनाएको छ। सभामा प्रस्तुत विवरणअनुसार कम्पनीको चुक्ता पुँजी र जारी पुँजी दुवै एक अर्ब रुपैयाँ रहेको छ। कम्पनीको संस्थापक सेयर संख्या ८० लाख कित्ता र सर्वसाधारण सेयरधनीका लागि २० लाख कित्ता सेयर कायम रहेको जानकारी दिइएको थियो।
कम्पनीका अनुसार आयोजनाको कुल लागत एक अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसा रहेको छ। प्रतिमेगावाट लागत दुई करोड ४९ लाख ८२ हजार ७०३ रुपैयाँ ५५ पैसा रहेको छ भने दीर्घकालीन कर्जा रकम ९१ करोड ९० लाख ७८ हजार ८७६ रुपैयाँ रहेको सभामा जानकारी गराइएको थियो।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणमा १६ करोड ९९ लाख २३ हजार ६०६ रुपैयाँ बराबरको विद्युत् बिलिङ भएको कम्पनीले जनाएको छ। उक्त आर्थिक वर्षमा विभिन्न वित्तीय संस्थामा ब्याज भुक्तानी गर्नुपर्ने अवस्था नरहेको विवरणसमेत सभामा प्रस्तुत गरिएको थियो।
सभामा सेयरधनीहरूले कम्पनीको वर्तमान अवस्था, वित्तीय स्थिति तथा भावी योजनाबारे विभिन्न जिज्ञासा राखेका थिए। उनीहरूले उठाएका प्रश्नहरूको जवाफ कम्पनीका अध्यक्ष आचार्य र प्रबन्ध सञ्चालक डा. हिमाल भट्टराईले दिएका थिए।
लमजुङ जिल्लास्थित भुजुङ्ग गाउँपालिकाको फिदिम खोलामा निर्माण गरिएको ७.५ मेगावाट क्षमताको माथिल्लो फिदिम जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई कम्पनीले २०८० चैतदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्दै आएको छ।