एपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली संघ (इयु) सहित १६ अर्थतन्त्रबाट आयात हुने औद्योगिक वस्तुमा थप कर लगाउने तयारी गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सरकारी अनुदानका कारण औद्योगिक उत्पादन अत्यधिक बढेको विषयमा गरेको अनुसन्धानको नतिजा आगामी दिनमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
यससम्बन्धी जानकारी दिएका दुई व्यक्तिले नयाँ कर लागू हुने समय परिवर्तन हुनसक्ने बताएका छन्। ह्वाइट हाउसका अनुसार अनुदानका कारण सस्तो सामानको अत्यधिक उत्पादन र निर्यात हुँदा अमेरिकी उद्योगहरू प्रतिस्पर्धामा कमजोर भएका छन्।
प्रस्तावित कर अमेरिकी सर्वोच्च अदालतले गत फेब्रुअरीमा असंवैधानिक ठहर गरेका व्यापक आयात शुल्कको विकल्पका रूपमा ल्याउन लागिएको हो। अमेरिकी व्यापार ऐन, १९७४ को धारा ३०१ अन्तर्गत भइरहेको अनुसन्धानले अमेरिकी व्यापारमाथि भेदभाव गर्ने देशविरुद्ध शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई दिन्छ।
नयाँ शुल्कको दर स्पष्ट भइसकेको छैन। तर यसअघि घोषणा गरिएका १० देखि १२.५ प्रतिशतका शुल्कमाथि थपिने अपेक्षा गरिएको छ। चीनको विशाल औद्योगिक उत्पादन क्षमता र कमजोर घरेलु मागका कारण कम्पनीहरू विदेशी बजारमा निर्भर हुन थालेका छन्। सवारीसाधन, सौर्य प्यानल, सिमेन्ट र इस्पातजस्ता क्षेत्रमा चीनको बढ्दो उत्पादनले व्यापारिक साझेदारहरूको चिन्ता बढाएको छ। गत वर्ष चीनको व्यापार बचत कीर्तिमानी १२ खर्ब अमेरिकी डलर पुगेको थियो।
ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हालै सेन्झेनमा भेटवार्ता भए पनि व्यापार घाटा दुई देशबीचको प्रमुख विवाद बनेको छ। सी अर्को महिना फ्लोरिडामा हुने समूह २० शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ।