नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा ती समझदारी सार्वजनिक गरिएको हो।
समझदारीमा शैक्षिक तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार यस्ता छन् भारत-नेपालबीच भएका समझदारीहरू
१. भारतको गुजरात राज्यको गान्धीनगरस्थित राष्ट्रिय विधिविज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी।
२. भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच समझदारी।
३. भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारी।
४. आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा सहकार्यासम्बन्धी नेपाल सरकार र भारत सरकारबीच समझदारी।
५. दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा भारत सरकारको अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारी।
६. दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्यासम्बन्धी नेपाल सरकार र भारत सरकारबीच समझदारी।
७. स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्यासम्बन्धी भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी।
८. पशुपन्छी तथा मत्स्य विकासको क्षेत्रमा सहकार्यासम्बन्धी नेपाल सरकार र भारत सरकारबीच समझदारी।