काठमाडौंले इतिहासका कालखण्डहरुमा सफलता र खुसीको उल्लासदेखि पीडाको छट्पटीसम्म भूमिका निर्वाह गरेको छ । ‘मनको रहर कान्छीलाई घुमाउने काठमाण्डु सहर’ भन्ने सिनेमाको गीत रचाउन सकेको यो सहरको वास्तविकता बहुरुपी छ । काठमाडौं केही मानिसहरुका लागि दाम, नाम र ऐश्वर्यको सहर हो भने बहुसंख्यक नागरिकका लागि यो सहर दःुख, पीडा, वेदना अभाव र अस्तव्यस्तताको सहर । काठमाडौं केवल राजधानीमात्र होइन, यो देशको राजनीतिक निर्णय, प्रशासनिक अभ्यास, आर्थिक अवसर र हरेक नेपालीहरुको सपनाको सहर पनि हो ।
काठमाडौंले सिंगो देशको प्रतिनिधित्व गर्छ । यहाँ देशको नीति, नियम, देश निर्माणका कार्ययोजनाहरु निर्माण हुन्छन् । देशको भविष्य र नागरिकको जीवनसँग प्रत्यक्ष प्रभाव पार्नसक्ने शक्तिको केन्द्र हो काठमाडौं । यो सहरमा देशको सबैभन्दा जेठो विश्वविद्यालय, सयौंको संख्यामा रहेका ज्ञान, सीप, बुद्धि, अनुशासन र कला सिकाउने शिक्षालयहरु सञ्चालनमा छन् । यो सहरमा मानवअधिकारको विगुल घन्काउनेहरु, नागरिक समाजका सुझबुझ भएका समाज सुधारकहरु, वातावरण संरक्षण र संवद्र्धन गर्ने सिपालुहरु, जनतालाई सचेत बनाउन सक्ने पत्रकारहरु, ठूलाठूला ज्ञान, विज्ञान र दर्शनका लेखक कवि, कलाकार, लेखिकाहरुको स्थायी वा अस्थायी कर्मथलो हो ।
काठमाडौं राजनीतिको केन्द्र हो । जनताका प्रतिनिधिहरु बस्ने ठाउँ हो । प्रधानमन्त्री, राष्ट्रपति कूटनीतिक नियोगका व्यक्ति एवं व्यक्तित्वहरुको कर्मथलो हो । देशलाई नेतृत्व गर्ने र नीति निर्माताहरु बस्ने प्रशासनिक ठाउँ हो । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार, सिंहदरबार, प्रतिनिधिसभालगायत व्यवस्थापिका, कार्यपालिका, सर्वोच्च न्यायपालिकाजस्ता देशका शक्तिकेन्द्र भएको ठाउँ हो । यी शक्तिकेन्द्रहरुले गर्ने राम्रा वा नराम्रा कामहरुको असर जनतामा पर्दछ । त्यसैले यी शक्तिकेन्द्रहरुले देश र जनहितमा काम गर्नुपर्छ । परन्तु काठमाडौंमा अवस्थित उल्लिखित संघ, संस्था, प्रशासनिक केन्द्र तथा निकायहरु विधिको शासनबाट सुशासित नभई कूशासन, दुराचार, भ्रष्टाचार, स्वार्थमा लाग्दा देशले दुःख पाइरहेको छ ।
काठमाडौंले षड्यन्त्रको लामो यात्रा गरेको छ । बहादुर शाहको शासन पछाडि रणबहादुर शाहको पालामा उदय भएको भिमसेन थापाको उदय पनि कुकर्म र षड्यन्त्रले भरिएको देखिन्छ । आफ्नो हातमा शक्ति लिनका लागि उनले दर्जनौंको संख्यामा विरोधी भाइभारदारहरुको हत्या गरेका थिए । यस हत्या प्रकरणमा दुई वर्षको बालकसमेत रहेको इतिहासमा लेखिएको छ । उनलाई जेलमा रहेको वेला विपक्षीहरुले अत्यन्त अमानवीय मानसिक तनाव दिएकोले जेलभित्रकै आफू बसेको कोठाको झ्यालको सिसा फुटालेर छातीमा रोपेपछि नौ दिनसम्म छट्पटिएर मृत्यु भएको थियो । मृत्यु पछाडि उनका विरोधीहरुले उनको परिवारलाई दाहसंस्कार गर्न नदिई लासलाई टुक्राटुक्रा पारेर गिद्ध र कुकुरलाई खुवाइएको विषय इतिहासमा लेखिएको छ । भिमसेन थापाका विरोधीहरुको कुकर्मको सीमा यतिमामात्र सीमित रहेन । उनका परिवारलाई काठमाडौंदेखि गोर्खासम्म नांगो खुट्टाले हिँडाउने र सन्तानलाई सात पुस्तासम्म सरकारी जागिरमा बहिष्कार गर्ने नियम बनाएका थिए ।

बालुवाटार जग्गा प्रकरण, नारायणहिटी दरबारको बतास प्रकरण, पशुपतिको धर्मशाला काण्ड, ओम्नी, यतीलगायतका प्रकरणसँग जोडिएका कुकर्महरु यिनै शक्तिकेन्द्रहरुबाट सिर्जित भएका छन् । लाउडा वाइडबडी, न्यारोबडीहुँदै सुन काण्डदेखि लिएर जेन–जी आन्दोलनसम्मको तानाबानाको केन्द्र पनि काठमाडौं हो ।
हाम्रा आदिकवि भानुभक्त आचार्यले अलकापुरी, कान्तिपुरी नगरीको नाम दिएको काठमाडौं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मृत्युसँगै राजनीतिक कर्म, कुकर्मभित्र झाँगिएको षड्यन्त्रकोे जालो झाँगिदै जाँदा राजेन्द्र विक्रम शाहको समयमा आइपुग्दा जंगबहादुरलाई राज्यसत्तामा पुर्यायो । दरबारमा राजाहरु कमजोर हुनु, रानीहरु सत्ताशक्तिमा तल्लीन हुनु, गुटबन्दीको तानावानाभित्र लुकेको स्वार्थका कारण कोतपर्व, भण्डारखाल पर्व र अलौपर्व जस्ता हत्याकाण्डहरु निम्तिए । जंगबहादुरले यी काण्डहरुमा आफ्ना शत्रुहरुलाई हत्या गरी देशको प्रधानमन्त्री बन्न सफल भए ।
जंगबहादुरले षड्यन्त्रकै सहायतामा राज्यसत्ता आफ्नो हातमा लिई राणा परिवारमा सत्ताको बागडोर हस्तान्तरण गरे । काठमाडौंमा केन्द्रित राणाहरुको १०४ वर्षको शासनकाल चल्यो । नेपालको इतिहासमा राणाहरुको पतनको एउटा कारण पनि उनीहरुको पारिवारिक कुकर्मलाई मान्ने गरिन्छ । यसरी हेर्दा बहादुर शाह र राजेन्द्र लक्ष्मीको पालादेखि राज्यसत्तामा मडारिएको षड्यन्त्र, हत्या, हिंसा र कुकर्मको राजनीति अहिलेसम्म पनि कुनै न कुनै रुपमा अभ्यासमा रहेको देखिन्छ । लोकतन्त्रमा पनि यसले छाडेको छैन ।
राजनीतिक इतिहासको कालखण्डहरुको अध्ययन गर्दा सत्ता र षड्यन्त्र एक अर्काका पर्याय बनेको छ । काठमाडौं देश लोकतान्त्रिक व्यवस्थामा पनि षड्यन्त्र, हत्या, हिंसा र स्वार्थ समूहको चक्रव्युहबाट बाहिर निस्कन सकेको छैन । राणाशासनको अन्त्य र प्रजातन्त्रको सुरुआत २००७ साल पछाडि पनि काठमाडौं शान्त, सुशासित र सभ्य समाजको रुपमा अगाडि बढ्न सकेन ।
दलीय षड्यन्त्रकै कारण २००७ देखि ०१७ सम्मको प्रजातान्त्रिक प्रजातान्त्रिक अवधि पनि जनताको सखद रहेन । राजनीतिक खिचातानी र षड्यन्त्रकै कारण १० वर्षमा १० वटा सरकार परिवर्तन भए । २०१७ सालमा राजा महेन्द्रले बिपी कोइरालाको प्रजान्त्रिक सरकारलाई विघटन गरी पञ्चायती व्यवस्था लागू गर्नु पनि राजनीतिक षड्यन्त्र नै थियो । २०३७ सालमा गरिएको जनमत संग्रहको चुनावी नतिजामा पनि काठमाडौंको षड्यन्त्रले काम गरेको थियो भन्ने गरिन्छ ।
२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि देशको काठमाडौंमा अनेक प्रकारका राजनीतिक कुकर्म र षड्यन्त्रका घटनाहरु हुँदै आएका छन् । मदन भण्डारीको हत्याकाण्डहुँदै दरबार हत्या प्रकरणको तानाबाना बनाउने स्थलको रुपमा काठमाडौंलाई उपयोग गरियो । काठमाडौंमा हत्या प्रकरणहरुमात्र हुने गर्दैनन् । हत्याको रहस्य पत्ता लाग्न सक्ने व्यक्तिहरु पनि षड्यन्त्रकै सिकार भएका छन् । यसको एउटा दृष्टान्त मदन भण्डारीको गाडी चालकको रहस्यमय हत्या प्रकरण हो ।
मुलुकको भाग्य र भविष्यको मार्गचित्र तयार हुने ठाउँ कुकर्म र षड्यन्त्रले मडारिएपछि यसको नकारात्मक परिणाम भोग्न जनताहरु विवस हुनुपरेको छ । अर्बौंका भ्रष्टाचारको सेटिङ गर्न मिटिङ गर्ने ठाउँ पनि काठमाडौं हो । बालुवाटार जग्गा प्रकरण, नारायणहिटी दरबारको बतास प्रकरण, पशुपतिको धर्मशाला काण्ड, ओम्नी, यतीलगायतका प्रकरणसँग जोडिएका कुकर्महरु यिनै शक्तिकेन्द्रहरुबाट सिर्जित भएका छन् । लाउडा वाइडबडी, न्यारोबडीहुँदै सुन काण्डदेखि लिएर जेन–जी आन्दोलनसम्मको तानाबानाको केन्द्र पनि काठमाडौं हो ।
त्यसो त मुलुकको राजधानी काठमाडौंमा सुकिला, मुकिला, पढेलेखेका, जाने बुझेका बुद्धिजीवी, विज्ञ, विशेषज्ञ, राजनीतिज्ञ, कवि, कलाकार, लेखक दार्शनिक, चिन्तक, धार्मिक गुरु, योगी सन्त महन्तजस्ता व्यक्तिहरुको बसोबास छ । मन्दिरै मन्दिरको सहर भनेर चिनिने काठमाडाैं उपत्यकामा पशुपति, गुह्वेश्वरी, स्वयम्भू, दक्षिणकालीलगायतका मठमन्दिरहरु छन् । काठमाडौंमा मन्दिरका घण्टहरु बजेको आवाज नसुनिने सायदै घर होलान् । यस्तो तीर्थस्थलजस्तो ठाउँमा हुने कर्म, कुकर्म एवं स्वार्थका खेलहरु भने न्यून कोटीका छन् । काठमाडौं बाँदरको गाउँजस्तो भएको छ । जुन राजनीतिक दल वा नेता विशेष शक्तिको सत्ताको बागडोरमा गएता पनि अनेक प्रकारका षड्यन्त्रहरु आइरहेका छन् ।
अन्त्यमा, पृथ्वीनारायण शाहका जेठा छोरा प्रताप शाहले दरबारका षड्यन्त्रकारीहरुको कुरा सुनेर आप्mना भाइ बहादुर शाहलाई देश निकाला गरेदेखि लामो समयको राजनीतिक यात्रा पार गरेर अहिले वालेन्द्र शाहको समयसम्म आइपुग्दाको पछिल्लो प्रकरण न्यायाधीशहरुसँग गरिएको सेटिङ र बिचौलियाको हिमालय होटलको मिटिङसम्म आइपुग्दाका घटनाक्रमहरुले काठमाडौं सुकर्मभन्दा बढी कुकर्म, षड्यन्त्र, स्वार्थ, भ्रष्टाचारलगायतका घटना र परिघटनाहरुले भरिएको शक्तिकेन्द्रको रुपमा प्रतीत हुन्छ । अब काठमाडौं सभ्य, सुसंस्कृत, सुशासित, विकासमुखी तथा नेपाल र नेपालीहरुको भाग्य र भविष्य निर्माण गर्ने प्रशासनिक केन्द्र बन्नुपर्छ । बन्न सकोस् ।