अबको चारै दिनमा फूलपाती भित्र्याउनु छ। दसैं आँगनमै आइसक्यो। तिहार आउँदै छ। त्यसपछि छठ पनि आउँछ। ओहो! चाडपर्वको मौसमले देशलाई छोपिसके छ। पहिले–पहिले भए घटस्थापनका दिनबाट नै रोटेपिङको लहर चल्थ्यो। तर अहिले त ग्यासको लाइनको रहर छ। जनताको अनुहारमा खुसीभन्दा चिन्ताको बादल बाक्लिएको छ। बजारमा महँगीको रावणले १० टाउको हल्लाइरहेको छ।
काँधमा खाली ग्यास सिलिण्डर बोकेर अनुहारमा दसैं मनाउन पाउने हो कि होइन भन्दै मट्याङ्ग्रो बिहानै सिफल चौरको ग्यासको लाइनमा उभिएको छ। लाइन लामो थियो, दुई घेरा नै बनाइएको थियो। किनकि सरकारले जुनसुकै सिलिण्डर लिएर आउनू भनेको छ नि त! त्यही भएर ग्यास पाइने सम्भावना बढिगो! सिफल चौरको पेटीमा महानगरले रोपेको कपुरको बोट पनि ठूलै भइसके छ। त्यही कपुरको बोटमा अडेश लगाएर मट्याङ्ग्रो फेसबुकमा त्यही ग्यासको लाइन हेर्दै थियो।
उसको पछाडि छिमेकी कृति पनि रहिछ। पछाडिबाट कृतिले सोधी, ‘मट्याङ्ग्रो दाइ, तपाईं पनि ग्यासको लाइनमा?’
मट्याङ्ग्रो कपुरको बोटमा अडेस लाग्न छाडेर सिलिण्डरमा बस्यो। ‘नानी, दसैंमा मासु पकाउनुपर्ला, खीर पकाउनुपर्ला। घरमा पाहुना आउलान्। तर ग्यासै छैन भने टीको थाप्न आउने पाहुनालाई के खुवाउने? सरकारको भाषण पकाएर खुवाउने कि विकासको प्रतिवेदन उसिनेर खुवाउने?’
उसको कुरा सुनेर सँगैको मान्छे हाँस्यो।
‘सरकारले अब ग्यास यसैगरी सहज गर्ने रे?’ अलि व्यंग्यात्मक शैलीमा कृतिले भनिन्।
मट्याङ्ग्रोले आँखा ठूलो पार्यो। ‘हो त सहजै छ। हरेक दिन ५० वटा सिलिण्डर दिन ५०० वटा लाइनमा हुन्छ। राम्रै हो, सरकारले गरेको छ।यत्तिको सरकार नेपालले अहिलेसम्म पाएकै छैन नि। ग्यास त प्रशस्तै छ,’ मोबाइल देखाउँदै, ‘यी यही मोबाइलमा भर्खरै सम्चार आको! तर कहाँ छ, कसको घरमा छ, कसको गोदाममा छ, कुन बाटो हुँदै आउँछ, त्योचाहिँ मलाई थाहा छैन।’
त्यत्तिकैमा बैरी आइपुग्यो। ‘ल म चाहिँ अलि ढिला भएछ। मट्याङ्ग्रोको बिहानैदेखि चौरमा तपस्या त होला?’
मट्याङ्ग्रोले भन्यो, ‘तपस्या होइन बैरी, ग्यास प्राप्तिका लागि जनताको योगशिविर हो। यहाँ बिहानैदेखि लाइनमा उभिएपछि शरीर पनि तन्किन्छ, धैर्य पनि तन्किन्छ। ग्यास पाइन्छ कि पाइँदैन, त्योचाहिँ भाग्यमा भर पर्छ।’
बैरीले भन्यो, ‘सरकारले त जनताका लागि धेरै काम गरिरहेको छ भन्ने कुरा सामाजिक सञ्जालभरि छ नि!’
‘छैन कसले भनेको छ त? तिम्रा भान्सामा ग्यास पुर्यादिएकै छ क्यार। यहाँ त रमिता हेर्न आका त हौला नि?’
मट्याङ्ग्रोको प्रश्न सुनेर महेश पनि थप्यो, ‘दाइ, बजारमा जानुभएको थियो? चामल, दाल, तेल, चिनी सबैको भाउ बढाको रैछ। पहिलेभन्दा झण्डै ५० प्रतिशत महँगो अरे। जे होस् ठूलो सरकारले ठूलै काम गरेछ।’
बैरी हाँस्यो। ‘बुझ्यौं महेश, महँगी पनि अब प्रजातान्त्रिक भएछ! धनीको घरमा पस्दा अनुमति माग्छ, गरिबको घरमा पस्दा ढोका नै फोड्छ। सरकारको खर्च बढ्न सक्छ, बजारको भाउ बढ्न सक्छ, तर जनताको भाउचाहिँ किन नबढेको होला?’
मट्याङ्ग्रोले भन्यो, ‘बढेको छ नि! त्यही भएर दिनभर ग्यासको लाइनमा बस्नु परेको देखेनौं?’
कृतिले थप्दै भनी, ‘अस्ति शनिबार मामाले दसैंमा नयाँ लुगा किन्ने बोलाउनुभएको थियो। बजार त गइयो, विचरा! मामाले बजारमात्र देखाउनुपर्ने अवस्था आयो।’
मट्याङ्ग्रोले भन्यो, ‘ठिकै गरेछन्, चुपचाप घण्टी छाप भन्दै मामाले मत फेरेका थिए। अहिले बजार पनि मन फेरिदिए छ। आउनुस्, हेर्नुस्, ‘हर्टअट्याक’ हुन्छ भने हेरेरै जानूस् भनेर।’
कृति हाँसी।
बैरीले व्यंग्य गर्दै भन्यो, ‘सरकारले जनतालाई राहत दिन बजार अनुगमन गरिरहेको छ रे!’
मट्याङ्ग्रोले तत्काल जवाफ दियो, ‘अनुगमन गर्ने टोली बजारमा जान्छ, व्यापारीले पसलको सामान देखाउँछन्, टोलीले कागज हेर्छ, फोटो खिच्छ र फर्किन्छ। अनुगमनकर्ताको फोटो पनि बढाउने हो, साँझ परेपछि खल्ती पनि।’
महेशले भन्यो, ‘त्यत्तिमात्र कहाँ होर भन्या, हिजो म बजारमा खाद्यान्न किन्न गएको दसैंको मौका छोपेर पुराना खाद्यसामग्री बेचिरहेको रहेछ। नक्कली लेबल लगाइएका सामग्री बजारमा देखिन्छन् गाँठे।’
मट्याङ्ग्रो भन्यो, ‘यही त हो असली दसैंको व्यापार! उपभोक्ताको खल्तीबाट पैसा निकाल्ने, घरमा पुरानो सामान पुर्याउने अनि नाफाको टीका लगाउने। उपभोक्ताले सामान किन्नुअघि मूल्य सोध्ने कि मिति हेर्ने, मिति हेर्ने कि नक्कली हो कि होइन भनेर अनुसन्धान गर्ने? चिन्ता छ हो चिन्ता।’
कृतिले सोधी, ‘त्यसो भए सरकारले के काम?’
‘सरकारले त फेसबुक, इन्स्ट्राग्राम, रिलमा भेटिहाल्छ नि ठ्वाक्कै।’ मट्याङ्ग्रो बोली हाल्यो।
यत्तिकैमा बैरीले अर्को प्रश्न तेस्र्यायो, ‘दसैंमा गाउँ जानेहरूको हालत झन् खराब छ। बाढीपहिरोले सडक बिगारेको छ। कतै पहिरोले बाटो छेकेको छ, कतै खोलाले सडक बगाएको छ। गाउँ जाने कि नजाने भन्ने चिन्ता छ।’
महेशले भन्यो, ‘गाउँ गए पनि फर्केर आएपछि ग्यास नपाइने हो कि भन्ने चिन्ता छ। त्यसैले मैले त पहिले ग्यासको जोहो गर्न खोजिरहेको।’
मट्याङ्ग्रोले सिलिण्डर समाउँदै भन्यो, ‘देशमा नागरिकले दुईवटा युद्ध लड्नुपर्ने भयो। एउटा गाउँ पुग्न सडकसँग युद्ध, अर्को घर फर्केर चुल्हो बाल्न बजारसँग युद्ध। सरकार भने दुवै युद्धमा जनताको जित भइरहेको छ भनेर घोषणा गर्छ!’
कृतिले भनी, ‘दाइ, पोहोर भदौमा जनताले यस्तै दुख, बेथिति र निराशा भएर परिवर्तन खोजेको होइनन् भन्या? अहिले फेरि उस्तै छ।’
मट्याङ्ग्रो केहीबेर चुप लाग्यो। अनि बिस्तारै भन्यो, ‘हो त परिवर्तन भएकै छ। प्रधानमन्त्रीदेखि मन्त्री सांसद जिएम, बिचौलिया सबै फेरिएका छन्। महँगीले हिजो रुखको टुप्पो छुन्थ्यो, अहिले बादल नै छोइसकेको छ। पुरानो शासनको शैली बदलियोस्, भ्रष्टाचार घटोस्, सुशासन आओस्, बजारमा राहत मिलोस् र जनताको आवाज सुनियोस् भनेर आशा पो गर्ने हो त! त्यही भएर पो आश्वासन भनेको त बुझ्यौं?’
बैरीले भन्यो, ‘त्यसो भए नयाँ र पुरानोमा के फरक रह्यो त?’
मट्याङ्ग्रो हाँस्दै भन्यो, ‘धेरै छ त! पहिले जनताले पुरानो सरकारसँग प्रश्न गर्थे, अहिले नयाँ सरकारसँग गर्छन्। पहिले आश्वासन पुरानो बोतलमा आउँथ्यो, अहिले नयाँ बोतलमा आउँछ। तर बोतल खोलेर हेर्दा भित्रको पानी उही हो कि भन्ने शंका जनतालाई हुन थालेको छ।’
महेशले भन्यो, ‘त्यसो भए हात्ती र हात्तीछाप चप्पल उस्तै भनेको यही हो?’
‘त्यही त! हात्ती ठूलो हुन्छ, चप्पल सानो हुन्छ। नाम र आकार फरक भए पनि जनताको पैतालाले कति राहत पायो भन्ने कुरा महत्त्वपूर्ण हो। सरकार ठूलो छ भन्दैमा जनताको दुःख सानो हुँदैन। नयाँ छ भन्दैमा काम राम्रो नै हुन्छ भन्ने पनि छैन। जनताले परिवर्तनको नाम होइन, परिणाम खोजेका हुन्।’
कृतिले फेरि सोधी, ‘त्यसो भए अब जनताले के गर्ने?’
मट्याङ्ग्रोले लामो सास फेर्दै भन्यो, ‘अब पाँच वर्ष मौन बस्ने। खेल खत्तम।’
त्यत्तिकैमा ग्यासको लाइनमा हलचल भयो। मानिसहरू अगाडि सर्न थाले। कसैले फेरि आज पनि नपाइने हल्ला फैलायो।
मट्याङ्ग्रोले सिलिण्डर उठायो। ‘ल, म त लाइनमै बस्छु। दसैं आइसक्यो घरमा चुल्हो बाल्नैपर्यो। सरकारको भाषण सुनेर पेट भरिँदैन, विकासको पोस्टर हेरेर भात पाक्दैन। बत्ती बेलाबेलामा झ्यापझ्याप हुन्छ।’
महेशले सोध्यो, ‘त्यसो भए अब सरकारलाई के उपहार दिने त?’
मट्याङ्ग्रोले एकछिन सोच्यो। ‘सरकारलाई जनताको खाली सिलिण्डर उपहार दिउँ। बजारबाट किनेर ल्याएको महँगो चामलको बिल, म्याद गुज्रिएको खाद्यसामग्रीको नमूना, अनि गाउँ जाने सडकको फोटो दिउँ। त्यसपछि एउटा चिठी लेखौं, ‘सरकारज्यू, तपाईंले देश चलाउनुभएको छ, तर जनताको चुल्हो चलिरहेको छ कि छैन, एकपटक हेर्नुहोस्।’
कृति, बैरी र महेश तीनै जना चुप लागे।
मट्याङ्ग्रो फेरि बोल्यो, ‘जनता सरकारसँग महल मागिरहेका छैनन्। सबैले गाडी मागेका छैनन्। सबैले विदेश घुम्ने सुविधा खोजेका छैनन्। जनताले दुई छाक खान पाऊन्, चाडपर्वमा परिवारसँग बस्न पाऊन्, बिरामी हुँदा औषधि किन्न सकून्, गाउँ जाँदा सुरक्षित सडक पाऊन् र बजारमा पैसा तिरेर गुणस्तरीय सामान पाऊन् भन्ने हो।’
जुन देशमा दसैं आउँदा जनताले खुसीभन्दा पहिले महँगी सम्झन्छन्, चुल्हो बाल्नुअघि ग्यासको लाइन सम्झन्छन् र घर जानुअघि सडकको डर मान्छन्, त्यहाँ सरकारले आफ्नो असफलतालाई असफलताका रुपमा सामाजिक सञ्जालमा भट्याउन लगाएर मात्र हुँदैन। भोको पेट जुर्मुरायो भने!
ग्यासको लाइन अझै लम्बिँदै थियो। घाम पनि चर्कँदै गइरहेको थियो। एकैछिनमा ह्वार्र पानी पर्यो। नागरिकहरु पानीमा रुझ्दै दसैंका लागि ग्यासको जोहो गर्दै थिए। तर सरकार चुपचाप।