एपी- वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन्। यसको केन्द्रमा रहेको विशाल ब्ल्याक होलले प्रारम्भिक ब्रह्माण्डमा आकाशगङ्गाको विकासबारे नयाँ जानकारी दिएको छ।
जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त क्वासर ब्रह्माण्डको १३ अर्ब ८० करोड वर्ष लामो इतिहासको सुरुआती चरणमै बनेको थियो। यस खोजले यसअघि कायम रहेका दूरी तथा समयसम्बन्धी अभिलेख तोडेको छ।
युरोपेली दक्षिणी वेधशालाका अनुसन्धानकर्ता तथा अध्ययनका प्रमुख जुलियन वुल्फका अनुसार यसअघिका दुई अभिलेखले क्वासरको निर्माण समय करिब डेढ करोड वर्षले मात्र पछाडि सारेका थिए। तर नयाँ खोजले त्यो समय करिब चार करोड वर्ष पछाडि पुर्याएको छ। उहाँले यसलाई झन्डै एक दशकयताकै ठूलो प्रगति बताएका छन्।
युरोपेली अन्तरिक्ष एजेन्सीको युक्लिड टेलिस्कोपले संकलन गरेका लाखौँ अवलोकनको विश्लेषण गर्ने क्रममा अनुसन्धान टोलीले उक्त क्वासर फेला पारेको हो। सन् २०२३ मा प्रक्षेपण गरिएको युक्लिड टेलिस्कोपले ब्रह्माण्डको विस्तारमा भूमिका खेल्ने डार्क म्याटर र डार्क इनर्जीबारे जानकारी प्राप्त गर्न आकाशगङ्गाहरूको सर्वेक्षण गरिरहेको छ।
अनुसन्धानकर्ता वुल्फका अनुसार ब्रह्माण्डको सुरुआती अवस्थामा क्वासर भेटिनु आफैँमा दुर्लभ घटना हो। त्यसमा पनि यसको ब्ल्याक होलको असाधारण ठूलो आकार र त्यसले वरिपरिको पदार्थ तुलनात्मक रूपमा सुस्त गतिमा ग्रहण गरिरहेको अवस्था थप चासोको विषय बनेको छ। वैज्ञानिकहरूले यसलाई करिब १३ अर्ब १० करोड वर्षअघिको अवस्थामा देखेका हुन्। त्यतिबेला ब्रह्माण्डको उमेर अहिलेको तुलनामा पाँच प्रतिशतभन्दा कम थियो।
वुल्फले आयरल्यान्डको अरान टापुमा रहेको प्रागैतिहासिक ढुङ्गे किल्ला डन ओङ्हासाको नामबाट उक्त क्वासरलाई यही नाम दिएका छन्। उनकी श्रीमती र छोरी आयरिस भएकाले परिवारसहित उक्त किल्ला भ्रमण गर्दा त्यसबाट प्रभावित भएका थियो। उनका अनुसार किल्लाले क्वासरले जस्तै अझै अन्वेषण गर्न बाँकी विशाल क्षितिजको संकेत गर्छ।
हबल र जेम्स वेब अन्तरिक्ष दूरबिनलगायत पृथ्वी तथा अन्तरिक्षमा रहेका अन्य वेधशालाबाट पनि टोलीको खोज पुष्टि भएको छ। वेब दूरबिनबाट प्राप्त विवरणअनुसार उक्त क्वासरलाई ऊर्जा प्रदान गर्ने ब्ल्याक होलको द्रव्यमान सूर्यको भन्दा करिब ३६ करोड गुणा बढी छ। ब्रह्माण्डको यति प्रारम्भिक चरणमै ब्ल्याक होलको आकार यति ठूलो हुनु वैज्ञानिकका लागि आश्चर्यको विषय बनेको छ।
अध्ययनको अन्तिम निष्कर्ष ‘एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित भएको छ। वुल्फले बिग ब्याङपछि करिब ६३ करोड वर्षमै ब्ल्याक होल सूर्यको द्रव्यमानको ३६ करोड गुणासम्म कसरी बढ्यो भन्ने प्रश्नले प्रारम्भिक ब्रह्माण्डबारे थप अनुसन्धान आवश्यक बनाएको बताएका छन्।
उनका अनुसार नयाँ खोजले प्रारम्भिक ब्रह्माण्डको अध्ययनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ। तर यो अभिलेख केही महिनामै अर्को खोजले तोड्न सक्ने वा वर्षौंसम्म कायम रहन सक्ने सम्भावना पनि उनले व्यक्त गरेका छन्।