काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन शान्तिपूर्ण, मर्यादित तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
निर्वाचन समितिले जारी गरेको जानकारीअनुसार कुल ७७६ मतदातामध्ये ७१९ जनाले मतदान गरेका छन्। मतदानमा करिब ९४ प्रतिशत मत खसेको जनाइएको छ।
समितिका अनुसार निर्वाचन प्रक्रियामा कुनै अप्रिय घटना नभई व्यवसायी, मतदाता, प्रतिनिधि तथा सरोकारवालाको सहयोगमा मतदान सफलतापूर्वक सम्पन्न भएको हो। मतदान सकिएसँगै मतगणनाको तयारी थालिएको छ।
निर्वाचन समितिले मतदान प्रक्रियालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यवसायी, मतदाता, प्रतिनिधि र सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
मतदानको अन्तिम विवरणअनुसार ७१९ मतमध्ये १६ मतपत्र बदर भएको र ७०३ मत सदर भएको निर्वाचन समितिले जनाएको छ। अब मतगणनाबाट संघको नयाँ नेतृत्वको टुंगो लाग्नेछ।
