- यसअघि लाग्दै आएको ३५३ दिराम घटाएर २०८ दिराम कायम
- नयाँ व्यवस्था सोमबारदेखि नै कार्यान्वयनमा आएको जानकारी
- शुल्क घटेसँगै युएई जाने नेपाली श्रमिकलाई राहत
- भिजिट भिसा र बिजनेस भिसामा युएई जानका लागि प्रमाणीकरण जरुरी नहुने
काठमाडौं- नेपाली श्रमिकले संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली श्रमिकले पुलिस रिपोर्ट प्रमाणीकरणका लागि तिर्दै आएको शुल्क करिब आधाले घटेको छ। सोमबारदेखि झण्डै ५० प्रतिशत शुल्क मिनाहाको व्यवस्था लागू भएको जनाइएको छ।
यसअघि युएई जाने श्रमिकले पुलिस क्लियरेन्स सर्टिफिकेट (पिसिसी) लिन ३५३ दिराम अर्थात् १४ हजार ७०० रुपैयाँ बुझाउँदै आएका थिए। सोमबारबाट श्रमिकले मोफा, भिएफएस र भ्याटसहित २०८ दिराममात्र तिर्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हिराबहादुर डाँगीले बताए। योसँगै अबदेखि करिब आठ हजार ६०० रुपैयाँ तिरेर पिसिसी लिन सकिने भएको छ।
गत सेप्टेम्बर २४ मा संघका अध्यक्ष डिकबहादुुर खत्री तथा पदाधिकारीसहितको प्रतिनिधिमण्डलले युएईका राजदूत अब्दुल्लाह जरवान अलशाम्सीसँगको भेटमा पिसिसी प्रमाणीकरणमा लाग्दै आएको शुल्क मिनाहा गर्न अनुरोध गरेको थियो। उक्त अवसरमा राजदूत अलशाम्सीले आफ्नो मुलुकको आन्तरिक सुरक्षासम्बन्धी कारणले पिसिसी प्रमाणीकरणको व्यवस्था खारेज गर्न नसकिने तर त्यसका लागि लाग्दै आएको शुल्क घटाउन सकिने प्रतिबद्धता व्यक्त जनाएका थिए। सोही प्रतिबद्धताअनुरुप शुल्क घटाइएको संघले जनाएको छ।
साथै, अबदेखि भिजिट भिसा र बिजनेस भिसामा युएई जानका लागि नेपाल सरकारले जारी गरेको पिसिसीमात्र भए हुने, अन्य कुनै प्रमाणीकरणको आवश्यकता नपर्नेसमेत व्यवस्था गरिएको जनाइएको छ। गत वर्षको भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि करिब तीन महिना बन्द भएको युएईको रोजगारी खुलेयता उक्त मुलुक जानेहरुका लागि पुलिस रिपोर्ट प्रमाणीकरण अनिवार्य गरिएको थियो।
आन्दोलनपछि जेलबाट भागेका तीन हजारभन्दा बढी कैदीबन्दी पक्राउ नपरेको भन्दै युएईले पुलिस रिपोर्ट प्रमाणीकरण अनिवार्य गरेको थियो। जसका लागि नेपाल प्रहरीले जारी गरेको क्युआर कोडसहितको रिपोर्टलाई परराष्ट्र मन्त्रालयले प्रमाणित गरिसकेपछि नेपालमै रहेको युएईको दूतावासले प्रमाणीकरण गर्दै आएको छ। भिसा फ्यासिलेटेसन सर्भिस (भिएफएस) ग्लोबलमार्फत गरिने यस्तो प्रमाणीकरणका लागि श्रमिकहरुले १४ हजार रुपैयाँभन्दा बढी रकम तिर्दै आएका थिए।
केही वर्षयता युएई नेपालीहरुको पहिलो रोजगार गन्तव्य बन्दै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ७४ हजार ५९० जना रोजगारीमा जाँदा २०८२÷८३ मा एक लाख ८३ हजार ५८० जना श्रमिक युएई गएको तथ्यांक छ। झण्डै एक वर्षदेखि प्रमाणीकरणका लागि श्रमिकहरुले अतिरिक्त शुल्क बुझाउँदा मुलुकबाट ठूलो रकम बाहिरिएकोसमेत बताइँदै आएको थियो। नयाँ व्यवस्थासँगै युएई जाने श्रमिकले केही राहत महसुस गर्ने जनाइएको छ।
हाल युएई जाने ४५ मुलुकका नागरिकका लागि उक्त मुलुक प्रवेश गर्न पुलिस प्रमाणीकरण आवश्यक पर्छ। नयाँ व्यवस्था युएई जाने नेपाली श्रमिकको आर्थिक भार कम गर्नेतर्फ सकारात्मक कदम भएको भन्दै संघले युएई सरकार र युएई दूतावासप्रति धन्यवाद ज्ञापन गरेको छ।
संघका अध्यक्ष खत्रीले आगामी दिनमा प्रमाणीकरणका लागि लाग्दै आएको शुल्क पूर्णरुपमा मिनाहा गर्नसमेत अनुरोध गरेका छन्। ‘यो कदमले नेपाली श्रमिकको आर्थिक भार कम गर्ने दिशामा युएई रहेको देखिन्छ। हामी युएईलाई प्रहरी प्रतिवेदन प्रमाणीकरणको शुल्क पूर्णरुपमा मिनाहा गर्न विनम्र अनुरोध गर्छौं,’ उनले भने, ‘योे शुल्क हटाउँदा श्रमिकलाई थप राहत पुग्नुका साथै श्रमिकमैत्री भर्ना अभ्यासप्रति युएईको प्रतिबद्धता अझ बलियो हुन्छ।’