बुटवल- पछिल्लो समय बजारमा फूल मालाको माग राम्रो हुन थालेपछि रूपन्देहीमा फूलखेतीतिर किसान र महिला समूहको आकर्षण बढेको छ।
पछिल्लो समय रूपन्देहीमा ब्यावसायिकरूपमा फूल खेती गर्नेको संख्या बढ्दै गएको छ। तिलोत्तमा नगरपालिकाको डिंगरनगरमा क्षितिज नमूना कृषक समूहले लामो समयदेखि तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती गर्दै आएको छ।
क्षीतिज नमूना कृषक समूहले यो वर्ष १५ कठ्ठा जग्गामा टेनिस बल प्रजातिको फूल उत्पादन गरेको छ। संस्थाका सचिव कोषबहादुर पाण्डेले गएको सात वर्षदेखि निरन्तर तिहार लक्षित सयपत्री फूल लगाउँदै आएको बताए। उनले भने यो पटक टेनिस बल प्रजातिको फूल लगायौं, राम्रो फूलेको छ। तर पनि हामीलाई बीउको धेरै समस्या छ।
समूहिक सदस्य बिष्णु परियारले सयपत्री फूल लगाउँदै आएको र बजार माग राम्रो रहेको बताइन्। पछिल्लो समय विभिन्न कार्यक्रममासमेत फूलमालाको प्रयोगले गर्दा चाडपर्वको अलवा अन्य समयमा पनि फूलको माग राम्रो भएको उनले बताइन्।

रूपन्देहीको तिलोत्तमा, बुटवल, सैनामैना देवदह, सिद्धार्थनगरलगायतका नगरपालिकाका विभिन्न वडामा डेढ दर्जनभन्दा बढी समूहले व्यावसायिकरूपमा फूलखेती गरेका छन्। फूलको बाह्रै महिना बजार माग रहेकाले केही किसानले बाह्रै महिना फूल उत्पादन गर्ने गरेको पाइन्छ।
हाल बजारमा सयपत्री फूल प्रतिकिलो ४०० रुपैयाँदेखि ५०० रूपैया र प्रतिमाला गुणस्तर हेरेर सरदर १०० रुपैयाँदेखि १५० रूपैयाँमा बिक्री भएको पाइन्छ।
खास गरेर फूल उत्पादन गर्न बीउको समस्या रहेको र भारतीय फूल मालाले नेपाली बजार प्रभावित पार्ने गरेको पुस्प व्यवसायीको गुनासो छ।