- साउदीका विभिन्न विमानस्थलमा हुथी विद्रोहीको निरन्तर आक्रमण
- गत साता साउदीका विमानस्थलमा तीन पटक आक्रमण गरेकामा शनिबार रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थललक्षित घातक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण
- शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु, ३०९ जना घाइते
- करिब चार लाख नेपाली श्रमिक कार्यरत साउदीमा युद्ध लम्बिए उनीहरुको रोजगारी प्रभावित हुने डर
काठमाडौं- साउदी अरबमा हुथी विद्रोहीले आक्रमण तीव्र पारेपछि त्यहाँ कार्यरत आप्रवासी श्रमिकहरुको सुरक्षा चिन्ता बढेको छ । विशेषगरी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थललक्षित घातक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका कारण उक्त मुलुकमा कार्यरत नेपाली श्रमिकसमेत जोखिममा परेका छन् ।
अन्तर्राट्रिय समाचार संस्था रोयटर्सले शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु हुनुका साथै कम्तीमा ३०९ जना घाइते भएको उल्लेख गरेको छ । किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा साउदीका चार, बंगलादेशका दुई तथा संयुक्त राज्य अमेरिका, जोेर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक/एक जनाको ज्यान गएको छ । घाइते केहीको अवस्था गम्भीर रहेको पनि जनाइएको छ । आक्रमणपछि पनि हुथी विद्रोहीले साउदीका हवाइ मार्ग र विमानस्थल प्रयोग नगर्न यात्रुु तथा विमान कम्पनीलाई चेतावनी दिएको छ । यसबाट थप आक्रमणको आशंका गरिएको छ ।
गत सातामात्र हुथीले साउदीका विमानस्थलमा तीनपटक आक्रमण गरेको थियो । गत अक्टोबर ५ र ६ मा दुईवटा विमानस्थलमा आक्रमण हुँदा केही भौतिक क्षति हुनुका साथै तीन जना घाइते भएका थिए । त्यस्तै, अक्टोबर ८ को आक्रमणका तीन जनाको ज्यान जानुको साथै एउटा विमानमा क्षति भएको थियो ।
शनिबारको आक्रमणलाई साउदी सरकारले युद्ध अपराधको संज्ञा दिँदै यसको कडा जवाफ दिने चेतावनी दिएको छ । यो आक्रमणका कारण साउदीका अधिकांश उडानहरु रद्द हुनुका साथै कतिपय उडान ‘डाइभर्ट’ गरिएका छन् । सुरक्षा चिन्ता बढेपछि नेपालबाट साउदीको उडान पनि प्रभावित भएको छ । कतिपय देशका नियोगहरुले आफ्ना नागरिकलाई विमानस्थल नजिक नजान अनुरोध गरेका छन् । साथै, रियादका विद्यालयमा भौतिकरुपमा हुने पठनपाठन स्थगित गरी अनलाइन कक्षा सञ्चालन गरिएकोसमेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
हालसम्म आक्रमणको प्रत्यक्ष असर नेपाली श्रमिकमा परेको जानकारीमा आएको छैन । यद्यपि, आक्रमण थप लम्बिए ठूलो संख्यामा कार्यरत नेपालीहरुको सुरक्षा तथा रोजगारी प्रभावित हुनसक्ने देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट एक लाख २४ हजार ५८३ जना श्रम स्वीकृति लिएर साउदी गएको तथ्यांक छ । यो तथ्यांक हेर्दा दैनिक औसतमा ३४० भन्दा बढी नेपाली रोजगारीको खोजीमा उक्त मुलुक गएको देखिन्छ । हाल त्यहाँ चार लाखभन्दा बढी नेपाली कार्यरत रहेका छन् । उनीहरु त्यहाँ निर्माण, सरसफाइ, ढुवानी, सेवालगायतका क्षेत्रमा काम गर्छन् ।
कुनै पनि मुलुकमा कार्यरत श्रमिकको अवस्था गन्तव्य मुलुकको शान्ति सुरक्षासँग प्रत्यक्ष सम्बन्धित हुन्छ । गत मार्चमा पश्चिम एसिया तनावग्रस्त हुँदा नेपालले त्यहाँ जाने श्रमिकको श्रम स्वीकृति रोकेको थियो । साथै, भिसा लागेका श्रमिकको उडान रोकिनुका साथै कतिपयको रोजगारी पन गुमेको थियो ।
यमनले पछिल्लो पाँच सातामा साउदीले गरेको आक्रमणमा आफ्ना ९१ जना नागरिकको ज्यान गएको दाबी गरेको छ । साउदीले पनि शनिबारको आक्रमणको जवाफ दिने प्रतिक्रिया दिँदै आएको अवस्थामा यदि युद्ध चर्किए त्यहाँ कार्यरत श्रमिकको रोजगारी प्रभावित हुने सम्भावना देखिएको छ ।