काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयन गर्न आज विशेष साधारणसभा तथा निर्वाचन हुँदै छ । भुवनसिं गुरुङ नेतृत्वको कार्यसमिति आन्तरिक विवादका कारण कार्यकाल पूरा नहुँदै विघटन भएपछि विशेष साधारणसभामार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।
संघको विधानबमोजिम साधारणसभा तथा निर्वाचन प्रयोजनका लागि गठित प्रबन्ध समितिले आज बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा साधारणसभा तथा निर्वाचनको कार्यक्रम हुने जानकारी दिएको छ । समितिका संयोजक राजेन्द्र भण्डारीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । निर्वाचनमार्फत संघको अध्यक्षसहित सात जना पदाधिकारी र १० सदस्य गरी १७ जनाको कार्यसमिति निर्वाचित गरिने उनले बताए ।
भण्डारीका अनुसार निर्वाचनमा सहभागी हुन ७७४ व्यवसायीले प्रतिनिधि दर्ता गरेका छन् । नयाँ नेतृत्वका लागि तीनवटा प्यानलबाट ५१ जनाको उम्मेदवारी परेको छ ।
भूर्तेल, खत्री र पाण्डे प्यानलसहित मैदानमा
संघको अध्यक्ष पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनबाट मेघनाथ भूर्तेल, नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाट डिकबहादुर खत्री (कुमार) र स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट हरिबहादुर पाण्डे संघको नेतृत्व लिन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।
अध्यक्षका प्रत्याशी भूर्तेल संघका पूर्वमहासचिव हुन् । उनलाई संघको निवर्तमान अध्यक्ष गुरुङलेसमेत समर्थन जनाएका छन् । भूर्तेलसँग प्रतिस्पर्धामा रहेका खत्री संघका पूर्वप्रथम उपाध्यक्ष र पाण्डे वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष एवं संघका पूर्वप्रथम उपाध्यक्ष हुन् । यी तीन जनाबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । अध्यक्षका उम्मेदवार तीनै जनाले वैदेशिक रोजगार क्षेत्रको नीतिगत समस्या हल गर्दै यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धतासहित संघको नेतृत्वमा आफूलाई जिताउन अपिल गरेका छन् ।
कसको एजेण्डा के ?
अध्यक्षका उम्मेदवार भूर्तेल १० बुँदे एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन् । उनले वैदेशिक रोजगार क्षेत्रलाई सुधार र पारदर्शिताको दिशामा लैजाने प्रतिबद्धता जनाएका छन् । ‘सुरक्षित वैदेशिक रोजगार, सीपसहितको श्रमिक, सम्मानजनक स्वास्थ्य व्यवसाय, समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित वैदेशिक रोजगार प्रणालीलाई श्रमिकमैत्री, पारदर्शी र जवाफदेही बनाउन संरचनागत सुधार अपरिहार्य रहेकोमा भूर्तेलले जोड दिएका छन् ।
उनको प्रतिबद्धतापत्रमा श्रमिकमैत्री वैदेशिक रोजगार नीति, रोजगार प्रणालीलाई डिजिटल बनाउने, रोजगारीमा जाने श्रमिकको सीप विकास, श्रमिक सुरक्षा, अवैध भर्ती नियन्त्रणलगायत विषयलाई प्राथमिकता दिइएको छ । युरोप, जापान, कोरिया र जर्मनीलगायत उच्च आय भएका मुलुकसँग कूटनीतिक पहल गरी नयाँ श्रम गन्तव्य विस्तार गर्ने योजनालाई पनि उनले प्राथमिकता दिएका छन् । वैदेशिक रोजगार क्षेत्रलाई सम्मानजनक, सुरक्षित र न्यायोचित बनाउने उनको प्रतिबद्धता छ ।
अध्यक्षका अर्का उम्मेदवार खत्रीले वैदेशिक रोजगार क्षेत्रको छवि सङ्ल्याएर पुस्तान्तरण गर्न योग्य बनाउने सपना पूरा गर्न संघको नेतृत्व सम्हाल्न चाहेको बताएका छन् । ‘हामी २०औं वर्ष यो क्षेत्रमा लगानी गर्छौं तर पुस्तान्तरण गर्न सकेका छैनौं । मैले गरेको लगानी मेरो छोराले क्यारी गर्न सक्ने अवस्था बन्नपर्छ,’ खत्रीले भने, ‘यो क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउने हो भने फिलिपिन्सका एजेन्सीजस्तै हामी पनि स्थापित हुन सक्छौं । यो व्यवसायलाई मर्यादित बनाउने मेरो सपना नै छ ।’
स्वतन्त्र व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार पाण्डेले संघलाई अब कुनै पार्टीको निर्देशनमा नभई स्वतन्त्ररुपमा काम गर्ने बनाउने प्रतिबद्धता जनाए । ‘हामी संघको नेतृत्वमा पुगेपछि राज्यलाई दबाब होइन आग्रह गर्छौं । सरकार र व्यवसायीबीच पुलको रूपमा काम गर्छौं । यो पार्टी, त्यो पार्टी नभनी व्यवसायीको मुद्दा सरकारसँग निर्धक्क भएर अब हाम्रो टिमले राख्छ,’ पाण्डेले भने ।
कसको प्यानलबाट को-को प्रतिस्पर्धामा ?
मेघनाथ भूर्तेल नेतृत्वको लोकतान्त्रिक एसोसिएसनको प्यानलबाट प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल, द्वितीय उपाध्यक्षमा रबिन मेगाले मगर, तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल, महासचिवमा अमरप्रकाश तिवारी, सचिवमा राजकाजी भोलान (राज लामा) र कोषाध्यक्षमा विद्यालक्ष्मी बज्राचार्य प्रतिस्पर्धामा छन् । यो प्यानलबाट सदस्यका उम्मेदवारहरुमा राजेश मैनाली, कैलाश पाठक, देउबहादुर गौतम (सविन), टंकप्रसाद पंगेनी, गिता राउत, भिममाया कार्की, दिक्षा थपलिया, रोशना निरौला, दिपककुमार देव र हिरालाल गौडेल छन् ।
यसैगरी, डिकबहादुर खत्री नेतृत्वको प्रगतिशील मञ्चको प्यानलबाट प्रथम उपाध्यक्षमा संघका निवर्तमान महासचिव महेशकुमार बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी, तृतीय उपाध्यक्षमा तुलसी पुरी, महासचिवमा हिराबहादुर डांगी, सचिवमा केदारनाथ अधिकारी र कोषाध्यक्षमा धनमाया सिञ्जाली उम्मेदवार बनेका छन् । यो प्यानलबाट सदस्य पदको उम्मेदवारी दिनेमा रमा खड्का, विवश ढुंगाना, ध्रुव जिसी, फडिन्द्रकुमार केसी, तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गजुरेल, बाबुराम न्यौपाने र युवराज देवकोटा छन् ।
हरिबहादुर पाण्डे क्षेत्री नेतृत्वको स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहको प्यानलबाट प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, द्वितीय उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा कृष्ण ढकाल, महासचिवमा नुर मोहम्मद मियाँ, सचिवमा नवराज लुइँटेल र कोषाध्यक्षमा विनिता कटुवालले उम्मेदवारी दिएका छन् । सदस्य पदमा शिवशंकर यादव, दिनेश पौडेल क्षेत्री, नरेन्द्रदेव मलेकार, सरोज हुसन, वीरेन्द्रकुमार यादव, रबिन श्रेष्ठ, निर्मल जिसी, दिनेशकुमार खड्का, शालीग्राम पाण्डेय र लेखनाथ भुसालको उम्मेदवारी परेको छ ।