- मलेसिया जाने श्रमिकमाथि ठगी गरेको यो प्रकरणमा सभामुख डोलप्रसाद अर्याल र पूर्वन्त्री शरतसिंह भण्डारीसमेत तानिने चर्चा छ। अर्याल श्रमसचिव हुँदा श्रम मन्त्रालयमा अहिलेका सभामुख अर्याल र पूर्वमन्त्री भण्डारी पनि श्रममन्त्री बनेका थिए
- स्वास्थ्य परीक्षणको नाममा भएको बदमासीबारे अनुसन्धान गर्न सुशीला कार्की नेतृत्वको सरकारका श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले कार्यदल गठन गरेका थिए। उक्त कार्यदलले बुझाएको प्रतिवेदन नयाँ सरकार बनेपछि खोजी गर्दा मन्त्रालयबाट गायब पारिएको थियो
- पूर्वमुख्यसचिव एकनारायण अर्याल भने पक्राउको सूँइको पाएर विदेश फरार
काठमाडौं- नेपाल र मलेसियाबचि भएको श्रम सम्झौताविपरीत रकम असुली गरेको आरोपमा पक्राउको सूचीमा रहेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई प्रहरीले फरारको सूचीमा राखेको छ। मलेसिया जाने श्रमिकलाई मेडिकल व्यवसायीसँग मिलेर ठगी गरेको अभियोममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले अर्याललाई पक्राउको तयारी गरेको थियो।
सीआइबीले पक्राउ गर्ने सूचना चुहिएपछि अर्याल बुधबार नै दिल्ली उडेको प्रहरीको दाबी छ। अर्याल स्थलमार्ग हुँदै त्यसतर्फ लागेको बताइएको छ। सीआइबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले अर्यालले अर्याल भारततर्फ लागेको पुष्टि गरे। ‘हाम्रो टोलीले खोजी गर्दा उहाँ भागेर देशबाहिर जानुभएको भन्ने सूचना पाएका छौँ,’ प्रवक्ता जबराले भने।
बुधबार सिआइबीले पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर रायसहित ६ जनालाई पक्राउ गरेको थियो। अर्याल भने श्रम मन्त्रालयबाट सूचना चुहिएका कारण दिल्ली उडेको प्रहरीको दाबी छ। सीआइबीले श्रम मन्त्तालयसँग मलेसिया प्रकरणको कागजात मगाएको थियो। अर्याल श्रम मन्त्रालयको सचिव हुँदा मलेसिया जाने श्रमिकसँग सम्झदौताका दायरा नाघेर एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँ अपचलन गरेको अभियोग उनीहरुमाथि लगाइएको छ।
सोही आरोपमा अर्का पूर्वश्रमसचिव विनोद केसी भने पक्राउ परिसकेका छन्। मन्त्रालयका तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ। सीआईबीले यसअघि स्वास्थ्य व्यवसायी कैलाश खड्कासहित चार जनालाई गत असोज २९ गते पक्राउ गरेको थियो। उनीहरुले मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न २९ वटा मेडिकलले सिन्डिकेट खडा गरेका थिए। मलेसिया रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्दा निर्धारित शुल्कभन्दा एक सय रिंगिट (करिब तीन हजार ६ सय रुपैयाँ) बढी लिएको आरोपपत्रमा उल्लेख छ।
नेपाल सरकारले नै गैरकानुनी भनेको रकम उठाउन र मलेसिया पठाउन सहजीकरण गरेको आरोपमा तत्कालीन मन्त्री, सचिव र अन्य कर्मचारी पनि अनुसन्धानमा तानिएका हुन्। तत्कालीन श्रमसचिव अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए। त्यसअघि उनी गृहसचिवका रुपमा कार्यरत थिए। गृहसचिव हुँदै मुख्यसचिव बनेका अर्याल १५ महिनापछि २०८२ मंसिरमा उमेरहदका कारण अनिवार्य अवकास भएका थिए।
सभामुख अर्याल र थप पूर्वमन्त्री पनि तानिन सक्ने
मलेसिया जाने श्रमिकमाथि ठगी गरेको यो प्रकरणमा सभामुख डोलप्रसाद अर्याल र पूर्वन्त्री शरतसिंह भण्डारीसमेत तानिने चर्चा छ। अर्याल श्रमसचिव हुँदा श्रम मन्त्रालयमा अहिलेका सभामुख अर्याल र पूर्वमन्त्री भण्डारी पनि श्रममन्त्री बनेका थिए।
अर्याल श्रम मन्त्रालयमा सचिव रहँदा किसान श्रेष्ठसमेत श्रममन्त्री बनेका थिए। २०७८ मंसिरमा श्रम सचिवका रुपमा सामान्य प्रशासनबाट सरुवा भएका अर्याल २०८० जेठ २९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए। यो प्रकरणमा अन्य मन्त्री र कर्मचारीहरू पनि तानिने सम्भावना रहेको सीआईबी स्रोत बताउँछ । तत्कालिन श्रम सचिव कृष्णहरी पुस्करको नामसमेत यो प्रकरणमा जोडिएको बताइएको छ।
स्वास्थ्य परीक्षणको नाममा भएको बदमासीबारे अनुसन्धान गर्न सुशीला कार्की नेतृत्वको सरकारका श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले कार्यदल गठन गरेका थिए। मन्त्रालयका उपसचिव लवराज जोशीको संयोजकत्वमा बनेको कार्यदलले २०८२ फागुन ५ मा ठगीमा संलग्न संस्था, ती संस्थाका अधिकारीहरू लगायतको विस्तृत विवरणसहितको प्रतिवेदन मन्त्री भण्डारीलाई बुझाएको थियो।
नयाँ सरकार बनेसँगै उक्त प्रतिवेदन र त्यससँग सम्बन्धित कागजपत्रहरू मन्त्रालयमा खोज्दा फेला नपरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले यसबारे थप छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मेवारी दिइएको थियो। यसरी असुलिएको पैसा बैंकिङ प्रणालीमार्फत नै पठाउन सघाएर विदेशी मुद्रा सञ्चितिमा पनि नोक्सान हुने काम गरेको प्रहरीले जनाएको छ । गायब प्रतिवेदनमा काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका ३६ वटा मेडिकल सेन्टर, हेल्थ केयर तथा डायग्नोस्टिक सेन्टर अनुसन्धानको दायरामा रहेका छन्। सूचीमा काठमाडौं महानगरपालिकाका विभिन्न वडा, टोखा नगरपालिका तथा ललितपुर महानगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरू छन्।
सार्वजनिक सूचीमा कैलाश खड्काको नाम अनमोल मेडिकल सेन्टर, प्रशान्ती हेल्थ केयर, डाइनेस्टी मेडिकल सेन्टर र हिमालयन डायग्नोस्टिक क्लिनिक गरी चारवटा संस्थासँग जोडिएको छ। त्यस्तै, अन्य केही व्यक्तिको नाम पनि एकभन्दा बढी स्वास्थ्य संस्थाको विवरणमा समावेश छ।
सूचीअनुसार सिनामंगल क्षेत्रमा मात्रै अनमोल मेडिकल सेन्टर, फ्युजन मेडिकल सेन्टर, प्रशान्ती हेल्थ केयर र ए क्वालिटी हेल्थ केयर डायग्नोस्टिक सेन्टरलगायत संस्था रहेका छन्।
त्यस्तै, कोटेश्वर क्षेत्रमा हिमालयन डायग्नोस्टिक क्लिनिक, सुधा क्लिनिक र चेतना स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको विवरणमा उल्लेख छ। यसैगरी, सामाखुसी क्षेत्रमा पब्लिक हेल्थ पोलिक्लिनिक सेन्टर, क्यापिटल मेडिकल सेन्टर, सिरप हेल्थ केयर र भ्याली मेडिकल सेन्टर रहेका छन्। महाराजगञ्ज क्षेत्रमा सनराइज मेडिकल सेन्टर, मेरिडियन हेल्थ केयर सेन्टर तथा स्टोटस मेडिकेयर एन्ड डायग्नोस्टिक सेन्टरको नाम सूचीमा छ। ललितपुरमा उपत्यका प्याथोलोजी एन्ड क्लिनिक र सुब्बा प्याथोलोजी एन्ड क्लिनिकको नाम पनि समावेश गरिएको छ।