काठमाडौं- जिल्ला प्रशासन कार्यालयको निर्णय नआउँदा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ थप अन्योलमा फसेको छ । असन्तुष्टपक्षले कार्यसमिति विघटनको घोषणा गर्दै नयाँ निर्वाचनमा जानेबारे प्रशासनलाई जानकारी गराए पनि बुधबारसम्म प्रशासनबाट कुनै निर्णय आएको छैन ।
अध्यक्ष भुवनसिंह गुरुङ पक्षले विधानमा भएको त्रुटिमा टेकेर चलखेल गरिएको आरोप लगाइरहँदा राजीनामा दिएको पक्ष भने निर्वाचनको मिति घोषणा गरेर अघि बढेको छ । सोमबार लामो रस्साकस्सीपछि संघको विधानको दफा २६ (४)को प्रावधान अनुसार वर्तमान कार्यसमिति विघटन भएको घोषणा गरिएको थियो । यद्यपि, उक्त प्रावधान नै त्रुटिपूर्ण भएको संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीले बताए । यसअघिको विधानमा एक कार्यकाल सदस्यमा निर्वाचित भएको व्यक्तिले चुनाव लड्न पाउने प्रावधान भएकाले यसलाई नियन्त्रण गर्न पदाधिकारीको परिभाषा गरिएको उनको दाबी छ । यसो गर्दा संस्थाको विघटनसम्बन्धी प्रावधानलाई ख्याल नगरिएको उनले बताए ।
‘अघिल्लो विधानमा पदाधिकारी भन्नाले कार्यसमिति २१ नै जनालाई बुझिन्थ्यो । त्यसबेला अध्यक्षमा उम्मेदवारी दिँदा एक कार्यकाल सदस्य भएकोले पनि दिन पाउने व्यवस्था थियो,’ खोखालीले भने, ‘यसलाई नियन्त्रण गर्न विधानले एक कार्यकाल पदाधिकारी पनि हुनुपर्ने कल्पना ग¥यो । त्यसका लागि कोषाध्यक्षसम्म पदाधिकारी मान्ने परिभाषा आयो । तर हामीले तलको कुरा याद गरेनौं ।’ हाल संघको विधानमा भएको व्यवस्थालाई त्रुटि नमान्ने हो भने कुनै पनि संघ संस्था नरहने खोखालीले दाबी गरे । ‘अगाडिको विधानमा सदस्य भन्नाले संघमा आबद्ध सबै व्यवसायीलाई बुझ्ने र पदाधिकारी भन्नाले संघको कार्यसमितिलाई बुझिने छ भनिएको थियो,’ उनले भने, ‘हालको त्रुटिलाई त्रुटि नमाने नेपालका कुनै संघ संस्था रहँदैन । सदस्यको कुनै भूमिका नहुने भए किन सदस्य निर्वाचित गर्नप¥यो त ?’

आफूहरुले प्रशासनलाई यो विषय जानकारी गराइसकेकाले प्रशासनले आफ्नो विवेक प्रयोग गरेर निर्णय गर्ने गुरुङ पक्षको दाबी छ । संघको हालको विधानमा कार्यसमितिका दुईतिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिएमा कार्यसमिति स्वतः विघटन हुने र सोही दिन सल्लाहकारहरुको रोहवरमा सात सदस्यी प्रबन्ध समिति बनाइने भनिएको छ । उक्त प्रबन्ध समितिले २१ दिनभित्र विशेष साधारणसभा बोलाइ सोही दिन निर्वाचन गराउने विधानमा उल्लेख गरिएको छ । यही प्रावधानमा टेकेर संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा सात सदस्यीय प्रबन्ध समिति गठन गरिएको छ । प्रबन्ध समितिले संघको प्रशासनिक काममा पनि लागेको जनाएको छ ।
बुधबार संघको कार्यालयमा संयोजक तथा निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीलगायत राजीनामा दिएका केही पदाधिकारी आउँदा भने निकै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्नुपरेको थियो । राजीनामा दिएको पक्ष संघको तालाचाबी लिन आएकाले दलबलसमेत आएको खोलालीले बताए । यद्यपि, आफूहरुले प्रशासनको निर्णय नआउञ्जेल जिम्मेवारी नसुम्पने खोखालीले बताए । ‘संघ अहिले हाम्रो जिम्मेवारीमा छ । प्रशासनबाट पत्र लिएर आउनुहोस् हामी ससम्मान चाबी बुझाएर जान्छौं भनेर हामीले दिएनौं,’ उनले भने ।
आफूहरु संघको विधानमै भएको व्यवस्थाबमोजिम अघि बढिरहेकाले कुनै विवाद आवश्यक नभएको प्रबन्ध समितिका संयोजक भण्डारीको बनाइ छ । २०७४ सालमा संशोधन भएर हालसम्म अभ्यासमा रहेको विधानमा अहिले आएर त्रुटि छ भन्नु अपरिपक्व धारणा भएको उनको भनाइ छ ।
‘विधानमै भएको व्यवस्थाअनुसार अहिलेको प्रक्रिया अगाडि बढेको हो । यो विधान २०७४ सालमा संशोधन भएको हो,’ उनले भने, ‘यसको गलत अभ्यास भयो भने हामीलाई कानुनी कारबाही हुँदैन त ? सिडिओ कार्यालयले प्रमाणीकरण गरेको विधानमा त्रुटि छ भन्नु केटाकेटीपन हो ।’ प्रशासनले गुरुङ नेतृत्वको कार्यसमितिलाई माइन्युट, हिसाबकिताब, चेकलगायत आवश्यक कागजत २४ घण्टाभित्र बुझाउनु भनेकाले उक्त कार्यसमितिको औचित्य समाप्त भएको भण्डारीले दाबी गरे । ‘सिडिओ कार्यालयले अर्को पक्षलाई सबै कुरा मागिसकेपछि यो कार्यसमिति विघटन भयो–भएन भनेर भनिराख्न परेन,’ उनले भने, ‘गुरुङ पक्षलाई के आदेश दिन्छ त्यो थाहा भएन, अब हामी विधानसम्मत गरिरहेका छौं । हामी विधानविपरीत भएको भए प्रशासनले तत्काल रोक्न भन्थ्यो होला नि !’प्रबन्ध समितिको काम विवाद मिलाउने पनि भएकाले जिल्ला प्रशासन कार्यालयले विवाद मिलाऊ भनेको अवस्थामा त्यसका लागि पनि तयार रहेको उनको भनाइ छ । उक्त समितिले जेठ १४ गते निर्वाचन समेत घोषणा गरिसकेको छ ।