काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएकी सिन्धुलीकी जमुनामाया तामाङले आफू मलेसिया जान लागेको बताइन् । पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेको बताउने उनी प्रोडक्सन अपरेटरको काममा जाँदै थिइन् । रोजगारीमा जाँदाको सबै खर्च कम्पनीले व्यहोरेकाले एक रुपैयाँ पनि तिर्न नपरेको उनको भनाइ थियो । ‘जिरो कस्टमा जान लागेको हो । मेडिकलदेखि सबै कम्पनीले नै तिरेको छ । सबै खर्च जिरो हो । म्यानपावरले एक रुपैयाँ पनि मागेन,’ उनले भनिन् ।
महोत्तरीका सन्तोषकुमार महरा कतार जाँदै थिए । लेबर कामका लागि जान लागेका उनको तलब एक हजार रियाल हुने भनिएको सुनाए । महराले पनि आफू जाँदाको सबै खर्च म्यानपावरले तिरिदिएको बताए । ‘पैसा तिरेको छैन । फ्रि-भिसा, फ्रि-टिकटमा हो । सबै म्यानपावरले तिरिदियो,’ महराले भने ।
सुरक्षा गार्डमा मलेसिया जान लागेका सर्लाहीका रामशरण महत धेरै वर्षदेखि बेरोजगार भएकाले बाध्यताले विदेश जान लागेको बताए । उनलाई सुरक्षा गार्डको तालिम कम्पनीले दिने भनिएको रहेछ । कति तिरेर जान लाग्नुभयो ? भन्ने प्रभावको प्रश्नमा उनले पनि १० हजार रुपैयाँमात्रै हो भने ।
त्रिभुवन विमानस्थलमा रहेको श्रम सहायता कक्षका अधिकृतले चार लाख रुपैयाँ बुझाएर १० हजार भनेको त होइन नि ? भन्दा उनी मज्जाले हाँसे । ‘१० हजारमात्र बुझाएको हो,’ उनले हाँस्दै थपे, ‘सबै यस्तै त भइरहेको छ नि । यहाँ बेरोजगार हुनुभन्दा जानैप¥यो ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना भएको श्रम सहायता कक्षमा रोजगारीमा जाने श्रमिकलाई विभिन्न प्रश्न सोधिन्छ ।
गत वैशाख २ गतेदेखि युवा, श्रम तथा रोजगार मन्त्रालय (तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)ले सञ्चालनमा ल्याएको सहायता कक्षले रोजगारीमा जाने श्रमिकको विभिन्न विवरणहरु संकलन गरिरहेको छ । विशेषगरी श्रमिकले इजाजतप्राप्त संस्थालाई बुझाएको लागतको विवरण तथा श्रमिकहरु आधारभूत विषयमा कत्तिको जानकार छन् भनेर अध्ययन गर्न उक्त कक्ष स्थापना गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हाल उक्त कक्षमा तीन सिफ्टमा काम भइरहेको छ । श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको सहकार्यमा कक्ष सञ्चालन गरिएको हो । उक्त कक्षले रोजगारीमा जानेहरुका साथै फर्किनेलाई समेत सहजीकरण गर्दै आएको छ । विदेशमा अप्ठ्यारो परेमा सहयोग लिनका लागि दूतावासका कर्मचारीको नाम, नम्बर र ठेगानासमेत दिइँदै आएको छ ।
श्रमिकहरुले रोजगारीमा जाँदा बुझाएको लागत र प्राप्त रसिदको विश्लेषण गर्न, प्रविधिमा श्रमिकको पहुँच विस्तार गर्न तथा म्यानपावर कम्पनी र एजेण्टको व्यवहार तथा ठगीको सम्भाव्यता पहिचान गर्न सहायता कक्षले बुझाउने प्रतिवेदनले सहयोग गर्ने मन्त्रालयको भनाइ छ ।
उजुरी गर्न दिँदैनन् चासो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको श्रम सहायता तथा सूचना कक्षका अधिकृत भीम बस्नेतले श्रमिकहरुले म्यानपावरलाई १० हजार रुपैयाँमात्र तिरेको बताउने गरेको बताए । युवा, श्रम तथा रोजगार मन्त्रालयले श्रमिकले तिर्ने लागतको विषयमा अध्ययन गर्ने उद्देश्यले सञ्चालन गरेको सहायता कक्षमा रोजगारीमा जानेहरु यथार्थ कुरा बताउन डराउने गरेको उनको भनाइ छ । झण्डै एक महिनादेखि विवरण संकलन गरिरहेका उनी हालसम्म केहीले मात्र संस्थालाई रकम तिरेको बताएको तर उजुरी गर्न भने नचाहेको बताए ।
‘लागतको विषयमा सबै जनाले फ्रि-भिसामा गएको भन्नुभएको छ । अहिलेसम्म चार-पाँच जनालेमात्र तिरेको भन्नुभएको छ । एक जनाले युरोप जान म्यानपावरलाई छ लाख रुपैयाँ तिरेको भन्नुभएको थियो,’ उनले भने, ‘एउटा उजुरी लेख्नुस्, हामी म्यानपावरमा गएर रकम फिर्ता गर्न लगाउँछौं भन्दा मान्नुभएन । उजुरी गर्दा मलाई अप्ठ्यारो पर्छ, काम पाउँदिन होला, बालबच्चाको बिजोग हुन्छ भन्नुहुन्छ ।’
सहायता कक्षमा हाल १७ वटा प्रश्न सोधिन्छ । जसमा जाने व्यक्तिको सामान्य विवरणदेखि म्यानपावरलाई तिरेको रकम, कोमार्फत जान लागेको, सामाजिक सुरक्षा कोषको जानकारी भए÷नभएको, समस्या परे कहाँ सम्पर्क गर्नेलगायतका प्रश्नहरु छन् । प्रश्नहरु लामो भएकाले कतिपय श्रमिक रिसाउने गरेको सहायता कक्षका अधिकृत बस्नेतको भनाइ छ । त्यहाँ प्रश्नको जवाफ दिन भन्दा पनि अन्य साधारण विषयहरु सोध्ने श्रमिक बढी आउने गरेको उनले बताए । ‘१७ वटा प्रश्न धेरै पनि भयो । कतिपय रिसाउनुहुन्छ । यसलाई परिमार्जन गर्ने तयारी हुँदै छ,’ उनले भने ।
सहायता कक्ष सबै श्रमिकसँग अनिवार्य जोडिने स्थानमा नभएकाले पनि सबै श्रमिकसँग कुराकानी गर्न समस्या भएको अधिकृत बस्नेतले बताए । विभाग र मन्त्रालयले यसमा सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।