काठमाडौं – उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी तथा विभिन्न जलाशयमा पुगेर उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिएका हुन् ।
यसअघि आइतबार साँझ छठको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।
सूर्यदेवको उपासना गरिने छठ पर्वमा शुद्धता, निष्ठा र कठोर व्रतलाई विशेष महत्त्व दिइन्छ । यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिने धार्मिक परम्परा रहेको छ ।