एएफपी- इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन्। लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह बढेर खानीमा बाढी पसेको प्रहरीले बुधबार जनाएको छ।
पश्चिम जाभाको बोगोर जिल्लास्थित खुला खानीमा सोमबार भारी वर्षापछि नदीको पानी पस्दा कामदारहरू फसेका हुन्। पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचमवानले उद्धार गर्न बाँकी रहेका २६ जना कामदारलाई सुरक्षित बाहिर निकाल्न संयुक्त टोलीले प्रयास गरिरहेको बताएका छन्।
उनका अनुसार वर्षायामको प्रतिकूल अवस्था र खानीभित्र पस्ने साँघुरो मार्गका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। खानीको उत्खनन सुरुङमा प्रवेश गरी कामदारको खोजी तथा उद्धार गर्न टोलीले सक्दो प्रयास गरिरहेको उनले बताए।
बाढी पस्नुअघि ११ जना कामदार भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए। खानीभित्र कामदार फसेको जानकारी अधिकारीहरूले मङ्गलबार मात्र पाएका थिए।
दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियामा खानी दुर्घटना सामान्य मानिन्छन्। विशेषगरी अनुमति नलिई सञ्चालन गरिएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र त्यसको पालना नहुने भएकाले यस्ता दुर्घटनाको जोखिम बढी रहने गरेको छ।