- जापानको स्पेसिफइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) कार्यक्रमअन्तर्गत कोटा परिवर्तन गर्न लागिएको जानकारी
- यस वर्षको अन्त्यसम्ममा मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी
काठमाडौं- जापानले केही क्षेत्रमा विदेशी श्रमिकको कोटा परिवर्तन गर्ने तयारी गरेको छ । विदेशी श्रमिकको भर्नामा निर्धारण गरिएको सीमा नबढाई जनशक्ति अभाव भएका क्षेत्रमा विदेशी श्रमिकको प्रवेशलाई निरन्तरता दिन यस्तो तयारी गरेको जनाइएको छ ।
जापानको स्पेसिफइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) कार्यक्रमअन्तर्गत परिवर्तन गर्न लागिएको जापानी समाचार संस्था ‘द एसिया निक्केई’ले जनाइएको छ । जापानले गत अप्रिलदेखि रेस्टुरेण्ट क्षेत्रमा विदेशी श्रमिक लग्न रोकेपछि स्वास्थ्य संस्था तथा सामाजिक कल्याण केन्द्रमा खाना बनाउने तथा वितरण गर्ने कामलाई खाद्य तथा पेयपदार्थ उत्पादनअन्तर्गत राख्ने प्रस्ताव अघि सारेको जनाइएको छ । फुड सर्भिसमा अधिकतम ५० हजार श्रमिक लग्ने भनिएकोमा कोटा नजिक पुगेपछि श्रमिकको भर्ना रोकिएको थियो । नयाँ योजना कार्यान्वयनमा आए उक्त क्षेत्रमा नयाँ कामदारको भर्ना पुनः सुरु हुने छ ।
समाचारका अनुसार जापानको अध्यागमन सेवा निकाय तथा अन्य सरोकारवालाले यससम्बन्धी प्रस्तावमा समन्वय गरिरहेका छन् । अक्टोबरको मध्यतिर विज्ञ समूहको छलफल सक्ने र यस वर्षको अन्त्यसम्ममा मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी रहेको छ । यदि प्रस्ताव स्वीकृत भए स्वास्थ्य तथा कल्याण संस्थामा खाना बनाउने कामका लाग नयाँ योग्यता प्रमाणपत्र जारी गर्ने प्रक्रिया सन् २०२७ को अप्रिलदेखि पुनः सुरु हुने जनाइएको छ ।


जापानले सन् २०१९ मा श्रमिक अभाव भएका क्षेत्रमा विदेशी कामदार भित्र्याउने उद्देश्यले एसएसडब्ल्यू कार्यक्रम सुरु गरेको थियो । जसअन्तर्गत विभिन्न क्षेत्रमा पाँच वर्षका लागि श्रमिकहरु लगिन्छ । पछिल्लो प्रस्तावले एउटा क्षेत्रमा श्रमिक अभाव हुँदा अर्को क्षेत्रको कोटा प्रयोग गरेर प्रवेश जारी राख्ने अभ्यास सुरु गर्न खोजेको देखिएको छ । केयरगिभर क्षेत्रमा पनि जापानले पुनः कोटा व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । उक्त क्षेत्रमा हाल रहेको एसएसडब्ल्यू कार्यक्रमको कोटामा ‘इम्प्लोइमेन्ट फर स्किल डेभलपमेन्ट’ (इएसडी)बाट २० हजार श्रमिक स्थानान्तरण गर्ने जनाइएको छ । गत जुलाइसम्म केयरगिभरममा ८१ हजार विदेशी श्रमिक एसएसडब्ल्यूअन्तर्गत गएका थिए । केयरगिभर क्षेत्रका अधिकतम सीमा एक लाख २६ हजार रहेको जनाइएको छ । नयाँ कार्यक्रमबाट कोटा सारिएपछि केयरगिभरमा कामदार भर्ना रोक्ने योजना केही समयका लागि टार्न सकिने जनाइएको छ ।
जापानले आगामी अप्रिलदेखि इएसडी सुरु गर्दै छ । यसले विद्यमान टेक्निकल इन्टर्न टे«निङ प्रोग्राम (टिआइटिपी)लाई प्रतिस्थापन गर्ने जनाइएको छ । तर नयाँ कार्यक्रमअन्तर्गत केयरगिभर क्षेत्रमा उपलब्ध हुने स्थान करिब ६० प्रतिशतले घट्न सक्ने बुझिएको छ । जसकारण ठूलो सहर बाहिरका क्षेत्रमा कामदार खोज्न समस्या हुनसक्ने समाचारमा भनिएको छ । जापानमा गत जुलाइसम्म एसएसडब्ल्यूअन्तर्गत गएका श्रमिकको संख्या चार लाख ३२ हजार नाघेको तथ्यांक छ । उक्त मुलुकमा सन् २०२९ मार्चसम्मका लागि आठ लाख पाँच हजारको सीमा निर्धारण गरिएको छ । तर कुन क्षेत्रमा कति कामदार लग्ने भन्ने निर्णयले नेपाली श्रमिकले पाउने अवसरको निर्धारण गर्छ ।
गत अप्रिलदेखि फुड सर्भिसको भर्ना रोकिँदा त्यस क्षेत्रमा जाने तयारी गरिरहेका धेरै युवा प्रभावित भएका थिए । नयाँ निर्णयले जापानको सो क्षेत्रमा रोजगारीमा जाने तयारी गरेकाहरुलाई अवसर प्रदान गर्ने देखिएको छ । सीपमा आधारित रोजगारीमा विदेसिनेहरुका लागि जापान महत्वपूर्ण श्रम गन्तव्य हो । गत आर्थिक वर्षमा नेपालबाट २२ हजार २६६ जना श्रम स्वीकृति लिएर जापान गएका थिए । उक्त मुलुकमा केयरगिभर, ग्राउण्ड ह्याण्डलिङ, फुड सर्भिस, कृषिलगायतका क्षेत्रमा श्रमिकहरु जाँदै आएका छन् ।