विजया दशमी (बडादसैं) आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मान्ने नेपाली समाजको सबैभन्दा ठूलो पर्व हो । यो पर्व परम्पराकालदेखि सामाजिक, धार्मिक तथा सांस्कृतिक चाडको रुपमा मनाउँदै आएको पाइन्छ । ‘दसैं आयो, खाउँला पिउँला’ भन्ने जनजिब्रोमा झुण्डिएको लोकोक्तिले यो पर्वलाइ मिठो, मसिनो खाने, राम्रो लगाउने पर्वका रुपमा पनि लिने गरिन्छ । दसैंमा टाढा–टाढा गएर बसेका परिवारजन, आफन्त, इष्टमित्र तथा मान्यजनहरुसँग टीका लगाई आशीर्वाद ग्रहण गर्नका लागि घर फर्किएर आउने र रमाइलोसँग दसैं मान्ने चलन छ ।
बडादसैंको पौराणिक कथनहरु छन् । देवताहरुको समयमा शुम्भ, निशुम्भ, रक्तवीज र महिषासुरजस्ता असुरहरुले देव मानवलाई दुःख दिएपछि उनीहरुले शक्तिरुपी दुर्गा भवानीको पूजा आरधाना गरे । उनीहरुको पूजा आराधनाबाट प्रसन्न भई दुर्गा भवानी प्रकट भएर ती असुरहरुको बध गरी देवताहरुलाई असत्य र अत्याचारबाट संरक्षण गरेकोले दुर्गा भवानीको पूजाआराधना गरी खुसियाली मनाउने संस्कृतिको विकाससँगै बडादसैं मनाउने चलन आएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
यसैगरीे भगवान् रामचन्द्रले रावणमाथि विजय गरेको पौराणिक कथासँग पनि दशमी जोडिएको छ । भगवान् रामचन्द्रले रावणको अत्याचारलाई पराजय गर्नका लागि शक्तिरुपी दुर्गामाताकोे पूजा आराधना गरेकोले दुर्गा भवानीको कृपाले दशमी तिथिमा रावणमाथि विजय प्राप्त गरेकोले धुमधामसँग खुसियाली मनाएको घटनासँग पनि बडादसैंको कथन जोडिएको छ । यसरी हेर्दा बडादसैं असत्य, अत्याचार र कुकर्मकाविरुद्घमा सत्यको जितसँग जोडिएको महत्वपूर्ण पर्व हो ।
बडादसैंको धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक पाटाहरुले आ–आफ्नै अर्थ राख्दछन् । यस पर्वमा दुर्गा भवानीकोे विशेषरुपमा पूजाआजा, प्रार्थना, आरधाना तथा उपसना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म प्रत्येक दिन दुर्गा भवानीका नौवटा रुप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कस्माण्डा, स्कन्दमाता, कत्यायनी, कालरात्री, महागौरी र सिद्घिदातृको पूजा आराधना गरिन्छ । र, दशमीका दिन मान्यजनबाट टीकाजमरा ग्रहण गरी आशीर्वाद माग्ने चलन छ ।
दसैं पर्वलाई अन्यायमाथि न्यायको, दानवतामाथि देवताको, अमानवतामाथि मानवताको, अधर्ममाथि धर्मको, विभाजनमाथि एकताको, सत्रुमाथि मित्रताको, निराशमाथि आशाको र बिछोडपछि मिलनको पर्वको रुपमा मानिँदै आएको छ । बडादसैंका यति सुन्दर पक्षहरु हुँदाहुँदै पनि यो चाड अत्यन्तै भड्किलो, खर्चिलो तथा महँगो बन्दै गएको अवस्था छ । विशेष गरेर दसैंको बेलामा हरेक सामानहरुमा महँगी बढाउने गरेका समाचारहरु आउने गरेका छन् । दसैंको अवसरलाई आयआर्जनको माध्यम बनाउने देशका व्यापारी, साहु, महाजनहरुले कालोबजारी, तस्करी गर्ने गरेको जनगुनासो आउने गरेको छ ।
‘आयो दसैं ढोल बजाइ, गयो दसैं ऋण बोकाइ’ भन्ने लोकोक्तिले दसैं खर्चिलो भएको कुरा पुष्टि गर्दछ । राम्रो लगाउने, मीठो खाने रहर सबैलाई हुनु स्वाभाविक हो । तथापि, दसैंलाई आफ्नो गच्छेअनुसार मनाउनुपर्छ । अरूको देखासिखी गर्ने संस्कृति मौलाएको पाइन्छ । ऋण खोजेर भए पनि खसी किन्नुपर्ने, राम्रो लगाउनुपर्ने, मीठो मसिनो खानुपर्ने सामाजिक मनोविज्ञानले जरा गाडेको छ । यसर्थ दसैं खर्चिलो बन्दै गएको अवस्था छ । दसैंलाई पारिवारिक, मिलन, सामाजिक सद्भाव र दुर्गा भवानीको पूजा आराधना गरी मनाउने सरल पर्वको रुपमा मान्नुपर्छ । मितव्ययी बनाउनुपर्छ ।
समाज परिवर्तनशील हुने भएकोले समाजमा स्थापित मूल्य र मान्यताहरुमा पनि परिवर्तन आउँछ । यही परिवर्तनको छालले दसैं मनाउने प्रकृति र प्रवृत्तिमा पनि काफी बदलाब आएको छ । दसैं भड्किलो, महँगो, असुरक्षित, पेयपदार्थमय हुँदै गएको छ । यस सन्दर्भमा दसैंको सांस्कृतिक तथा धार्मिक मूल्य र मान्यताहरुभन्दा बाहिरबाट आधुनिकताका नाममा आउने चलनहरु विकृति हुन् ।
मुलुक गरिबी, अभाव, पछौटेपन, बेरोजगारी, महँगीजस्ता समस्याहरुबाट गुज्रिरहेको अवस्था छ । आर्थिक अभावकै कारण लाखौंको संख्यामा युवापुस्ता अन्तर्राष्ट्रिय श्रमबजारमा काम गर्न बाध्य भएको अवस्था छ । मुलुकमा सामान्य जीवन बिताउन आवश्यक पर्ने खाद्यान्न, कपडा, औषधिमुलो अत्यन्त महँगो छ । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका क्षेत्रहरु महँगा छन् । यस्तो सामाजिक तथा आर्थिक अवस्थाबाट गुज्रिरहेको हाम्रोजस्तो समाजमा दसैं–तिहारजस्ता चाडहरुमा अनावश्यक खर्च गर्ने बानीको अन्त्य गर्नुपर्छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेका पर्वहरुलाई खर्चिलो, भड्किलो तथा देखासिखीको आधारमा मनाउनु हुँदैन । दसैं आपूmसक्दो खर्चगरी सामान्य तरिकाले मनाआंै । पर्वहरुलाई तडकभडकको पर्व नबनाऔं । घाँटी हेरेर हाड निल्नु भनेझैं आफ्नो औकातले भ्याउनेगरी मनाऔं । मितव्ययी बनौं ।
दसैं पर्वको अर्को महत्त्वपूर्ण धार्मिक पक्ष पशुबलि प्रथा हो । देशका हिन्दू शक्तिपीठहरुमा हजारौंको संख्यामा पशुपन्छीहरुलाई बलि दिने प्रथा परम्परादेखि चल्दै आएको पाइन्छ । त्यसो त अहिले पशुबलि दिने चलनका बारेमा आलोचनात्मक टीकाटिपपणीहरु हुने गरेका छन् । पशुबलिको अन्त्य गर्नुपर्ने कुरा पशु अधिकारकर्मीलगायत शाकाहारी अभियन्ताहरुको रहेको पाइन्छ । दसैंलाई मासुको पर्व पनि भन्ने गरिन्छ । प्रायःजसो घरमा खसी बध गरी मासु खाने चलन दिन प्रतिदिन बढ्दै गएको पाइन्छ ।
पशुबलिको आवश्यकता वा रहर यो विषय धार्मिक तथा सामाजिक बहस बनेको छ । वास्तवमा पशुबलिभन्दा पनि समाजमा रहेको भड्किलोपन, आडम्बर, लोभ, लालच, इर्ष्या, भ्रष्टाचार, अहम्ता, दुर्भावना, हत्या, हिंसा, बलात्कारजस्ता आपराधिक चिन्तनहरुको बलि दिनु आजको आवश्यकता हो ।
हाम्रो देश बहुभाषाभाषी, धर्म, संस्कार, संस्कृति तथा चाडबाडहरुको धनी मुलुक हो । समाजमा रहेका हरेक जातजाति, धर्म तथा सम्प्रदायका आ–आफ्नै पर्वहरु छन् । परन्तु बडादसैं हरेक सम्प्रदायका मानिसहरुले मनाउने पर्व हो । त्यसो त दसैंलाई मनाउने आ–आफ्नै तरिका छन् । तथापि, बडादसैंले राष्ट्रव्यापीरुपमा खुसियालीको वातावरण सिर्जना गरेको पाइन्छ । समाज परिवर्तनशील हुने भएकोले समाजमा स्थापित मूल्य र मान्यताहरुमा पनि परिवर्तन आउँछ । यही परिवर्तनको छालले दसैं मनाउने प्रकृति र प्रवृत्तिमा पनि काफी बदलाब आएको छ । दसैं भड्किलो, महँगो, असुरक्षित, पेयपदार्थमय हुँदै गएको छ । यस सन्दर्भमा दसैंको सांस्कृतिक तथा धार्मिक मूल्य र मान्यताहरुभन्दा बाहिरबाट आधुनिकताका नाममा आउने चलनहरु विकृति हुन् ।
विजया दशमीलाई असत्यको बाटो त्यागी सत्यको मार्गमा लाग्ने पे्ररणाको रुपमा लिन सक्नुपर्छ । देवताको युगमा देवताहरुले र त्रेता युगमा भगवान् रामचन्द्रले शक्तिरुपी दुर्गा भवानीको पूजा, आराधना तथा उपासना गरी उनको कृपाले असत्यमाथि सत्यको विजय प्राप्त गरेजस्तै नवदुर्गा भवानीको पूजा आराधना गरी व्यक्ति, व्यक्तित्व तथा समाजमा रहेका विकृति तथा दुष्कर्महरुको अन्त्य गर्न आशीर्वाद लिनुपर्छ ।
देश अहिले दसैंमय भएको छ । टाढा–टाढाबाट आफ्ना आफन्तजनहरु दसैं मनाउनका लागि घरघरमा फर्कनेक्रम जारी छ । दसैंमा सबै परिवार सँगै बस्ने, मीठो, मसिनो खाने, खुसियालीकासाथ मान्यजनबाट टीका जमरा लगाई आशीर्वाद लिने चलन छ । यसरी हेर्दा दसैं एउटा पारिवारिक मिलन, सामाजिक सद्भाव र साथीभाइको पुनर्मिलनको पर्वको रुपमा पनि लिइन्छ ।
दसैं पर्वले परिवारजन, साथीभाइ, इष्टमित्र, आफन्तजनलाई भेटघाट गराउने अवसर प्रदान गरेको छ । आजभोलि दसैंमा खुसियाली मनाउने नाममा मादकपदार्थको सेवन गर्ने, अनावश्यक खर्च गर्ने र आवेशमा मारपिट गर्नेजस्ता घटनाहरु पनि घट्ने गर्छन् । मेला पर्वको नाममा अत्यधिक मादकपदार्थको सेवन गर्ने, जुवातास खेल्ने तथा झैझगडा गर्नेेजस्ता विकृतिहरु बढ्दै गएको पाइन्छ । पर्व मनाउने आधुनिक तरिकाको नाममा आएका यस्ता विकृतिहरु बढ्नु सांस्कृतिक विचलन हो ।
अन्त्यमा दसैं असत्य र कुकृत्यमाथि सत्य र सत्कर्मको विजयका रुपमा मनाउने पर्व हो । यसर्थ विजया दशमीलाई असत्यको बाटो त्यागी सत्यको मार्गमा लाग्ने पे्ररणाको रुपमा लिन सक्नुपर्छ । देवताको युगमा देवताहरुले र त्रेता युगमा भगवान् रामचन्द्रले शक्तिरुपी दुर्गा भवानीको पूजा, आराधना तथा उपासना गरी उनको कृपाले असत्यमाथि सत्यको विजय प्राप्त गरेजस्तै नवदुर्गा भवानीको पूजा आराधना गरी व्यक्ति, व्यक्तित्व तथा समाजमा रहेका विकृति तथा दुष्कर्महरुको अन्त्य गर्न आशीर्वाद लिनुपर्छ ।
हामी सबैलाई दुर्गा भवानीले सत्मार्गमा हिँड्नसक्ने क्षमता र सद्बुद्धि प्रदान गरुन् । नेपाली समाज विभिन्न जात, जाति धर्म, वर्ग, क्षेत्र तथा राजनीतिक दलहरुमा विभाजित भएको अवस्था छ । दुर्गा भवानीले अनेकतामा एकता र विविधता मित्रता बढाउने आशीर्वाद प्रदान गरुन् । हरेक नागरिकका लागि मातृभूमि कुनै पनि राजनीतिक दल वा मतदानका चिह्नभन्दा धेरै माथि हुन्छ । देश हामी सबैको पहिचान हो । सान, मान र गौरव हो भन्ने चेतनाको विकास हुन सकोस् । राज्य सत्यको बाटोमा हिँड्ने आशीर्वाद मिलोस् ।