काठमाडौं- साउदी अरबले दक्ष कामदारले आफ्नो परिवारका सदस्य लान पाउने गरी पारिवारिक भिसासम्बन्धी नियम खुकुलो बनाएको छ। साउदीको परराष्ट्र मन्त्रालय र मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा त्यहाँको गृह मन्त्रालयले यो व्यवस्था अघि बढाएको हो।
यसअघि विदेशी श्रमिकले साउदी पुगेर रोजगारसम्बन्धी प्रक्रिया पुरा गरी आवासीय अनुमति (इकमा) प्राप्त गरेपछि मात्र परिवारका सदस्यलाई लग्ने प्रक्रिया सुरु गर्नुपथ्र्यो। यसका कारण प्रक्रिया पुरा नहुँदासम्म परिवारका सदस्यबाट टाढा बस्नुपथ्र्यो। अब भने श्रमिकले आफ्नो परिवारको भिसा प्रक्रिया पनि सँगसँगै अघि बढाउन पाउने छन्।
गल्फ न्युजकाअनुसार नयाँ व्यवस्थामा उच्च दक्ष कामदारले आफ्नो श्रीमती, २५ वर्ष नपुगेका छोरा र अविवाहित छोरी साउदी लान पाउनेछन्। यो व्यवस्थाअन्तर्गत उच्च दक्ष काम अन्तर्गतका कुनकुन पेशालाई समेट्ने भन्ने स्पष्ट भने पारिएको छैन। यद्यपि इन्जिनियर, चिकित्सक, प्रविधि विज्ञलगायतका जनशक्ति यसबाट लाभान्वित हुने बुझिएको छ।
साउदीले भिजन २०३० अन्तर्गत प्रविधि, स्वास्थ्य, पूर्वाधार र अन्य क्षेत्रमा ठूलो लगानी गरेर विशिष्ठ जनशक्ति भित्र्याउने प्रयास गरिरहेको छ। यसको मुख्य उद्देश्य साउदीको परम्परागत खनिज तेलमाथिको निर्भरतालाई न्यूनीकरण गर्दै आम्दानीका अन्य स्रोत बृद्धि गरेर मुलुकको अर्थतन्त्रलाई विविधिकरण गर्नु रहेको छ।
उक्त रणनीति अन्तर्गत साउदीले आफ्नो संस्कृति, अर्थतन्त्र र समाजलाई पूर्ण रुपान्तरण गर्ने योजना बनाएको छ। यसर्थ पारिवार लान पाउने व्यवस्था उच्च दक्ष जनशक्तिलाई आफ्नो मुलुकमा थप आकर्षित गने राखिएको बुझिएको छ। साथै यस्ता जनशक्तिलाई साउदीमा लामो समयसम्म टिकाइराख्न पनि यो व्यवस्था प्रभावकारी हुने बुझिएको छ।
यद्यपि प्रवेश भिसा पाउनासाथ परिवारका सदस्यले स्थायी आवासीय अधिकार भने पाउनेछैनन्। साउदी पुगेपछि उनीहरुले आवासीय हैसियतका लागि स्वास्थ्य परिक्षण, प्रशासनिक तथा कानुनी प्रक्रिया लगायतका मापदण्ड पुरा गर्नुपर्ने छ। साउदी नेपालीको प्रमुख रोजगार गन्तव्य हो। प्रत्येक वर्ष एक लाखभन्दा बढी नेपालीहरु श्रम स्वीकृति लिएर रोजगारीको खोजीमा उक्त मुलुक जाने गरेका छन्। हाल साउदीमा चार लाख नेपालीहरु कार्यरत रहेको तथ्याङ्क छ। जसमा ठूलो हिस्सा अदक्ष र अर्धदक्ष श्रमिकको रहेको छ। सीपयुक्त श्रमिकको संख्या पनि उल्लेखनीय भएपनि यो व्यवस्था उच्च दक्ष जनशक्ति लक्षित भएकाले यसको प्रत्यक्ष फाइदा भने सीमित नेपालीलाई मात्र हुने देखिएको छ।
हाल नेपालबाट रोजगारीमा जाने श्रमिकको संख्यामा निरन्तर बृद्धि भएको पाइन्छ। पछिल्लो समय सीपयुक्त भएर जानेको संख्यामा केही सुधार देखिएपनि अदक्ष र अर्धदक्ष श्रमिकको संख्या नै बढी रहेको छ। प्रत्येक वर्ष लाखौँ श्रमिक रोजगारीमा जाँदा केही सय व्यक्तिमात्र उच्च दक्ष श्रमिकका रुपमा जाने गरेका छन्। गन्तव्य मुलुकको आफ्नो आवश्यकताअनुसार आप्रवासन नीतिहरु परिवर्तन गर्दै जाँदा नेपालबाट जाने श्रमिकको सीप विकास र पेशागत स्तरोन्नतिको आवश्यकता महत्वपूर्ण बन्न थालेको छ।