नेपाल आफैंमा पर्याप्त प्राकृतिक स्रोत साधन र सम्भावना भएको मुलुक भएकोले विकासका लागि सरकारले गैरआवासीय नागरिकलाई स्पष्ट योजना बनाएर वातावरण दिन जरुरी छ। विदेशमा रहेका लाखौं गैरआवासीय नागरिक (एनआरएन) नेपालीबाट पर्याप्त स्रोत र सीप र प्रविधि भित्र्याउन सकिने आधार र सम्भावना रहेको छ।
यथार्थमा पछिल्लो समय उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहजकर्जा र स्पष्ट आर्थिक कार्ययोजना र पुराना नीति नियममा सुधारको खाँचो छ। पुराना राजनीतिक दल र तिनका जनप्रतिनिधिको सोचमा पनि व्यापक परिवर्तन आवश्यक छ। विश्वपरिवेश निकै अगाडि बढेकाले अब पुरानै राजनीतिक दलको सोच विचारले समाज र देश बदलिन सक्दैन भन्दा दुईमत हुँदैन। अहिलेको समाज धेरै अगाडि बढिसकेको छ, युवाहरूले विकसित देशका कथाहरू बुझिरहेका छन्। आफूहरू पनि नयाँ परिवेशअनुसार अगाडि बढ्न सक्षम भइसकेका छन्।
जसका कारण हाम्रा जनप्रतिनिधि पनि आफ्ना क्षेत्रको विकासका लागि स्पष्ट लक्ष्य, उद्देश्य र योजनासहित विकासका मोडेल खोज्न आवश्यक छ। देशका काठमाडौं, पोखरा, बुटवल, विराटनगर, धनगढी, धरान, भक्तपुर, ललितपुरका केही ठाउँ हेर्दा परिवर्तन भएको देखिन्छ। केही वर्ष अगाडिको विकास र अहिलेको विकास हेर्दा शिक्षा, स्वास्थ्य, पुराना सम्पदाको संरक्षण, सरसफाइ, कृषि, सडकजस्ता विकासका सवालमा धेरै छलाङ मारेको छ। तर यो पर्याप्त भने छैन। अझ पनि पुरातनवादी सोच, गुटगत राजनीति र व्यक्ति पूजाले गर्दा विकासले जुन गति लिनुपर्ने हो त्यति लिन सकेको छैन।
यो पटक काठमाडौंको दुईदिन बसाइँमा दुईवटा कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। २० जना महिला उद्यमी सहभागी ‘सिम्रिक इनिसिएटिभ लञ्च फर वुमन बाई वुमन’ र ‘इन्टरप्रिनर्स मिट–२०२६’ मा सहभागी हुने अवसर प्राप्त भयो। यी कार्यक्रममा सहभागीले राखेका विचार नेपालका सम्बन्धमा साह्रै महत्त्वपूर्ण थिए। पछिल्लो समय नेपालको सम्भावना पर्यटन, जलसम्पदा, कृषि र आइटी रहेकाले यिनै क्षेत्रलाई आधार मानेर योजना बनाउन जरुरी छ।
लगानी र सम्भावनाको खोजी, नयाँ प्रविधि, सफलता असफलताका कथा, कानुनी जटिलता, कृषिको सम्भावनाबारे धेरै महत्त्वपूर्ण बहस भएका थिए। जहाँ विकासका लागि बजेटभन्दा पनि स्पष्ट लगानीमैत्री वातावरण हुन सके पुँजीको अभाव नभएको आशालाग्दा कुरा सहभागीले बताएका थिए।
उद्यमशीलताको विकास, लगानी विस्तार र नेपालको आर्थिक रूपान्तरणका विषयमा केन्द्रित रहेर इन्टरप्रिनर्स क्लब ग्लोबलको आयोजनामा भएको ‘इन्टरप्रिनर्स मिट–२०२६’मा उद्यमी, बैंकिङ क्षेत्रका नेतृत्वकर्ता, व्यवस्थापनविज्ञ तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत नेपाली प्रतिनिधिहरूले नेपालको उद्यमशीलता र आर्थिक विकासका चुनौतीबारे स्पष्टरूपमा धारणा राखेका थिए।
कार्यक्रममा क्यालिफोर्नियाको हर्कुलिस सिटीका काउन्सिल मेम्बर तथा वेटिङ मेयर डिल्ली भट्टराईले नेपालमा विकास गर्न सकिने आधार र सम्भावना रहेको बताउँदै लगानीमैत्री सुरक्षित वातावरणको खाँचो रहेको बताए। उनले नेपालमा आर्थिक तथा व्यावसायिक क्षेत्रको विकासका लागि सरकारले नीतिगत घोषणामामात्र सीमित नभई व्यावहारिक र प्रभावकारी कदम चाल्नुपर्ने बताएका थिए। उद्यमी तथा व्यवसायीले सामना गरिरहेका समस्यालाई सम्बोधन गर्न सरकारी कार्यप्रणालीमा सुधार र कार्यान्वयनमा सक्रियता आवश्यक रहेको उनको धारणा थियो। आर्थिक विकासका लक्ष्य हासिल गर्न सरकारको प्रतिबद्धता व्यवहारमा देखिनुपर्नेमा उनले जोड दिए।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले उद्यमशीलता प्रवर्द्धनका लागि बैंकिङ प्रणाली र सरकारी नियामकीय व्यवस्था दुवै सहयोगी हुनुपर्ने बताए। उनका अनुसार बैंकहरूले कर्जा प्रवाह गर्दा जोखिम व्यवस्थापन, नियामकीय प्रावधान र वित्तीय अनुशासनलाई ध्यान दिनुपर्ने हुन्छ। तर, सरकारी प्रणाली तथा नीतिगत व्यवस्थाले बैंकहरूलाई योग्य ऋणी र सम्भावनायुक्त व्यवसायमा कर्जा प्रवाह गर्न थप सहज वातावरण प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। उद्यमीले आवश्यक वित्तीय स्रोत प्राप्त गर्न सकेमा नयाँ व्यवसाय स्थापना, निजी क्षेत्रको विस्तार र आर्थिक गतिविधिमा वृद्धि गर्न सहयोग पुग्ने विषय पनि कार्यक्रममा उठाइएको थियो।
डा. शम्भु पोखरेलले नेपालमा एक लाख उद्यमी निर्माण गर्ने लक्ष्य घोषणा गर्दै उद्यमशीलताको विस्तारलाई मुलुकको आर्थिक रूपान्तरणसँग जोड्नुपर्ने बताए। उनले उद्यमीको संख्या बढाउने, नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने र नेपाली उद्यमीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा पहल आवश्यक रहेको धारणा राखेका थिए।
नेपालमा रोजगारी सिर्जना, उत्पादन वृद्धि, नवप्रवर्तन र लगानी आकर्षित गर्न उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए। उद्यमशीलता विकासलाई व्यक्तिगत व्यवसाय स्थापनामामात्र सीमित नराखी राष्ट्रिय आर्थिक विकासको रणनीतिक आधार बनाउनुपर्ने उनको भनाइ थियो।
साखा ग्रुपका अध्यक्ष तथा नेपाल–अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष किरण साखाले नेपालमा व्यवसाय गर्ने वातावरणलाई थप व्यवस्थित, अनुमानयोग्य र लगानीमैत्री बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएका थिए। नीतिगत अनिश्चितता तथा व्यवसाय सञ्चालनका क्रममा आइपर्ने चुनौती कम गर्न सकेमा उद्यमीले दीर्घकालीन योजना बनाउन र लगानी विस्तार गर्न सहज हुने उनको भनाइ थियो।
युवा अनुसन्धानकर्ता डा. निराजन ढुंगानाले नेपालको आर्थिक विकासका कार्ययोजनाहरू थप विस्तृत विश्लेषणमा आधारित हुनुपर्ने बताए। आर्थिक लक्ष्य निर्धारण गर्नुमात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले ती लक्ष्य हासिल गर्ने आधार, कार्यान्वयनका चरण, आवश्यक स्रोतसाधन तथा अपेक्षित परिणामको स्पष्ट विश्लेषण आवश्यक रहेको धारणा राखे। तथ्य र अनुसन्धानमा आधारित योजना निर्माण तथा त्यसको प्रभावकारी कार्यान्वयनले आर्थिक नीतिलाई परिणाममुखी बनाउन सहयोग गर्ने विषय उठान गरेका थिए।
त्यस्तै क्यानडाका व्यवस्थापन परामर्शदाता डा. मित्र काफ्लेले पनि व्यवस्थापन, उद्यमशीलता र व्यावसायिक विकासका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। नेपालमा उद्यमशीलताको विकासका लागि सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, अनुसन्धानकर्ता र अन्तर्राष्ट्रिय सञ्जालबीच सहकार्य आवश्यक रहेको सन्देश कार्यक्रमबाट आएको थियो।
यस्ता कार्यक्रमले नेपालको व्यावसायिक वातावरण, वित्तीय पहुँच, नीतिगत सुधार र आर्थिक योजनाको कार्यान्वयनबारे निजी क्षेत्र तथा विज्ञहरूबीच छलफलको अवसर प्रदान गरेको छ। कार्यक्रममा उठेका विषयले नेपालमा नयाँ उद्यम स्थापना, लगानी विस्तार र रोजगारी सिर्जनाका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको देखिन्छ।
यसैगरी महिला उद्यमशीलता प्रवर्द्धन, व्यवसायमा लगानी विस्तार र वित्तीय पहुँच बढाउने उद्देश्यले आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले एक अर्ब रुपैयाँको ‘सिम्रिक इनिसिएटिभ’ कार्यक्रम सुरु गरेको छ। ‘महिलाका लागि, महिलाद्वारा’ भन्ने अवधारणामा आधारित यस पहलले सम्भावनायुक्त महिला उद्यममा लगानी, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको पुँजी तथा कर्जामा पहुँच विस्तार गर्ने आशा लिइएको छ।
सिम्रिक इनिसिएटिभले मुख्यतः तीन क्षेत्रमा काम गर्ने बताइएको छ। पहिलो, आध्यन्त एक्सेलेरेटर प्रोग्राममार्फत उद्यमीको क्षमता अभिवृद्धि र व्यवसाय विकासमा सहयोग गरिने छ। दोस्रो, उच्च वृद्धि सम्भावना भएका, महिलाद्वारा सञ्चालित तथा महिलालाई लक्षित वस्तु र सेवा प्रदान गर्ने व्यवसायमा एक अर्ब रुपैयाँको ‘सिम्रिक नारी फण्ड’मार्फत लगानी गरिने छ। तेस्रो, कर्जा आवश्यक पर्ने साना तथा मझौला उद्यमलाई बैंक तथा वित्तीय संस्थासँग जोडेर वित्तीय पहुँच विस्तार गर्न सहजीकरण गरिने छ।
यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महिला उद्यमशीलताको प्रवर्द्धनले उत्पादनशील अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्। धितोको अभावकै कारण महिलाका व्यावसायिक सम्भावना रोक्न नहुने उनको भनाइ थियो। उनले घरजग्गा खरी भवन निर्माणभन्दा उत्पादनशील क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताइन्। कृषि क्षेत्रका जटिलता हटाएर काम गर्ने सरकारको योजना रहेको पनि बताइन्। विकास निर्माणका लागि पुराना अमिल्दा नीति, नियम, ऐन कानुन ‘हायर एण्ड फायर’ नै गर्न आवश्यक रहेको पनि बताइन्। यसबाट पनि यो सरकारबाट केही नयाँ कामको आशा गर्न सकिन्छ।
हुन त नेपालको विकास मोडेल अब परिवर्तन गर्नै पर्छ। असहज ऐन नियम परिवर्तन वा सुधार गरेर तत्काल काम सक्ने परिपाटीको विकास गर्न आवश्यक छ। अब विकास निर्माणका काममा भिजनसहित मन पनि सफा गराएर व्यक्तिगत स्वार्थविना काम गर्न आवश्यक हुन्छ भन्ने नै हो। कुनै ठाउँको जनताको महत्त्वपूर्ण समस्या के छ बुझेर स्पष्ट योजनासहित काम गर्न आवश्यक छ।
आधुनिक प्रविधिसहित फार्मिङ गर्न लामो समय जग्गा लिजमा दिने वातावरण, शिक्षा क्षेत्रमा राम्रो दक्षता हासिल गरेकालाई नेपालमै केही गर्न चाहनेहरूका लागि काम दिने वातावरण, कृषि र रोजगारमूलक शिक्षा अनिवार्य गर्नु पनि आजको आवश्यकता बनेको छ। हामी नेपालीले कुरा र चरम राजनीतिकरणभन्दा पनि हाम्रो सोच र शक्ति देश विकासमा लगाउन आवश्यक छ।
अरू सामान्य काम त नियमित प्रक्रिया हो निरन्तर भइरहन्छ। आफ्नो कार्यकालमा जनताले अनुभूति गर्ने के काम गरियो त त्यो महत्त्वपूर्ण विषय हो। जनतालाई खानेपानी, शौचालयको समस्या छ तर पहिला कालोपत्रे सडकलाई बजेट विनियोजन गर्दा ठेकेदार र आसेपासेहरू त खुसी होलान्, जनता खुसी हुँदैनन् भन्ने भाव अब तीन तहका सरकार र योजनाविदले बुझ्न जरुरी छ।
विकास भनेको केही व्यक्तिका लाभका लागि मनगढन्ते उडैया पाराले गर्नु हुँदैन। सम्बद्ध क्षेत्रका जानकारहरूसँग बसेर, गहन छलफल गरेर, कुन सवालमा कसरी अगाडि बढ्ने भन्ने योजना आवश्यक हुन्छ। जनप्रतिनिधिहरू हरेक दिन आफ्नो भोट घट्यो कि बढ्यो होला भन्ने समीक्षा गरेर काम गर्नुपर्छ। तर व्यवहारमा धेरैको त्यस्तो कार्यशैली भेटिँदैन। विकास गर्ने हो भने अहिले बजेटको कमी छँदै छैन। बैंक तथा वित्तीय संस्थामा पनि प्रशस्त रकम थुप्रिएकोले स्पष्ट योजनाको खाँचो छ भन्दा फरक पर्दैन।
आधुनिक प्रविधिसहित फार्मिङ गर्न लामो समय जग्गा लिजमा दिने वातावरण, शिक्षा क्षेत्रमा राम्रो दक्षता हासिल गरेकालाई नेपालमै केही गर्न चाहनेहरूका लागि काम दिने वातावरण, कृषि र रोजगारमूलक शिक्षा अनिवार्य गर्नु पनि आजको आवश्यकता बनेको छ। हामी नेपालीले कुरा र चरम राजनीतिकरणभन्दा पनि हाम्रो सोच र शक्ति देश विकासमा लगाउन आवश्यक छ। यो समय नेपालका लागि राजनीति विकासका लागि र कुराभन्दा काम धेरै गुणा बढी गर्नपर्ने समय हो।
हामीसँग कृषि र पर्यटनका क्षेत्रमा विकासका प्रशस्त आधार र सम्भावनाहरू छन्। यहाँको हिमाल, पहाड, तराईको सुन्दरताले धेरै विदेशी पर्यटकलाई लोभ्याइरहेको पनि छ। नेपालभित्र पनि आशाका किरणहरू छन्। तसर्थ, गैरआवासीय नेपालीहरू (एनआरएन) नेपालमा केही गर्न चाहेकाले उनीहरूलाई नेपालमा लगानी गर्ने भरपर्दो आधार दिन सके अर्बौ अर्ब रकम विभिन्न क्षेत्रका लागि गैरआवासीय नेपालीबाट नै प्राप्त हुन सक्छ। सरकारले नेपाल फर्केर केही गर्न चाहेका गैरआवासीय नेपालीका लागि वातावरण दिन आवश्यक छ। यसो भएमा विदेसिन लालायित युवा शक्तिलाई पनि बिस्तारै स्वदेशमै अड्याउन सकिन्छ।