चुनाउको चटारोमा दलहरु छन् । चुनाउ गर्ने निकाय विज्ञप्ति जारी गर्ने र सचेतना जगाउनमै व्यस्त छ । एनजिओ चलाउनेदेखि नेता चलाउनेसम्म पनि चुनाउ हुन्छ कि हुँदैन भन्ने दोधारमा छन् । चुनाउ त दुई दिनमा पनि रोकिन सक्छ भन्दै चौतारामा बस्ने बूढाहरु वाकयुद्ध गरिरहेका छन् ।भए होला नभए नहोला, जनतालाई के मतलब । दिनभरि काम नगरे खान पाइँदैन भन्ने उनीहरुलाई ढुक्क छ । बरु छोराछोरीको उता भिसा लागेर एयरपोर्ट कुन बेला पुग्ने भन्ने चिन्तामा रहेका कुन्दन काका यसपालि भोट हाल्ने कि नहाल्ने भन्ने दोधारमै देखिन्थे ।
‘कान्ले खेत बेचेर अस्ट्रेलिया हिँड्न लागेको कान्छो छोराको दिउँसो ४ बजे उडान छ । खै तीन घण्टा अगाडि पुग्नुपर्ने रे ! यसपालि भोट हालिएला जस्तो छैन,’ कुन्दन काकाले मुख खोले । सँगै रहेका कुमारले भने, ‘त्यस्तो भनेर कहाँ हुन्छ ? भोट त जसरी पनि हाल्नुपर्छ । एक भोटले गर्दा जित्नेले हार्छ, हार्नेले जित्छ ।’ ‘जो सुकैले जिते पनि, हारे पनि के फरक पर्छ र ? आफ्ना छोराछोरीलाई समुद्रपारी पठाउनुपरेको छ,’ कुन्दनले चित्त दुखाउँदै भने । ‘तै पनि भोट दिनुपर्यो नि !,’ कुमारले फेरि थपे ।
‘कसलाई दिने ? दिएर के हुन्छ ? अहिलेसम्म उनी नेताहरुलाई शासक बनाउने कामबाहेक के भयो ? त्यसमा पनि अहिलेसम्म चुनाउ हुन्छ कि हुँदैन भनेर नेताहरुले भाषण ठोकिराका छन्,’ कुन्दनले कुमारलाई उल्टै सम्झाए ।‘४८ सालदेखि ७९ सालसम्म चुनाउमा भोट हालियो । दिनभर लाइनमा बस्यो । चोरै चोरमध्ये एउटा चोर छान्नुपर्ने अवस्था आयो । छेपारोले रङ फेरेजस्तै आफू सत्तामा जानका लागि जे पनि गर्नेलाई भोट किन दिने ?,’ कुन्दनले भने ! कुन्दनको कुरा सुनेर कुमारको अनुहार अलि खिस्रिक्क पर्यो । हुन पनि नेता देशका लागि हुनुपर्ने थियो । नेतामाथि जनताको सम्मानले शिर झुक्नु पर्दथ्यो । तर त्यसो भएको छैन । बाटोमा हिँडिरहेको नेता देख्यो भने सम्मानले शिर झुकाउनुपर्ने ठाउँमा ऊऽ चोर आयो भन्ने अवस्था बनाए ।

कुमारलाई अझै केही भन्न मन लागिरहेको जस्तो देखिन्थ्यो । कुन्दनको कुरा सुनेर कुमार नबोल्नु नै ठीक छ जस्तो गरिरहेको थियो । कुन्दनले भने, ‘के हो भन न । बोल्न खोजेर पनि अड्कियो त ?’‘खै बोलौं ? तपाईंले बोल्ने कुरा नै सकिदिनु भो ?,’ कुमारले भने । मैले केही गल्ती भनेको छु भने भन । नेता कसलाई मान्ने भन्ने हो नि त ? जसले न देशलाई माया गर्छ । न त जन्मभूमिलाई माया गर्छ । न त देशका नागरिकलाई यही देशमा केही गर्न दिन्छ ? त्यस्तालाई नेता मानेर आफू दास बनिरहनुपर्ने भएपछि किन भोट हाल्ने भन्ने कुरा हो मेरो ?
कुमारले हो मा हो मिलाउनुपर्ने अवस्था आयो । उनले भने, ‘त्यो त हो । हामी जहिले पनि दल र पार्टीभन्दा माथि उठ्नै सकेनौं । अझ अहिले त जसले हाऽहा र हुँऽहुँ गर्न सक्यो त्यही नेता ?’अहिले त नेता बन्न खोजेकाको अनुहार र बोली हेर्दा पनि रिस उठ्छ हो मलाई त ! के बोल्छन् बोल्छन् । चुनाउमा के बोल्ने के नबोल्ने कसलाई गाली गर्ने नगर्ने भन्ने नै छैन । दुई वर्षमा गरिसक्नुपर्ने काम २० वर्षमा भएन अरे अब डेढ वर्षमा नै सक्नुपर्दछ, नत्र रुखाँँ बाँधेर काम सकाउनुपर्दछ रे ! के भन्या त्यो ?
दुई वर्षमा सकिने काम दुई वर्षमा नै सकाउनुपर्यो ? डेढ वर्षमा सकायो भने त्यो कामको गुणस्तर के होला ?कुमारले मुण्टो हल्लायो । उसले सही थाप्यो । किनकि, कुमारले पनि अहिले रङ फेरेका छन् । विचार त्यागेका छन् ।तर कुन्दनले न त विचार फेरेका छन् । न त बोली नै । हिजो पनि उसले सीधा कुरा गर्थे, सत्य बोल्थे । अहिले पनि सत्यको पथमा छन् । त्यही भएर पनि कुन्दनको नजिक पर्न नै डराउँछन् । उनी पेटमा नराखी भीडमा बोलीदिन्थे । त्यही भएर पनि उनको नजिक पर्दैनथे । गुलेलीले मट्यांग्रो हानेजस्तै बजारिने गरी शब्द प्रहार गर्ने ।
‘अब सबैलाई सच्चिन दिनुपर्छ नि दाइ,’ कुमारले सम्झाउन प्रयास गरे । ‘सँधै एकै नास हुँदैन । बेलाको बोली हो नि । कुनबेला के भन्ने थाहा नभएर भन्दा पनि यतिचाहिँ गर्नुपर्दछ भनेर होला नि त ?’कुमारको कुरा कुन्दनले के मान्थे र ! हुन त हो नि । त्यसो भए चौरासीमा गर्नुपर्ने चुनाउ अहिले किन गरेको त ? अनि हामीजस्ता मतदातालाई उम्मेदवार मन नपरेपछि म भोट हाल्दिनँ भन्न पाउनु पनि त पर्ला नि ? उनले प्रतिप्रश्न गरे ! ‘बरु त्यो चाहिँ ठीक हो के,’ कुमारले सही थपे । भोट हाल्ने ठाउँसम्म पुर्याएर म कसैलाई पनि मेरो प्रतिनिधि बनाउँदिन भन्न पाउनेगरी चुनाउ गराउनुपर्ने । त्यसपछि थाहा हुन्थ्यो नि भोट हाल्ने मान्छेको भावना ।
‘हो बल्ल तिमी लाइनमा आयौं,’ कुन्दनले थपे । कम्तीमा भोट हालेर उम्मेदवार नछान्दा दलहरुले भविष्यमा चुनाउमा उठाउने व्यक्ति पनि कस्तो चाहिन्छ भन्ने हेक्का राख्छन् नि !न त रुखाँ बाँधेर बाटो बनाउने भनेजस्तै चुनाउ जिताएर पठाउने अनि उही नाइके भनेर धन्दा चलाउनेहरुलाई फिर्ता बोलाएर रुखाँ बाँधेर घाममा सुकाउन अधिकार जनताले पाउनुपर्छ । ‘खै ! तपाईंले भनेजस्तो त के गर्लान् र,’ कुमारले भने । गरे गर्छन्, नगरे गर्दैनन् । पुरानाले देश कंगाल बनाए । नयाँले देश खरानी बनाए । अब कसलाई रुखाँ बाधेर बाटो बनाउन लगाउने त ?