म्याग्दी- कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ। अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहेका श्रीस अहिले कृषि उद्यममा रमाएका छन्।
दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय उनी अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमा व्यस्त छन्। गाउँ फर्किएर कृषि उद्यममा लाग्नुभएका श्रीसले आफ्नै श्रम र लगानीबाट स्वरोजगारको बाटो रोजेका हुन्।
उनले श्रीस कृषि तथा पशुपन्छी फार्म स्थापना गरेर कृषि कर्म सुरु गरेका थिए। अहिले फार्ममा बाख्रापालन, सुन्तला खेती र मौरीपालन भइरहेको छ। उनका अनुसार कृषिमा आधारित उद्यम पहाडी क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउने राम्रो माध्यम हो।
“नागरिकको अवस्था सुधार, आर्थिक तथा सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशीलता प्रमुख आधार हो,” श्रीसले भने, “पहाडी क्षेत्रमा आत्मनिर्भरता र स्वरोजगारको सम्भावना देखाउन आफैं अग्रसर भएको हुँ।”
दुईवटा बाख्रा रु एक लाख लगानीबाट उनले छ वर्षअघि व्यवसाय सुरु गरेका थिए। अहिले फार्ममा ३० बाख्रा छन्। वार्षिक १५ देखि २० वटासम्म खसीबोका बिक्री गर्छन्। खरी र जमुनापारि जातका बाख्रा पालेका उनले व्यावसायिक पशुपालनलाई निरन्तरता दिएका छन्।
सुरुमा बाख्रापालन सहज भएन। ताराखोलाबाट किनेर ल्याएका बाख्रालाई स्थानीय हावापानी अनुकूल नभएपछि क्षति बेहोर्नुपर्यो। तर, उनले हिम्मत हारेनन्। व्यवसायलाई निरन्तरता दिनुभयो। अहिले उनको फार्म व्यवस्थित बनेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक खोर निर्माण गरेका छन्।
बाख्रापालनसँगै उनले सुन्तला खेतीलाई पनि विस्तार गरेका छन्। परम्परागत खाद्यान्न खेती हुँदै आएको खेतबारीमा ३५० वटा सुन्तलाका बोट लगाएका छन्। ती बोटले उत्पादन दिन थालेका छन्। खाली जमिनमा बाख्राका लागि आवश्यक घाँस पनि लगाएका छन्। यसले पशुपालनलाई सहज बनाएको छ।
उनले मौरीपालन सुरु गरेका छन्। अहिले उनसँग १६ वटा मौरीका घार छन्। सिँचाइका लागि निर्माण गरेको पोखरीमा माछा पाल्न थालेका छन्। मंगला गाउँपालिकाले मौरीपालनसम्बन्धी तालिम, प्राविधिक सहयोग र घार खरिदमा अनुदान दिएको छ।
श्रीसको कृषि यात्राले व्यक्तिगत आम्दानीमामात्र सीमितता राखेको छैन। उनको अगुवाइमा नमूना कृषक समूह गठन भएपछि बरंजाका १५ घरपरिवार व्यावसायिक बाख्रापालनमा लागेका छन्। यसले गाउँमा कृषि उद्यमप्रतिको आकर्षण बढाएको छ।
बरंजाका किसान बाख्रापालनसँगै सुन्तला खेती र गाईभैँसीपालनमा संलग्न छन्। उनीहरूले उत्पादन गरेको दूध तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन्। स्थानीयस्तरमै उत्पादन र बजारको सम्भावना देखिएकाले कृषिलाई आम्दानीको स्रोत बनाउन सकिने श्रीसको विश्वास छ।
सुन्तला खेती विस्तार र बगैँचा व्यवस्थापनमा उनले सहयोग पाएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले श्रीससहित बरंजाका किसानलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण र सिँचाइ सुविधा विस्तारमा सहयोग गरेका छन्।
मध्यमवर्गीय परिवारमा जन्मिएका श्रीसले आत्मनिर्भर बन्ने उद्देश्यले कृषि उद्यम रोजेका हुन्। केही समय उनले खाद्यान्न पसलको डिलरसमेत सञ्चालन गरेका थिए। तर, अहिले उनको मुख्य ध्यान कृषि र पशुपालनमा केन्द्रित छ।
बिहान र बेलुका बाख्राको स्याहार तथा सुन्तलाका बोटको हेरचाहमा उनको समय बित्छ। फुर्सदको समय पनि फार्ममै बिताउँछन्। कृषि कर्मसँगै उनी स्थानीय सामाजिक गतिविधिमासमेत सक्रिय छन्। परिवारका सदस्यले उनलाई साथ दिएका छन्।
श्रीसको जीवनयात्रा भने कृषि उद्यमबाट सुरु भएको होइन। विद्यार्थी जीवनदेखि नै उनी नेकपा (माओवादी) मा आबद्ध भएका थिए। विसं २०५८ देखि भूमिगत राजनीतिमा सक्रिय भए। तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा उनी राजनीतिक गतिविधिमा संलग्न रहे।
विसं २०६३ मा उनी अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बने। त्यसपछि विसं २०६४ देखि २०७० सम्म पहिलो संविधानसभामा प्रतिनिधित्व गरे। संविधानसभा सदस्यको कार्यकाल पूरा भएपछि उनी जन्मथलो बरंजा फर्किए। त्यसपछि कृषि उद्यमलाई जीवनयापनको आधार बनाएका हुन्।
श्रीस अहिले पनि राजनीतिमा सक्रिय छन्। उनी हाल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छन्। राजनीति र कृषि उद्यमलाई सँगसँगै अघि बढाउने उनको योजना छ। श्रीसको अनुभवमा कृषि उद्यमले उत्पादनमात्र बढाउँदैन, गाउँमै रोजगारी सिर्जना गर्न पनि मद्दत गर्छ। पहाडी क्षेत्रमा उपलब्ध जमिन, हावापानी र स्थानीय स्रोतको उपयोग गर्न सके किसानले आफ्नै गाउँमा आम्दानी गर्न सक्छन् भन्ने उनको विश्वास छ। रासस