काठमाडौं– इजरायल जान आवेदन दिएर छनोट नभएकाहरुले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेर पुनः आवेदन दिनपर्ने भएको छ। वैदेशिक रोजगार विभागले सन् २०२४ मा इजरायलको रोजगारीका लागि आवेदन दिएर गोलाप्रथामा छनोट हुन नसकेकाहरुलाई सबै प्रक्रिया पूरा गरेर नयाँ आवेदन दिन भनेको हो।
विभागले सोमबार एक सूचना जारी गर्दै हाल प्रकाशित विज्ञापनमा सहभागी हुन चाहनेहरुले क्यामब्रिजको ‘अपस्किल इंग्लिस टेस्ट’ पास गरेर विभागको अनलाइन प्रणालीबाट आवेदन दिनसक्ने स्पष्ट पारेको छ। सन् २०२४ मा इजरायलको दिर्घकालीन स्यहार केन्द्र (केयरगिभर)का लागि तीन हजार ४६१ वटा आवेदन स्वीकृत भएका थिए। आवेदन स्वीकृत भएकामध्येबाट इजरायल जानका लागि दुई हजार ११२ जना गोलाप्रथाबाट छनोट हुँदा एक हजार १५३ जना छनोट भएका थिएनन्।
इजरायलले विगतमा आवेदन स्वीकृत भएर पनि चिट्ठामा छनोट नभएकाहरुलाई पनि रोजगारीको अवसर दिएपछि मात्र नयाँ आवेदन खुलाउने गरेको थियो। जसकारण आफूहरुले पनि विगतको जसरी रोजगारीको अवसर पाउने भन्ने आशमा बसेका युवाहरु नयाँ आवेदन खुलेपछि गत जेठमा आन्दोलितसमेत भएका थिए।
छनोट नभएकाहरुले अझै पनि आफूहरुले रोजगारी पाउने/नपाउने विषयमा पटक–पटक जिज्ञासा राख्ने गरेको विभागले जनाएको छ। विभागले इजरायलको पपुलेसन इमिग्रेसन एण्ड बोर्ड अथोरिटी (पिवा)सँग समन्वय गर्दा इच्छुक उम्मेदवारले अंग्रेजी परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने स्पष्ट पारेको विभागले जनाएको छ। विभागले यसअघि पनि लट्री (चिट्ठा)बाट छनोट हुन नसकेका उम्मेदवारले तोकिएको अंग्रेजी भाषाको मापदण्डलगायत सर्तहरु पूरा गरेर आवेदन दिनसक्ने भनिसकेको छ।
गत जेठमा खुलेको आवेदनमा इजरायलले दुई हजार ३०० कामदार माग गरे पनि अंग्रेजी भाषा परीक्षामा एक हजार २३१ मात्र उत्तीर्ण भएपछि मागअनुसारको कामदार पाएको थिएन। त्यसपछि गत भदौमा पुनः एक हजार ४६४ जनाको आवेदन खुलेको छ। योग्यता पुगेका व्यक्तिले यही असोज २६ गते राति १२ बजेसम्म विभागको वेब पोर्टलमा अनलाइन आवेदन दिनसक्ने छन्। आवेदन दिने व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ। पिवाले यसपटक भने आवेदन खुलाउँदै लट्रीमा फालिनेहरुलाई रोजगार प्रक्रियामा समावेश गराउन इजरायल बाध्य नहुने स्पष्ट पारेको छ।