नेपाली काङ्ग्रेस यतिबेला निकै संवेदनशील मोडमा पुगेको छ। पार्टीभित्रको विवाद अब नेताहरूबीचको असहमति मात्र रहेन, यसको प्रभाव वडा तहसम्म पुग्न थालेको छ। एकातिर १५औँ महाधिवेशनको निर्धारित प्रक्रिया अघि बढिरहेको छ भने अर्कोतिर संस्थापनइतर पक्षले समानान्तर प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
यसले मोफसलका काङ्ग्रेस कार्यकर्तालाई अन्योलमा पारेको छ।असोज ३ र ४ गतेदेखि वडा अधिवेशनको प्रक्रिया सुरु हुँदैछ। त्यसपछि गाउँ-नगर हुँदै केन्द्रीय महाधिवेशनतर्फ जाने कार्यतालिका छ। तर अर्को पक्षबाट पनि छुट्टै अधिवेशनको तयारी भएपछि गाउँ-गाउँका कार्यकर्ताबीच प्रश्न उठेको छ-आखिर कुन अधिवेशनमा सहभागी हुने?राजनीतिक दलको वास्तविक शक्ति केन्द्रका नेताभन्दा गाउँ-टोलमा खटिने कार्यकर्ता हुन्। निर्वाचनका बेला घरघर पुग्ने, संगठन बनाउने, पार्टीको झण्डा बोक्ने र विचार जनतासम्म पुर्याउने कार्यकर्ता नै हुन्। त्यसैले केन्द्रको विवादको भार स्थानीय कार्यकर्तामाथि पर्नु हुँदैन।
बिर्तामोडका युवा नेता बिसिल थापाले इतर पक्षको छुट्टै अधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै त्यस्तो प्रक्रियामा सहभागी हुनेलाई मूल काङ्ग्रेससँग जोडेर हेर्न कठिन हुने धारणा राखेका छन्। मोफसलमा देखिएको अन्योललाई यस्तो धारणाले पनि प्रतिबिम्बित गर्छ। काङ्ग्रेसको पहिचान चारतारे झण्डा, रूख चिह्न, लोकतान्त्रिक विचार र लामो राजनीतिक इतिहाससँग जोडिएको छ।
त्यसैले अहिलेको मुख्य प्रश्न कुनै गुट बलियो बनाउनेभन्दा पार्टीको संस्थागत प्रक्रिया र कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित गर्ने हो। पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि विवाद समाधानतर्फ जाने अपेक्षा धेरैले गरेका थिए। तर अहिलेसम्म विवाद पूर्णरूपमा समाधान हुन सकेको छैन। बरु महाधिवेशनको प्रक्रियालाई लिएर दुई धार स्पष्ट देखिएका छन्। यही क्रममा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापालाई समर्थन गर्दै पार्टी एकताका लागि पहल गर्न आग्रह गरेका छन्। चारतारे झण्डा र रूख चिह्न जहाँ छ, आफू त्यहीँ रहेको भन्ने उनको सार्वजनिक धारणा पनि काङ्ग्रेसभित्रको बदलिँदो राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ।
वरिष्ठ नेता डा. शशांक कोइरालालगायत नेताहरूको भूमिकालाई पनि अहिले चासोका साथ हेरिएको छ। पुराना नेताहरूले लिने निर्णयले काङ्ग्रेसको भविष्य मात्र होइन, हजारौँ कार्यकर्ताको राजनीतिक यात्रामा समेत प्रभाव पार्न सक्छ। मोफसलमा भने अधिवेशनको चहलपहल सुरु भइसकेको छ। चोकका चिया पसलदेखि गाउँका चौतारासम्म काङ्ग्रेसको वडा अधिवेशनको चर्चा हुन थालेको छ। सम्भावित उम्मेदवारहरू कार्यकर्तासँग भेटघाटमा छन्।
सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ।तर केन्द्रको विवादले उत्साहसँगै अन्योल पनि बढाएको छ। एउटा प्रक्रियामा सहभागी हुँदा अर्को पक्षले स्वीकार नगर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छ। वर्षौँदेखि काङ्ग्रेसमा रहेका कार्यकर्ताको राजनीतिक भविष्य नै अन्योलमा पर्ने अवस्था आउनु पार्टीका लागि सुखद होइन।काङ्ग्रेसभित्र बाह्य राजनीतिक शक्तिको भूमिकादेखि अदालत र सरकारसम्म जोडेर विभिन्न चर्चा र आशंका भइरहेका छन्। तर प्रमाणित नभएका आरोपलाई तथ्यका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन। पार्टीको आन्तरिक विवादको समाधान काङ्ग्रेसकै लोकतान्त्रिक विधि, संवाद र सहमतिबाट खोजिनुपर्छ।महाधिवेशन भनेको लोकतान्त्रिक प्रतिस्पर्धा हो। एउटाले जित्छ, अर्कोले हार्छ। तर निर्वाचनपछि सबै एउटै पार्टीमा बसेर काम गर्ने वातावरण बन्नुपर्छ। आज वडा सभापतिका लागि प्रतिस्पर्धा गर्नेहरू भोलि एउटै नगर कार्यसमितिमा बसेर काम गर्नुपर्ने हुन्छ।
त्यसैले काङ्ग्रेसका नेताहरूले अहिले एउटा कुरा बुझ्न आवश्यक छ-नेता जित्नु ठूलो कुरा होइन, काङ्ग्रेस जित्नु ठूलो कुरा हो। शेरबहादुर देउवाको भूमिका पनि अहिले महत्वपूर्ण छ। लामो समय पार्टीको नेतृत्व गरेका देउवाले अभिभावकीय भूमिका निर्वाह गर्दै पार्टीभित्र संवाद र सहमतिको वातावरण बनाउन सक्छन्। सभापति गगन थापाले पनि नेतृत्वको जिम्मेवारीअनुसार असन्तुष्ट पक्षसँग संवादको ढोका खुला राख्न आवश्यक छ। देशले अहिले बाढी, पहिरो, बेरोजगारी, महँगी र विकासका अनेकौँ चुनौती सामना गरिरहेको छ। यस्तो अवस्थामा एउटा ठूलो राजनीतिक दल आफ्नै आन्तरिक विवादमा अल्झिरहनु जनताका लागि पनि निराशाजनक विषय हो।
अब काङ्ग्रेसका नेताहरूले कार्यकर्तालाई आफ्नो शक्ति प्रदर्शनको साधन होइन, पार्टीको भविष्यका आधारका रूपमा हेर्नुपर्छ। वडा अधिवेशनमा सहभागी हुने कार्यकर्ताको राजनीतिक भविष्य अन्योलमा नपरोस् भन्ने कुरामा केन्द्रले स्पष्टता दिनुपर्छ। काङ्ग्रेसको इतिहास लामो छ। पार्टीले अनेकौँ उतारचढाव पार गरेको छ। अहिले फेरि एउटा कठिन परीक्षा आएको छ। यो परीक्षा कसले कसलाई हराउँछ भन्ने होइन, कसले काङ्ग्रेसलाई विभाजनबाट जोगाउँछ र कार्यकर्ताको विश्वास कायम राख्छ भन्ने हो। चारतारे झण्डा बोकेका काङ्ग्रेस कार्यकर्ता अधिवेशनमा होमिन तयार छन्। उनीहरूलाई नेताहरूको विवाद होइन, स्पष्ट बाटो चाहिएको छ। त्यसैले अब समय आरोप-प्रत्यारोपको होइन, संवाद, सहमति र एकताको हो।महाधिवेशनमा प्रतिस्पर्धा हुनुपर्छ, तर प्रतिस्पर्धाले काङ्ग्रेस नटुक्रियोस्। नेता हार्न सक्छन्, जित्न सक्छन्; तर काङ्ग्रेस हार्नु हुँदैन।