काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार भारतको राजकीय भ्रमणमा जाने भएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय भ्रमण गर्न लागेका हुान्।
परराष्ट्र मन्त्रालयका अनुसार उनकाे नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ। प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुने छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने छन् भने प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन्। प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री एस जयशङ्करले पनि शिष्टाचार भेट गर्ने छन्।
सांस्कृतिक निकटता तथा जनस्तरको घनिष्ठ सम्बन्धमा आधारित नेपाल र भारतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री शाहको भ्रमणबाट अझ सुदृढ हुने अपेक्षा गरिएको छ। त्यस क्रममा दुई देशबीचको बहुआयामिक सहकार्यको समीक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्यलाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्री शाह मङ्सिर ७ गते स्वदेश फर्कने कार्यक्रम छ।