राैतहट - नेपाल–भारत मैत्री संगठनले रौतहटका पत्रकार तथा संगठनका अन्तर्राष्ट्रिय कमिटी सदस्य अनिल झामाथि भारतको बैरगनिया बजारमा भएको भनिएको सामूहिक कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संगठनका महासचिव सम थापाद्वारा जारी प्रेस विज्ञप्तिमा गत भदौ २९ गते सोमबार बिहान करिब १० बजे भारतको बैरगनिया जाने क्रममा भारतीय कस्टम कार्यालय नजिकै रौतहटका सुरेन्द्र गुप्ताको नेतृत्वमा रहेको समूहले मोटरसाइकलमा रहेका झालाई रोकेर सामूहिक रूपमा कुटपिट तथा दुर्व्यवहार गरेको उल्लेख छ।
घटनाको भिडियो सार्वजनिक भइसकेको र पीडित पक्षले रौतहट प्रहरीमा दोषीमाथि कारबाहीको माग गर्दै उजुरीसमेत दिएको अवस्थामा हालसम्म कुटपिटमा संलग्न व्यक्तिमाथि कुनै कारबाही नभएको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ।
घटना भारतीय भूमिमा भएको भन्दै संगठनले पीडितलाई न्याय दिलाउन भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाएको छ। साथै, रौतहटमै खुलेआम घुमिरहेका भनिएका घटनामा संलग्न व्यक्तिलाई स्थानीय प्रहरी प्रशासनले पक्राउ नगरेको विषयमा गम्भीर प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ।
सामाजिक अभियन्ता तथा सञ्चारकर्मीलाई हतोत्साहित गर्ने खालका आक्रमण निरुत्साहित गर्न तथा पीडितको सुरक्षा र सम्मानको ग्यारेन्टी गर्न नेपाल सरकारसँग संगठनले जोडदार माग गरेको छ।
नेपाल–भारत मैत्री संगठनका महासचिव सम थापाले जारी गरेको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।