काठमाडौं– मलेसिया सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ।
शुक्रबार संसद्मा सन् २०२७ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक एक हजार ७०० रिंगेटबाट बढाएर दुई हजार रिंगेट पु्याउने घोषणा गरेका हुन्।
यो व्यवस्था सन् २०२७ को जुनबाट कार्यान्वयनमा आउने जनाइएको छ। प्रधानमन्त्री अनवर इब्राहिमले नयाँ व्यवस्थाबाट ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुने बताएको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन्।
बढ्दो महँगी र जीवनयापनको खर्चअनुसार श्रमिकको आम्दानी वृद्धि हुन नसकेको भन्दै सरकारले पारिश्रमिक संरचनामा सुधार गर्न लागेको प्रधानमन्त्री इब्राहिमको भनाइ थियो।
यद्यपी वार्षिक कारोबार पाँच करोड रिंगेटभन्दा कम भएका साना तथा मझौला उद्योगलाई भने नयाँ पारिश्रमिक दर लागू नहुने जनाइएको छ। व्यवसायलाई नयाँ पारिश्रमिक व्यवस्था अनुसार समायोजन गर्न समय उपलब्ध गराउन यस्तो गरिएको जनाइएको छ।
मलेसिया नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यमध्ये एक हो। उत्पादनमूलक उद्योग, निर्माण, सुरक्षा गार्ड, प्लान्टेसन लगायतका क्षेत्रमा चार लाख नेपाली कामदार कार्यरत रहेका बताइन्छ।
यसले मलेसियामा कार्यरत नेपाली श्रमिकको पारिश्रमिक र रोजगारीको अवस्थालाई पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।
हाल त्यहाँ कार्यरत नेपालीहरुले न्यूनतम एक हजार ७०० अर्थात् करिब ६४ हजार नेपाली रुपैयाँ पाउँदै आएका थिए। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि यसको लाभ लिने श्रमिकहरुले करिब ७५ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक पाउने छन्।