काठमाडौं– बहराइनले विदेशी श्रमिकलाई एउटै ‘वर्क परमिट’ कायम राखेर अर्को रोजगारदातासँग पनि अस्थायीरुपमा काम गर्न पाउने व्यवस्था गरेको छ। नयाँ नियमअनुसार विदेशी श्रमिकले बढीमा तीन महिनासम्म दोस्रो रोजगारदाताका लागि काम गर्न पाउने जनाइएको छ।
बहराइनको श्रमबजार नियमन प्राधिकरण (एलएमआरए)ले २०२६ को निर्णय नम्बर २ मार्फत यस्तो व्यवस्था गरेको ‘न्युज अफ बहराइन’ले जनाएको छ। यसले विदेशी श्रमिकको वर्क परमिटसम्बन्धी सन् २००८ को नियम संशोधन गरेको भनिएको छ। घरेलु कामदारका लागि भने यो नियम लागू नहुने जनाइएको छ।
समाचारका अनुसार नयाँ व्यवस्थाले रोजगारदाताबीच अस्थायीरुपमा श्रमिक परिचालन गर्न सक्ने बाटो खोलेको छ। तर त्यसका लागि श्रमिकको सहमति आवश्यक पर्छ। अस्थायीरुपमा अर्को रोजगारदाताकोमा पठाइएका श्रमिकको अधिकार संरक्षणको जिम्मेवारी दुवै रोजगारदाताको हुने छ। श्रमिकको तलब, कामको अवस्था र अन्य रोजगार अधिकारमा असर नपर्नेगरी व्यवस्था कार्यान्वयन गर्नुपर्ने जनाइएको छ।
साथै, एउटै रोजगारदाताका अन्य कम्पनीमा पनि श्रमिकलाई अस्थायीरुपमा पठाउन सकिने छ। त्यस्ता कम्पनीको व्यावसायिक दर्ता नम्बर फरक भए पनि व्यवस्था लागू हुने भनिएको छ। नयाँ व्यवस्थाले बहराइनका रोजगारदातालाई आवश्यकताअनुसार श्रमिक परिचालन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
बहराइन नेपाली श्रमिकका श्रम गन्तव्यहरुमध्येको एक हो। गत आर्थिक वर्षमा नौ हजार ३३६ जना उक्त मुलुक गएका थिए। यसर्थ यो व्यवस्थाको प्रभाव नेपाली श्रमिकमा पनि पर्ने बुझिएको छ।