राष्ट्रिय विपत्तिका बेला सबै राजनीतिक दल एकै ठाउँमा उभिएर एउटै संकल्पका साथ अघि बढ्नुपर्छ। संकटको समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर नागरिकको जीवन रक्षा, उद्दार र राहतलाई पहिलो प्राथमिकता दिनुपर्छ। हाम्रो संस्कार, परम्परा र राजनीतिक संस्कृतिले पनि यही सिकाउँछ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पछिल्लो समय यही भावनालाई जोड दिँदै राष्ट्रिय विपत्तिको समयमा सरकारलाई रचनात्मक सहयोग गर्नुपर्ने धारणा राखेका छन्। उनको भनाइमा सरकारको विरोध मात्र गर्नु प्रतिपक्षको धर्म होइन। सही कामलाई सही र गलतलाई गलत भन्न सक्ने र आवश्यक ठाउँमा सरकारलाई खबरदारी गर्दै सहयोग गर्ने प्रतिपक्ष आजको आवश्यकता हो।
भदौ १० गते बुधबार बिहान करिब ९ः१५ बजे आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ जिल्ला लगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। सयौँ मानिसको मृत्यु भएको, सयौँ बेपत्ता तथा घाइते भएको र धेरै मानिस अङ्गभङ्ग हुन पुगेको दुःखद अवस्था छ। बाढीले बैंक, शिक्षण संस्था, प्रहरी चौकी, सैनिक ब्यारेक, व्यापारिक प्रतिष्ठान, घर तथा भवनलगायतका भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ।
टिमुरे, त्रिशुली बजारलगायतका कतिपय बस्ती र बजार क्षेत्र बाढीका कारण तहसनहस भएका छन्। हिजो मानिसको चहलपहल हुने ठाउँ आज खोलाको बगरजस्तै बनेका छन्। यस्तो दृश्यले जो कोहीको मन विचलित बनाउँछ। यस्तो विषम परिस्थितिमा राज्यका सम्पूर्ण संयन्त्र उद्दार तथा राहतमा परिचालित छन्। नेपाल प्रहरी, नेपाली सेना तथा राज्य का अन्य निकायका आफ्नो ज्यानको समेत प्रवाह नगरी नागरिकको उद्दारमा खटिएका छन्।
उनीहरूको योगदान संकटको समयमा झनै महत्वपूर्ण देखिएको छ। देश शोकमा डुबेको बेला राजनीतिक दलहरूले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्ने हुन्छ। सरकार सञ्चालनमा रहेको संसद्को ठूलो राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक आयोजना गरेका थिए । बैठकमा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङ भने बैठकमा उपस्थित भएनन्।
उपस्थित अधिकांश दलले भने यस्तो कठिन अवस्थामा राजनीतिक संस्कार देखाउँदै राष्ट्रिय विपत्तिलाई साझा मुद्दाका रूपमा लिनुपर्ने धारणा राखेका छन्। यही बैठकबाट बाहिरिने क्रममा नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सरकारको उद्दार तथा राहत पहलको खुलेर प्रशंसा गरे। थापाको भनाइ अनुसार-“यस्तो विषम परिस्थितिमा सरकारले सबै राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक समाजलाई आफ्नै संरचना सम्झेर परिचालन गर्न सक्नुपर्छ।
राजनीतिक दलहरूले पनि आफ्नो पार्टीको संगठनलाई सरकारसँग समन्वय गरेर नागरिकको सेवामा लगाउनुपर्छ। सरकारलाई असफल बनाउनुभन्दा संकटमा परेका नागरिकलाई बचाउनु अहिलेको प्राथमिकता हुनुपर्ने उनको जोड छ। यही बीच नेपाली काङ्ग्रेसको आन्तरिक विवाद र १५औँ महाधिवेशनको विषय पनि चर्चामा छ। काङ्ग्रेस इतर पक्षले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटमा तीन सदस्यीय इजलासले तत्काल महाधिवेशन रोक्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। तर देश ठूलो विपत्तिबाट गुज्रिरहेका कारण यो राजनीतिक समाचारले अपेक्षित चर्चा पाउन सकेन।
गत वर्षको भदौमा भएको जेनजी आन्दोलनपछि नेपालको राजनीतिक वृत्तमा ठूलो परिवर्तन आएको छ। त्यसपछि पुराना राजनीतिक दलहरूभित्र नेतृत्व, संगठन र भविष्यको दिशाबारे बहस तीव्र भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गरेपछि अन्य राजनीतिक दलभित्र पनि नेतृत्व परिवर्तन र संगठन सुधारको आवाज अझ बलियो बनेको देखिन्छ। नेपाली काङ्ग्रेसमा विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा स्थापित भएको छ।
काङ्ग्रेसका ठूलो संख्याका नेता तथा कार्यकर्ता नयाँ नेतृत्वबाट आशावादी देखिन्छन्। तर पुरानो नेतृत्व पक्षबाट भने असन्तुष्टि अझै कायम छ। यही विवाद अहिले काङ्ग्रेसको सबैभन्दा ठूलो राजनीतिक चुनौती बनेको छ। काङ्ग्रेसको नेतृत्वसम्बन्धी विवादको अर्को महत्वपूर्ण पक्ष अदालतमा विचाराधीन विषय हो। सर्वोच्च अदालतले वैशाख ४ गते गगन थापा नेतृत्वको काङ्ग्रेसलाई आधिकारिकता दिएको फैसला गरेको थियो। त्यसपछि देउवा-खड्का पक्षबाट उक्त फैसलामाथि पुनरावलोकनको बाटो रोजिएको छ।
पछिल्लो पटक १५औँ महाधिवेशन रोक्न माग गर्दै परेको निवेदनमा पनि अदालतले अन्तरिम आदेश नदिएपछि गगन पक्षलाई महाधिवेशनको प्रक्रिया अघि बढाउने राजनीतिक आधार बलियो भएको देखिन्छ। तर कानुनी विवाद पूर्ण रूपमा समाप्त भइसकेको छैन। पुनरावलोकनको अन्तिम निर्णयले काङ्ग्रेसको भविष्यमा ठूलो प्रभाव पार्न सक्छ। यदि वैशाख ४ को फैसला कायम रह्यो भने गगन थापाको नेतृत्व थप मजबुत हुनेछ।
यदि फैसला उल्टियो भने काङ्ग्रेसको नेतृत्वसम्बन्धी सम्पूर्ण समीकरण फेरि बदलिन सक्छ। देउवा पक्षले शेरबहादुर देउवालाई सभापति मानेर महाधिवेशनमा जाने प्रस्ताव अघि सारेको चर्चा पनि छ। तर गगन पक्षले विशेष महाधिवेशनबाट विधिसम्मत रूपमा नेतृत्व परिवर्तन भइसकेको भन्दै पुरानो नेतृत्वलाई पुनः स्वीकार गर्न कठिन हुने बताउँदै आएको छ। यसबीच काङ्ग्रेसका पुराना र प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले गगन थापालाई कुनै हालतमा सभापति मान्न नसकिने धारणा राख्दै आएका छन्। पाँचौँ पटक प्रधानमन्त्री भइसकेका शक्तिशाली नेता शेरबहादुर देउवा भने पछिल्लो समय वर्तमान नेतृत्वप्रति केही लचिलो देखिएकाे चर्चा काङ्ग्रेसभित्र छ।
काङ्ग्रेसका नेता नैनसिंह महर भने दुवै पक्षलाई मिलाएर पार्टीलाई विभाजनबाट जोगाउने प्रयासमा देखिएका छन्। केही समयअघि उनकै पहलमा सुकेधारामा नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरूको भेला आयोजना गरी पार्टीको वर्तमान अवस्था, नेतृत्व र आगामी बाटोबारे सुझाव लिइएको थियो। महरको धारणा वर्तमान नेतृत्व को विरोध मात्र गरेर राजनीति सफल नहुने र सही कामलाई समर्थन तथा गलत कामलाई खबरदारी गर्नुपर्ने भन्ने छ। देउवा पक्ष समानान्तर महाधिवेशन गर्ने भनी कस्सिएका छ। बी.पी.पुत्र डा.सशांक कोइराला को अहिलेको भूमिका प्रति काङ्ग्रेस जन हरु निरास छन्, दुई पक्ष लाई मिलाउनु पर्ने मा आफैं गुट को नेता भएर पार्टी लाई आघात पुर्याउने काम गरिरहेका छन् भन्दै युवा व्यवसायी तथा नवलपरासीपूर्व का काङ्ग्रेस कार्यकर्ता शालिकराम पुरी आक्रोस व्यक्त गर्छन्।
काङ्ग्रेसभित्र डा. शेखर कोइरालाको भूमिकालाई लिएर पनि बहस भइरहेको छ। गगन थापाको नेतृत्वमा चुनाव लड्न टिकट लिएर जिल्ला आएका शेखर संग, नेता तथा कार्यकर्तामध्ये कतिपयले अहिले नेतृत्वको विरोध भइरहेकोप्रति प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा पनि यस्ता विषयमा टिप्पणी र आलोचना हुने गरेको छ। तर अहिलेको आवश्यकता आरोप-प्रत्यारोपभन्दा माथि उठेर पार्टीलाई एक ढिक्का बनाउनु हो। गगन थापाले पनि पुराना नेताहरूको योगदानलाई सम्मान गर्दै केही लचिलो भएर अघि बढ्नुपर्ने देखिन्छ। नेपाली काङ्ग्रेसको इतिहास लामो छ।
विभिन्न कालखण्डमा विभिन्न नेताले पार्टी निर्माण र लोकतान्त्रिक आन्दोलनमा आ-आफ्नो योगदान दिएका छन्। नयाँ नेतृत्वले पुरानाको योगदानलाई अस्वीकार गर्ने र पुरानो पुस्ताले नयाँ पुस्ताको नेतृत्व स्वीकार नगर्ने हो भने पार्टी कमजोर हुन्छ। राजनीतिमा पार्टी बनाउन धेरै समय लाग्छ, तर पार्टी फुटाउन धेरै समय लाग्दैन। चुनाव जिताउन कठिन हुन्छ, तर चुनाव हराउन कहिलेकाहीँ एउटा सानो असन्तुष्टि नै पर्याप्त हुन्छ। त्यसैले अहिले काङ्ग्रेसका नेताहरूले बुझ्नुपर्ने कुरा यही हो- बनाउन गाह्रो हुन्छ, भत्काउन सजिलो हुन्छ। गगन थापाप्रति जनस्तरमा रहेको विश्वासको आधार पनि बेवास्ता गर्न मिल्दैन।
स्वास्थ्य मन्त्री हुँदा उनले स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण सुधारका प्रयास गरेका थिए। विभिन्न रोग तथा अपाङ्गता भएका नागरिकलाई सहयोग पुग्ने कानुनी व्यवस्था गर्न उनले खेलेको भूमिकाको प्रशंसा पनि हुने गरेको छ। गगन थापा मन्त्री भएकाबेला गरेको निर्णयले लाभ लिएकी काठमाडौं गोठाटारकी बन्दना दाहाल कान नसुन्ने तथा श्रवण अपाङ्गता भएका व्यक्तिका लागि कक्लियर इम्प्लान्टमा सरकारले दिने अनुदानको व्यवस्था महत्वपूर्ण भएको बताए उनका अनुसार एक कानको कक्लियर इम्प्लान्टका लागि करिब ६ लाख ५० हजार रुपैयाँसम्म सहयोग पुग्ने व्यवस्था धेरै परिवारका लागि ठूलो राहत हो।
तर दुवै कानमा इम्प्लान्ट आवश्यक पर्ने मानिसका लागि पनि यस्तै सहयोगको व्यवस्था हुन सके आफूजस्ता प्रयोगकर्तालाई अझ ठूलो राहत हुने उनको अपेक्षा छ। राजनीतिक नेतृत्वको मूल्यांकन भाषणले मात्र हुँदैन। कठिन समयमा लिइने निर्णयले नेताको वास्तविक क्षमता देखाउँछ। अहिले देश प्राकृतिक विपत्तिबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा दलहरूबीचको विवाद केही समयका लागि भए पनि थाती राखेर उद्दार, राहत र पुनर्निर्माणमा हातेमालो गर्नु नै सबैभन्दा ठूलो राजनीतिक संस्कार हुनेछ। काङ्ग्रेसभित्रको नेतृत्व विवादको अन्तिम टुङ्गो अदालत र पार्टीको राजनीतिक प्रक्रियाले लगाउनेछ। अहिलेको अवस्थामा गगन थापा नेतृत्वको पक्ष बलियो देखिए पनि पुनरावलोकनको अन्तिम निर्णय निर्णायक बन्न सक्छ।
त्यसैले दुवै पक्षले जित-हारको मानसिकताभन्दा पार्टीको भविष्यलाई केन्द्रमा राख्नु आवश्यक छ। राष्ट्रिय विपत्तिले एउटा कुरा स्पष्ट पारेको छ- नागरिकलाई संकट पर्दा राजनीतिक झण्डा होइन, मानवीय भावना आवश्यक हुन्छ। सरकार, प्रतिपक्ष, राजनीतिक दल, निजी क्षेत्र, सुरक्षा निकाय र आम नागरिक सबै एउटै ठाउँमा उभिन सके मात्र ठूलो संकटको सामना गर्न सकिन्छ। गगन थापाले भनेझैँ, राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल एउटै संकल्पका साथ अघि बढ्नु नै हाम्रो संस्कार र परम्परा हो। अब यही संस्कारलाई व्यवहारमा उतार्ने बेला आएको छ। राजनीतिमा आज को जित्यो र को हार्यो भन्नेभन्दा ठूलो प्रश्न देशले संकटबाट कसरी मुक्ति पाउँछ भन्ने हो। पार्टी जोगाउनु आवश्यक छ, नेतृत्व जोगाउनु आवश्यक छ, तर त्योभन्दा पहिले देश र जनता जोगाउनु आवश्यक छ।