Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
विचार
  • Home
  • विचार
  • पूर्वविशिष्टको सुविधा खारेज गरौं
पूर्वविशिष्टको सुविधा खारेज गरौं
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी शुक्रबार, जेठ २९, २०८३
वैकुण्ठ भण्डारी

 

आज देशले विकासका लागि स्रोत खोजिरहेको छ । युवा रोजगारीका लागि विदेश भौतारिरहेका छन् । सरकारी खर्च नियन्त्रण गर्नुपर्ने आवश्यकता झन् बढेको छ । यस्तो अवस्थामा राज्यकोषमाथि अनावश्यक भार थप्ने सुविधा संस्कृतिको अन्त्य गर्नु समयको माग बनेको छ । यदि वालेन्द्र नेतृत्वको सरकारले साहसिक सुधारको सुरुआत गर्न चाहन्छ भने पूर्वविशिष्ट व्यक्तिहरूका आजीवन सुविधा खारेज गर्ने निर्णय एउटा महŒवपूर्ण कदम हुन सक्छ । यसले राज्यको खर्च घटाउनेमात्र होइन, जनतामा सरकारप्रतिको विश्वास पनि बढाउने छ ।

मुलुकमा गणतन्त्र स्थापना भएको झण्डै दुई दशक पुग्न लागेको छ । जनताले राजतन्त्र हटाएर गणतन्त्र ल्याउनुको मुख्य उद्देश्य राज्यलाई जनमुखी बनाउने, सार्वजनिक स्रोतसाधनको न्यायपूर्ण वितरण गर्ने र शासक तथा नागरिकबीचको दूरी घटाउने थियो । तर गणतन्त्र आएपछि पनि राज्य सञ्चालनको शैलीमा अपेक्षित परिवर्तन आउन सकेको छैन । नाम फेरिए पनि व्यवहारमा पुरानै प्रवृत्ति कायम छ । अझ कतिपय अवस्थामा नयाँ राजनीतिक वर्गले पुरानो राजदरबारको स्थान लिएर राज्यको स्रोतसाधनमा विशेष अधिकार जमाएको देखिन्छ ।

यसको एउटा प्रमुख उदाहरण हो, पूर्वविशिष्ट व्यक्तिहरूलाई दिइने आजीवन सेवा सुविधा । नेपालमा पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वसभामुख, पूर्वप्रधानन्यायाधीश, पूर्वगृहमन्त्री, पूर्वप्रहरी महानिरीक्षक, पूर्वप्रधानसेनापति लगायतका व्यक्तिहरूले पदबाट हटिसकेपछि पनि विभिन्न प्रकारका सरकारी सुविधा पाइरहेका छन् । उनीहरूका लागि सरकारी गाडी, चालक, सुरक्षाकर्मी, सचिवालय, निवास मर्मत, इन्धन तथा अन्य सेवा सुविधामा राज्यको ठूलो रकम खर्च भइरहेको छ ।

Hardik health

१० वर्षे माओवादी विद्रोह अनि गत भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहपछि देश आर्थिक संकटसँग जुधिरहेको छ । लाखौं युवाहरू रोजगारीको खोजीमा विदेसिन बाध्य छन् । किसानले मल पाउन संघर्ष गरिरहेका छन् । अस्पतालमा बिरामीले सहज उपचार पाउन सकिरहेका छैनन् । शिक्षामा व्यापारीकरण बढिरहेको छ । तर राज्यको ढुकुटीबाट पूर्वविशिष्ट व्यक्तिहरूको सेवा सुविधामा करोडौं रुपैयाँ खर्च भइरहनु कति उचित हो भन्ने प्रश्न दिनप्रतिदिन चर्चा र बहसको विषय बन्दै गएको छ ।

लोकतन्त्रको मूल सिद्धान्त नै समानता हो । सार्वजनिक पदमा पुगेका व्यक्तिहरूलाई पदमा रहँदासम्म आवश्यक सुविधा दिनु स्वाभाविक हो । उनीहरूले राज्य सञ्चालनको जिम्मेवारी निर्वाह गरिरहेका हुन्छन् । सुरक्षा, यातायात, कार्यालय र कर्मचारीको आवश्यकता पनि हुन्छ । तर पदबाट हटिसकेपछि उनीहरू पुनः सामान्य नागरिकको हैसियतमा फर्किनुपर्छ । तर नेपालमा त्यस्तो देखिएको छैन । एक पटक पदमा पुगे पनि सधैं नै शक्तिमा रहिरहेको जस्तो देखिन्छ ।

अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, स्वीडेन, नर्वे, डेनमार्कजस्ता विकसित लोकतान्त्रिक मुलुकहरूमा अधिकांश पूर्वपदाधिकारीहरू आफ्नो व्यक्तिगत जीवनमा फर्किन्छन् । उनीहरूले आफूले कमाएको सम्पत्ति, पेन्सन वा व्यक्तिगत आम्दानीबाट जीवनयापन गर्छन् । राज्यको स्रोतसाधनमा अनन्तकालसम्म निर्भर रहँदैनन् । हामीले तिनै कुराहरुलाई सामाजिक सञ्जालमा प्रचार पनि गरिरहेका छौं तर आफ्नो देशमा पनि त्यसरी नै पद सकिएसँगै सुविधा पनि समाप्त गरौं भन्ने विषय कहिल्यै पनि उठाउँदैनौं ।

नेपालमा भने पद छोडेपछि पनि विशेष वर्गको हैसियत कायम रहन्छ । पूर्वप्रधानमन्त्री जीवनभर पूर्वप्रधानमन्त्री नै रहन्छन् । पूर्वराष्ट्रपति जीवनभर विशेष सुविधा प्राप्त नागरिकको सूचीमा रहन्छन् । कतिपय अवस्थामा उनीहरूको सुरक्षा र सेवा सुविधामा वर्तमान पदाधिकारीबराबरको खर्च भइरहेको हुन्छ । प्रश्न उठ्छ, यदि एउटा शिक्षक अवकाशपछि आफ्नो पेन्सनमा बाँच्नुपर्छ भने प्रधानमन्त्री किन राज्यको अतिरिक्त सुविधामा बाँच्नुपर्ने ? यदि किसानले आफ्नो जीवनभरको कमाइबाट वृद्धावस्था धान्नुपर्छ भने पूर्वमन्त्रीले किन जनताको करबाट सेवा सुविधा पाउनुपर्ने ?

राजतन्त्र हटाउनुको अर्थ एउटा विशेषाधिकार प्राप्त वर्गको अन्त्य गर्नु थियो । तर व्यवहारमा हेर्दा नेपालमा नयाँ अभिजात वर्ग जन्मिएको छ । फरक यतिमात्र हो कि उनीहरूको उपाधि राजा वा राणा होइन, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री वा पूर्वविशिष्ट व्यक्ति बनेको छ । गणतन्त्रमा कुनै पनि व्यक्ति राज्यभन्दा माथि हुँदैन । तर आज नेपालमा धेरै व्यक्तिले पद सकिएपछि पनि राज्यको निरन्तर सेवा सुविधा पाइरहेका छन् । यसले लोकतन्त्रको मर्ममाथि प्रश्न उठाउँछ ।

सर्वसाधारण नागरिकले कर तिर्छन् । जग्गा किनबेच गर्दा, घर बनाउँदा कर तिर्छन् । व्यवसाय गर्छन् घाटा होस् कि नाफा, कर तिर्नुपर्ने बाध्यता छ । तर त्यही करबाट केही व्यक्तिको विशेष जीवनशैली कायम राख्नु सामाजिक न्यायको सिद्धान्तसँग मेल पक्कै खाँदैन । पूर्वविशिष्ट व्यक्तिहरूका लागि खटाइने सुरक्षाकर्मी, गाडी, चालक, कार्यालय सहयोगी, इन्धन र अन्य सुविधा हेर्दा वार्षिक करोडौं रुपैयाँ खर्च हुने अनुमान गर्न सकिन्छ । यो रकम विद्यालय, स्वास्थ्य चौकी, कृषि अनुदान वा युवा रोजगार कार्यक्रममा प्रयोग गर्न सकिन्छ ।

एकजना पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा १० देखि २० जना सुरक्षाकर्मी खटिएको अवस्था पनि देखिन्छ । ती सुरक्षाकर्मीहरू सार्वजनिक सुरक्षामा खटिन सक्थे । प्रहरी र सेनाको जनशक्ति सीमित छ । तर ठूलो हिस्सा पूर्वपदाधिकारीको सुरक्षा व्यवस्थापनमा खर्च भइरहेको छ । जनताको सुरक्षाभन्दा पूर्वशासकहरूको सुरक्षामा राज्य बढी केन्द्रित हुनु लोकतान्त्रिक मूल्यसँग मेल खाने विषय हुँदै होइन ।

जेन-जी विद्रोहको भावना
पछिल्लो समय विश्वभर युवापुस्तामा राजनीतिक विशेषाधिकारविरुद्ध असन्तुष्टि बढ्दै गएको छ । नेपालमा पनि नयाँ पुस्ताले पुराना राजनीतिक संरचना र विशेष सुविधा संस्कृतिमाथि प्रश्न उठाइरहेको छ । जेन-जी पुस्ताले खोजेको राज्य भनेको अवसरको समानता भएको राज्य हो । जहाँ पद सकिएपछि सबै नागरिकबराबर हुन्छन् । जहाँ नेताको सन्तान र मजदुरको सन्तानले समान अवसर पाउँछन् । जहाँ राजनीति सम्पत्ति आर्जन र सुविधा भोगको माध्यम होइन, सार्वजनिक सेवाको माध्यम हुन्छ । त्यसैले पूर्वविशिष्ट व्यक्तिका आजीवन सुविधा खारेज गर्ने विषय केवल खर्च कटौतीको मुद्दामात्र होइन । यो समानता, उत्तरदायित्व र लोकतान्त्रिक संस्कृतिसँग जोडिएको विषय हो । आज नेपाली समाजले उठाइरहेको प्रश्न सरल छ, जब जनताले आफ्नो जीवन आफ्नै कमाइमा चलाउनुपर्छ भने पूर्वशासकहरूले किन जनताको करमा जीवनभर सेवा सुविधा पाउनुपर्छ ?

सुविधा संस्कृतिले राजनीतिलाई व्यवसाय बनायो
नेपालमा राजनीति गर्ने उद्देश्य जनसेवा हो भन्ने कुरा नेताहरूले भाषणमा बारम्बार दोहो¥याउने गर्छन् । तर व्यवहार हेर्दा राजनीति धेरैका लागि सेवाभन्दा पनि सुविधा प्राप्त गर्ने माध्यम बन्दै गएको देखिन्छ । एकपटक मन्त्री, सांसद, प्रधानमन्त्री वा अन्य विशिष्ट पदमा पुगेपछि व्यक्तिले प्राप्त गर्ने प्रत्यक्ष र अप्रत्यक्ष सुविधाको सूची निकै लामो हुन्छ । पदमा रहँदा त सुविधा पाउनु स्वाभाविक मानिएला, तर पदबाट हटिसकेपछि पनि राज्यले विशेष व्यवहार गरिरहनु भने लोकतान्त्रिक संस्कृतिको विपरीत हो ।

नेपालमा राजनीतिक दलहरूबीच विचार र सिद्धान्तको भन्दा पनि सत्ताको प्रतिस्पर्धा किन बढी हुन्छ भन्ने प्रश्नको उत्तर खोज्दा सुविधा संस्कृतिको प्रभाव स्पष्ट देखिन्छ । पदमा पुगेपछि प्राप्त हुने सुविधा, शक्ति र प्रभावका कारण राजनीति आकर्षक पेसाजस्तो बनेको छ । यदि पद सकिएपछि सबै सुविधा समाप्त हुने व्यवस्था हुने हो भने राजनीतिमा आउने व्यक्तिहरूको प्राथमिकता पनि बदलिन सक्छ । त्यसपछि राजनीतिमा सुविधा खोज्नेभन्दा सेवा गर्ने मानिसको आकर्षण बढ्न सक्छ ।

राजनीतिलाई व्यवसाय होइन, सेवाको क्षेत्र बनाउने हो भने पदपछि प्राप्त हुने विशेषाधिकारहरूको अन्त्य आवश्यक छ । नागरिकले नेता चुन्ने भनेको जीवनभर सुविधा खुवाउनका लागि होइन, निश्चित अवधिका लागि जिम्मेवारी दिनका लागि हो भन्ने कुरा अनुभूति गराउनु आवश्यक भइसकेको छ ।

वालेन्द्र नेतृत्वको सरकारले यसो गर्न सक्ला ? 
यदि कुनै नयाँ राजनीतिक शक्ति वा सुधारवादी सरकारले साँच्चिकै खर्च कटौती र सुशासनको अभियान अघि बढाउने हो भने पहिलो कदम पूर्वविशिष्ट व्यक्तिहरूका आजीवन सुविधा खारेज गरिनुपर्दछ । अहिले काठमाडौं महानगरको मेयर रहँदा गरेको कानुन कार्यान्वयन र विकास निर्माणको गतिका कारण वालेन्द्रलाई नागरिकले प्रधानमन्त्रीका रुपमा आसीन गराएका छन् । राजनीति सुरुआत गरेको चार वर्ष पनि नपुग्दै प्रधानमन्त्रीको पदमा पुग्नु पनि चानचुने कुरा भने होइन । त्यो सबै जनताको सद्भावले नै हो । त्यसो हो भने नागरिकहरुले व्यक्त गर्न नसकेको तर मनमा खट्किरहेको यी कुरा वालेन्द्र सरकारले गर्न सक्ला कि नसक्ला त ?

  • पदमा रहुञ्जेलमात्र सरकारी गाडी र चालक ।
  • पद सकिएपछि व्यक्तिगत सुरक्षाको वास्तविक जोखिम मूल्यांकन गरेरमात्र सुरक्षा व्यवस्था । 
  • आजीवन सचिवालयलगायत कुनै पनि सुविधा खारेज । 
  • सरकारी निवास वा निवासका लागि दिइने रकमको अन्त्य । 
  • इन्धन, कर्मचारी र अन्य सेवा सुविधा पूर्णरूपमा बन्द । 
  • सबै नागरिकलाई समान कानुनी हैसियत ।

यसबाट राज्यको ठूलो रकम बचतमात्र हुँदैन, जनतामा पनि सकारात्मक सन्देश जान्छ कि सार्वजनिक पद सेवा हो, विशेषाधिकार होइन । सरकारसँग भएको प्रत्येक रुपैयाँ अन्ततः जनताबाट उठाइएको कर हो । पसलमा सामान किन्दा तिरेको भ्याट, पेट्रोलमा तिरेको कर, बैंकिङ कारोबारमा तिरेको शुल्क, व्यवसायीले तिरेको आयकर, मजदुरले तिरेको अप्रत्यक्ष कर- यी सबै रकम मिलेर राज्यकोष बन्छ । त्यसैले राज्यकोषमा भएको पैसा कुनै नेता वा पदाधिकारीको निजी सम्पत्ति होइन । त्यो जनताको साझा सम्पत्ति हो ।

जब देशका लाखौं नागरिक आधारभूत सेवाबाट वञ्चित छन्, त्यतिबेला पूर्वविशिष्ट व्यक्तिहरूको गाडी, चालक, सुरक्षा र कर्मचारीमा ठूलो रकम खर्च गर्नु नैतिकरूपमा पनि उचित देखिँदैन । करदाताले आफ्नो पसिनाको कमाइ राज्यलाई विकास र सेवाका लागि दिएका हुन्, केही व्यक्तिको विशेष जीवनशैली धान्नका लागि होइन । राज्यले खर्च गरेको प्रत्येक रुपैयाँको औचित्य प्रमाणित गर्नुपर्छ । यदि कुनै खर्चले प्रत्यक्ष सार्वजनिक हित गर्दैन भने त्यसलाई पुनर्विचार गर्नुपर्छ । पूर्वपदाधिकारीका अनावश्यक सुविधा यस्तै खर्चभित्र पर्छन् ।

कतिपयले पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति वा पूर्वप्रधानसेनापतिलाई सुरक्षा आवश्यक हुन्छ भन्ने तर्क गर्छन् । यो तर्क पूर्णरूपमा अस्वीकार गर्न सकिँदैन । केही व्यक्तिहरूलाई पदमा रहँदा गरेका निर्णय वा सुरक्षा जोखिमका कारण निश्चित समयसम्म सुरक्षा आवश्यक पर्न सक्छ । तर सुरक्षा आवश्यकताको मूल्यांकन वस्तुगत हुनुपर्छ, पदको आधारमा होइन । जोखिम भए सुरक्षा दिइयोस्, जोखिम नभए सुरक्षा हटाइयोस् । संसारका धेरै देशमा यही अभ्यास छ ।

नेपालमा भने कहिलेकाहीँ दशकौंअघि पद छोडेका व्यक्तिहरूलेसमेत ठूलो सुरक्षा घेरा पाइरहेका हुन्छन् । सुरक्षा व्यवस्थापन वास्तविक जोखिमका आधारमा भन्दा प्रतिष्ठाको विषय बनेको देखिन्छ । यसले सुरक्षा निकायको स्रोतसाधनको दुरुपयोग गरिरहेको छ । यदि सुरक्षा दिनैपर्ने अवस्था छ भने स्वतन्त्र सुरक्षा मूल्यांकन समितिले समय-समयमा समीक्षा गरेर निर्णय गर्नुपर्छ । सुरक्षा अनन्तकालसम्म चल्ने व्यवस्था हुनु हुँदैन ।

असन्तुष्ट युवा पुस्ता
युवाहरूले देखिरहेका छन् कि देशमा रोजगारीको अभाव छ । शिक्षित युवाहरू विदेश जान बाध्य छन् । व्यवसाय गर्न कठिन छ । कृषि क्षेत्र संकटमा छ । स्वास्थ्य सेवा महँगो छ । तर अर्कोतर्फ केही सीमित व्यक्तिहरूले राज्यबाट निरन्तर सुविधा पाइरहेका छन् । यही कारणले राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि बढिरहेको छ । युवाहरू व्यवस्थाविरोधी होइनन्, तर व्यवस्थाभित्र रहेको असमानताविरोधी छन् । उनीहरू राज्यले सबै नागरिकलाई समान व्यवहार गरोस् भन्ने चाहन्छन् ।

यदि राज्यले समयमै यस्ता असमान सुविधा हटाउन सकेन भने नागरिक र राजनीतिक नेतृत्वबीचको विश्वासको दूरी झन् बढ्न सक्छ । यो विषय केवल कानुनी व्यवस्था परिवर्तनकोमात्र होइन, नैतिकताको पनि विषय हो । पूर्वविशिष्ट व्यक्तिहरू स्वयंले पनि उदाहरण प्रस्तुत गर्न सक्छन् ।

कुनै पूर्वप्रधानमन्त्रीले स्वेच्छाले सरकारी गाडी फिर्ता गरे, कुनै पूर्वमन्त्रीले अतिरिक्त सुरक्षा अस्वीकार गरे, कुनै पूर्वराष्ट्रपतिले सरकारी खर्च घटाउन आग्रह गरे भने त्यसले सकारात्मक सन्देश दिन्छ । वास्तविक नेतृत्व पदमा रहँदामात्र होइन, पद छोडेपछि पनि देखिन्छ । जनताको सम्मान पदले होइन, व्यवहारले प्राप्त हुन्छ ।

विश्वका धेरै प्रतिष्ठित नेताहरू पदबाट हटेपछि सामान्य नागरिकसरह जीवन बिताएका उदाहरण छन् । उनीहरू आफ्नो ज्ञान, अनुभव र योगदानका कारण सम्मानित छन्, राज्यको सुविधा प्राप्त गरेका कारण होइनन् । नेपालमा पनि त्यस्तो संस्कृतिको विकास आवश्यक छ । नेपालमा गणतन्त्र स्थापना भयो, संविधान बन्यो, संघीयता लागू भयो । तर गणतन्त्रको सफलता केवल संविधानको पुस्तकमा लेखिएका शब्दले मापन हुँदैन । त्यसको मापन राज्यले नागरिकलाई कति समान व्यवहार गर्छ भन्ने आधारमा हुन्छ ।

यदि गणतन्त्रमा पनि विशेषाधिकार प्राप्त वर्ग कायम रहन्छ भने जनताले परिवर्तनको अनुभूति गर्न सक्दैनन् । राजतन्त्रको अन्त्य गरेर नयाँ प्रकारको विशेषाधिकार जन्माउनु परिवर्तनको उद्देश्य थिएन । त्यही विशेषाधिकार जन्मियो भन्ने आशंका धेरैमा पैदा भयो अनि २०८२ साल भदौ २३ र २४ गते युवा पुस्ताको नेतृत्वमा जेन-जी विद्रोह भयो । जेन-जी विद्रोहको वास्तविक परीक्षा त्यतिबेला हुन्छ जब पूर्वराष्ट्रपति र सामान्य नागरिक कानुनको अगाडि समान हुन्छन्, जब पूर्वप्रधानमन्त्री र सर्वसाधारणले एउटै मापदण्डअनुसार राज्यका सेवा प्रयोग गर्छन्, र जब सार्वजनिक पदलाई सेवा मानिन्छ, विशेषाधिकार होइन ।

नेपालले आर्थिक अनुशासन, सुशासन र जनउत्तरदायी शासन प्रणालीतर्फ अगाडि बढ्न चाहन्छ भने पूर्वविशिष्ट व्यक्तिहरूलाई दिइने आजीवन सुविधा पुनरावलोकन गर्नैपर्छ । पदमा रहुञ्जेल आवश्यक सुविधा उपलब्ध गराउनु राज्यको दायित्व हो, तर पद सकिएपछि नागरिकसरह जीवन बिताउनु लोकतन्त्रको आधारभूत सिद्धान्त हो ।

आज देशले विकासका लागि स्रोत खोजिरहेको छ । युवा रोजगारीका लागि विदेश भौतारिरहेका छन् । सरकारी खर्च नियन्त्रण गर्नुपर्ने आवश्यकता झन् बढेको छ । यस्तो अवस्थामा राज्यकोषमाथि अनावश्यक भार थप्ने सुविधा संस्कृतिको अन्त्य गर्नु समयको माग बनेको छ । यदि वालेन्द्र नेतृत्वको सरकारले साहसिक सुधारको सुरुआत गर्न चाहन्छ भने पूर्वविशिष्ट व्यक्तिहरूका आजीवन सुविधा खारेज गर्ने निर्णय एउटा महŒवपूर्ण कदम हुन सक्छ । यसले राज्यको खर्च घटाउनेमात्र होइन, जनतामा सरकारप्रतिको विश्वास पनि बढाउने छ ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा पुस्तामा सकारात्मक सोचको खाँचो 
युवा पुस्तामा सकारात्मक सोचको खाँचो  शुक्रबार, असार २६, २०८३
पाली भाषाको प्राचीनता र व्यापकता
पाली भाषाको प्राचीनता र व्यापकता बिहीबार, असार २५, २०८३
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ मंगलबार, असार २३, २०८३
असारे विकासको परिपाटी बन्द गरौं
असारे विकासको परिपाटी बन्द गरौं मंगलबार, असार २३, २०८३
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या सोमबार, असार २२, २०८३
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव आइतबार, असार २१, २०८३
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP