काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू)को इन्जिनियरिङ स्कुलको डिनमा प्रा.डा. बालकृष्ण बल नियुक्त भएका छन्।
बललाई शुक्रबार इञ्जिनियर स्कुलको डिनमा नियुक्त गरेको विश्वविद्यालय प्रशासनले जानकारी दिएको छ।
यसअघि बल सोही इञ्जिनियरिङ स्कुलमा सहायक डिनको जिम्मेवारीमा थिए। कम्प्युटर विज्ञान तथा इञ्जिनियरिङका विज्ञ प्रा.डा. बलले सोही विश्वविद्यालयबाट कम्प्युटर विज्ञान तथा इञ्जिनियरिङमा विद्यावारिधि उपाधि हासिल गरेका हुन्।
सन् २००९ देखि केयूमा सहायक प्राध्यापकका रूपमा अध्यापन तथा अनुसन्धान यात्रा सुरु गरेका बल अनुसन्धानको क्षेत्रमासमेत सक्रिय छन्।
प्रा.डा. बल सन् २०१५ देखि २०१६ सम्म अमेरिकाको टेक्सासस्थित ह्युस्टन विश्वविद्यालयमा अनुसन्धान वैज्ञानिकका रूपमासमेत कार्यरत थिए। अन्तर्राष्ट्रिय अनुसन्धानको अनुभवसमेत हासिल गरेका उनी सन् २०२४ देखि काठमाडौं विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत छन्।
भोजपुर स्थायी घर भएका प्रा.डा. बलले आफ्नो विद्यालय तहको शिक्षा पोखरास्थित गण्डकी बोर्डिङ स्कुलबाट पूरा गरेका हुन्। उनले सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए।
विश्वविद्यालयमा लामो समयदेखि अध्यापन, अनुसन्धान र प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएका प्रा.डा. बलको नेतृत्वमा काठमाडौं विश्वविद्यालयको इञ्जिनियरिङ स्कुलले शैक्षिक तथा अनुसन्धानका क्षेत्रमा थप उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको विश्वविद्यालय प्रशासनको भनाइ छ।