काठमाडौं- नमूना कलेज अफ फेसन टेक्नोलोजी (एनसिएफटी) ले पुल्चोकस्थित द प्लाजामा आफ्नो २१औँ स्नातक फेसन शो ‘अनन्तरूपवितानम्’ प्रस्तुत गरेको छ।
नेपाली पुर्ख्यौली शिल्प, सांस्कृतिक विविधता, आध्यात्मिक चेतना र भविष्यवादी कल्पनालाई समकालीन फेसनसँग जोड्दै फेसन शो प्रस्तुत गरिएको हो।
यस प्रस्तुतिले नेपाली सम्पदालाई विगतको स्मृतिमा सीमित नराखी आधुनिक डिजाइन, दिगोपन र प्रविधिको माध्यमबाट पुनर्व्याख्या गर्ने प्रयास गरेको आयोजकको भनाइ छ।
'५४ स्नातक डिजाइनरका सिर्जना, छ वटा फेसन संग्रह र छ वटा सिर्जनात्मक उत्कृष्ट कृतिसहित आयोजित यस कार्यक्रमले शैक्षिक उपलब्धिलाई व्यावसायिक फेसन अभ्याससँग जोडेको छ,' आयोजक एनसिएफटीले भनेको छ।
‘अनन्तरूपवितानम्’ले सौन्दर्य, संस्कृति, पहिचान र सिर्जनशीलताका अनन्त सम्भावनालाई अभिव्यक्त गर्ने बताइएको छ। 'मन्दिरका स्थापत्य, पौभा कला, परम्परागत आभूषण, कृषि संस्कृति, हिमाली जीवनशैली, देवीशक्ति र कृत्रिम बुद्धिमत्ताबाट प्रेरित भविष्यवादी परिकल्पनासम्मका विषयले नेपाली पहिचानलाई विविध आयाममा प्रस्तुत गरे,' एनसिएफटीको भनाइ छ।
रोजिन शाक्यको कोरियोग्राफी रहेको कार्यक्रमको समन्वय श्रीतिका शाक्य, सुबिना राउत, अलिश रञ्जित र स्वस्तिका भारीले गरेका थिए।
