दसैं आयो, गाउँमा चहलपहल बढ्यो। रित्तिएका घरका ताल्चा खुले, आँगन बढारिए, भित्तामा कमेरो पोतियो। विदेश र सहरबाट फर्किएका छोराछोरीले गाउँका बाटामा धूलो उडाए। बूढा बाआमाका मुहारमा चमक आयो। लाग्थ्यो, गाउँमा फेरि जीवन फर्कियो। तर मट्याङ्ग्रोलाई राम्ररी थाहा थियो, यो खुसी क्षणिक हो। दसैंको टीका सुक्न नपाउँदै गाउँ फेरि रित्तिने छ। नभन्दै त्यही भयो। दसैं सकियो, गाउँ रित्तियो। अब गाउँमा फेरि बूढाबूढी, खाली घर र झारले ढाकिएका आँगनको शासन चल्ने छ।
कुनै समय गाउँबाट रोजगारीका लागि एकाध युवा लाहुर जान्थे। घरमा बाआमा, श्रीमती, छोराछोरी र आफन्त हुन्थे। मेलापात चल्थ्यो, खेतबारीमा अन्न फल्थ्यो, गोठमा गाईवस्तु कराउँथे। गाउँका चौतारीमा बूढापाकाका गफ चल्थे। अहिले समयले कोल्टे फेरेको छ। पहिले परिवारको एउटा सदस्य विदेश जान्थ्यो, अहिले परिवारको एउटा सदस्यमात्र गाउँमा बाँकी छ।
सक्नेहरू अमेरिका, अस्ट्रेलिया, क्यानडा पुगेका छन्। अलि कम सक्नेहरू युरोपतिर लागेका छन्। त्यो पनि नभ्याउनेहरू कतार, दुबई, साउदी र मलेसियाका मरुभूमिमा पसिना बगाइरहेका छन्। देशभित्र रोजगारी खोज्दा भविष्य नदेख्ने युवाले विदेशमा भविष्य खोज्नु कुन ठूलो अपराध भयो र? दोष त आफ्नो देशमा पसिना बगाएर बाँच्न सक्ने वातावरण बनाउन नसक्ने व्यवस्थाको हो। त्यही भएर अहिले दुईतिहाइ मत ल्याएकाहरुले ३५ वर्षलाई दोष दिन पाएका छन्।
तर मट्यांग्रालाई एउटा कुराले भने अचम्मित बनाउँछ। गाउँबाट विदेश जाने विमान भरिभराउ छन्, तर गाउँका विद्यालय विद्यार्थीविहीन हुँदै छन्। खेतबारी बाँझिएका छन्, तर खाद्यान्न आयात बढिरहेको छ। घरमा बाआमा एक्लिएका छन्, तर गाउँको विकासबारे भाषण गर्नेहरूको स्वर घटेको छैन।
गणतन्त्र आयो, संघीयता आयो। सिंहदरबार गाउँगाउँमा पुग्यो भनियो। गाउँमा अधिकार पुग्यो, बजेट पुग्यो, कार्यालय पुग्यो। सडक खनिए, भवन ठडिए, वडा कार्यालय सजिए। गाउँको विकासका नाममा कति बजेट खर्च भयो, कति योजना बने, कति उद्घाटन भए, यसको हिसाब राख्ने निकाय पनि छन्।
चुनाव आउँदा नेताहरू गाउँ पस्छन्। बूढाबूढीका हात समात्छन्, बालबालिकालाई काखमा राख्छन्, युवाको काँधमा हात राख्छन्। गाउँको मुहार फेर्ने कसम खान्छन्। रोजगारी सिर्जना गर्ने, कृषि आधुनिकीकरण गर्ने, गाउँमै उद्योग खोल्ने, पर्यटन विकास गर्ने र विदेसिएका युवालाई स्वदेश फर्काउने घोषणा गर्छन्। चुनाव सकिएपछि नेताजीको गाडी धूलो उडाउँदै सहरतिर लाग्छ। गाउँका युवा भने खाडीका लागि गाडी भने विमानस्थलतिर।
तर मट्याङ्ग्रोका सानो प्रश्नको जवाफ कसले दिने?
गाउँमा विकास गर्न यति धेरै बजेट खर्च हुँदा गाउँमै बस्ने मान्छेचाहिँ किन घटिरहेका छन्? मट्याङ्ग्रोले यो प्रश्न एकपटक गाउँका नेताजीलाई सोधेको थियो। नेताजीले मुसुक्क हाँस्दै भने, गाउँमा विकास नभएर मान्छे बाहिरिएका होइनन्, अवसर खोज्न बाहिरिएका हुन्।
मट्याङ्ग्रोले पनि हाँस्दै भन्थ्यो, त्यसो भए गाउँमा विकास गर्न छुट्याएको बजेटले मान्छे बाहिर जाने अवसरमात्रै सिर्जना गरेको रहेछ कि क्या हो? नेताजीको अनुहारको रङ एकाएक फेरिन्थ्यो उनी अर्को कार्यक्रममा भाषण गर्न हतारिए निस्कन्थे। अहिले निर्वाचित वडा अध्यक्ष पनि दुर्गम गाउँमा भेटिन्नन्।
चुनाव आउँदा नेताहरू गाउँ पस्छन्। बूढाबूढीका हात समात्छन्, बालबालिकालाई काखमा राख्छन्, युवाको काँधमा हात राख्छन्। गाउँको मुहार फेर्ने कसम खान्छन्। रोजगारी सिर्जना गर्ने, कृषि आधुनिकीकरण गर्ने, गाउँमै उद्योग खोल्ने, पर्यटन विकास गर्ने र विदेसिएका युवालाई स्वदेश फर्काउने घोषणा गर्छन्।
चुनाव सकिएपछि नेताजीको गाडी धूलो उडाउँदै सहरतिर लाग्छ। गाउँका युवा भने खाडीका लागि गाडी भने विमानस्थलतिर।
नेताजीलाई गाउँ सम्झन अर्को चुनाव कुर्नुपर्छ। युवालाई गाउँ सम्झन दसैं कुर्नुपर्छ। बूढाबाआमालाई छोराछोरी भेट्न दसैंको प्रतीक्षा गर्नुपर्छ।
खाडीमा पसिना बगाउने नेपालीका लागि दसैं केवल चाड होइन, परिवारसँग भेट्ने एउटा आशा पनि हो। कतारमा काम गरिरहेको छोरो दसैंमा घर आउला भनेर आमाले बाटो हेरेकी हुन्छिन्। साउदीमा रहेको श्रीमान् फर्किएला भनेर श्रीमतीले दिन गनेकी हुन्छिन्। बाबाको अनुहार हेर्न नपाएका बालबालिकाले मोबाइलमा देखिने तस्बिरलाई नै सम्झनाको सहारा बनाएका हुन्छन्।
तर सबैका लागि घर फर्कन सम्भव हुँदैन। कसैको बिदा मिल्दैन, कसैको टिकट किन्ने पैसा पुग्दैन, कसैको ऋण बाँकी हुन्छ। कतिपयलाई मालिकले बिदा दिँदैनन्। कतिपयको घर फर्कने चाहना आर्थिक बाध्यताले थिचिएको हुन्छ।
अनि दसैंको दिन भिडियो कल गरेर टीका लगाएको अभिनय गर्नुपर्छ। आमाले मोबाइलको पर्दामा छोरो देखेर हाँस्छिन्, छोरोले आमाको अनुहार हेरेर मुस्कुराउँछ। कल काटिएपछि आमाको आँखामा आँसु आउँछ। उता छोरो पनि आफ्नो कोठामा एक्लै बसेर मन बुझाउँछ।
यता सामाजिक सञ्जालमा भने दसैंको खुसीको बाढी आउँछ। अमेरिका र अस्ट्रेलियामा बसेर दसैं मनाएका तस्बिरहरू पोस्टिन्छन्। महँगा लुगा, आकर्षक सजावट, मिठा परिकार र मुस्कुराएका अनुहारले फेसबुक भरिन्छ।
मट्याङ्ग्रोलाई उनीहरूको खुसीप्रति कुनै डाहा छैन। विचराहरु भन्छ, उसलाई कहिलेकाहीँ एउटा प्रश्नले घोच्छ। विदेशमा दसैं मनाएको तस्बिर पोस्ट्याउनेहरूले गाउँमा रहेका आफ्ना बूढा बाआमाको अनुहार अन्तिमपटक कहिले नियाले होलान्?
मट्याङ्ग्रोको गाउँमा झारले घेरेका ७० भन्दा बढी रित्तो घर छन्। ती घरका ढोका बन्द छन्, आँगन सुनसान छन् र झ्यालबाट विगतले चियाइरहेको छ। कुनै घरमा बालबालिकाको हाँसो गुञ्जिन्थ्यो, कुनै घरमा बुहारीको पाउजु बज्थ्यो, कुनै घरमा बूढा बाआमाको माया बाँडिन्थ्यो।
अहिले ती घरमा ताल्चा छन्। आँगनमा झार उम्रिएको छ। घरको छानामा चराचुरुंगीले बास बनाएका छन्। रात परेपछि जंगली जनावरको आवाज सुनिन्छ।
मट्याङ्ग्रोका जोइपोइ अझै गाउँ छाडेर गएका छैनन्। बूढेसकालमा सकिनसकी आफ्नो घर कमेरोले पोतेका छन्। दक्षिण मोहडामा परेको घामले घर टाढैबाट टल्किन्छ। वरिपरि उजाड बस्ती भए पनि त्यो घरले अझै गाउँको अस्तित्व जोगाइरहेको छ।
तर एउटा घर टल्केर के गर्नु? गाउँ नै सुनसान भएपछि घरको चमकलेमात्र जीवन फर्काउँदैन। कहिलेकाहीँ मट्याङ्ग्रोलाई पनि लाग्छ, अब यो घर छाडेर कतै जाऊँ। बूढेसकालमा एक्लै कति दिन गाउँ कुरेर बस्नु? तर फेरि मनले मान्दैन। यही माटोमा जन्मियो, यहीँ हुर्कियो, यहीँ पुर्खाले पसिना बगाए। गाउँ छाड्नु भनेको घरको ढोका बन्द गर्नुमात्र होइन, आफ्नै जीवनको इतिहासलाई ताल्चा लगाउनु पनि हो।
त्यसैले मट्याङ्ग्रो गाउँमै बसेर गाउँको पहरा दिइरहेको छ। सरकारको बजेटले नसकेको काम एउटा बूढो मान्छेले गरिरहेको छ। रित्तो गाउँको अस्तित्व जोगाउने काम!
दसैंले केही दिन गाउँमा रङ भर्छ। बन्द घरका ताल्चा खुल्छन्, आँगन सफा हुन्छन्, पिङ हालिन्छ, चंगा उडाइन्छ। आफन्त भेटिन्छन्, परिकार पाक्छन् र बूढा बाआमाका आँखामा खुसी फर्किन्छ।
तर टीका सकिएपछि सबै आ–आफ्नो बाटो लाग्छन्। कोही काठमाडौं फर्किन्छन्, कोही अन्य सहरतिर लाग्छन्, कोही विमानस्थल पुग्छन्। गाउँमा फेरि सन्नाटा छाउँछ। पूर्णिमाको उज्यालोसँगै गाउँका घरमा औंसीको अँध्यारो प्रवेश गर्छ। हिजोसम्म भरिएका आँगनमा फेरि झार उम्रन थाल्छ। घरका ढोका बन्द हुन्छन्।
दसैं सकियो गाउँ फर्केकाहरु फेरि जुन बाटो आए त्यही बाटो हिँडिसके। त्यही भएर होला मट्याङ्ग्रो चौतारीमा बसेर आफूले रोपेको काट्ने बेला भएर लहराइरहेका धानका बालाहरु हेर्दै विरहको भाका गाउँछ।
‘दसैं आयो, गाउँ हाँस्यो,
दसैं गयो, गाउँ रोयो।
छोराछोरी परदेश लागे,
बूढो घरले बाटो हेर्यो।’
मट्याङ्ग्रोको चिन्ता विदेश जाने युवासँग होइन। उसको चिन्ता त देशमा युवा बस्ने वातावरण नहुनुसँग हो। विदेश जानु रहर हुन सक्छ, अवसर पनि हुन सक्छ। तर आफ्नै देशमा श्रम गरेर बाँच्न नसकेपछि विदेसिनु बाध्यता बन्छ।
आज गाउँ रित्तिएको छ। भोलि कतै देशै रित्तिने त होइन? आज खेतबारी बाँझिएका छन्, भोलि आफ्नै भान्सामा पाक्ने अन्नसमेत विदेशबाट किन्नुपर्ने त होइन? आज बूढाबाआमा छोराछोरीको बाटो हेरिरहेका छन्, भोलि देशले नै आफ्ना नागरिक फर्कने बाटो हेर्नुपर्ने त होइन?
सरकार अब गाउँमा कति सडक बने, कति भवन ठडिए र कति बजेट खर्च भयो भन्ने मात्र हिसाब राखिरहेको छ। तर गाउँमा कति युवा बसे, कति रोजगारी सिर्जना भए, कति खेतबारीमा खेती भयो र कति घरमा चुलो बल्यो भन्ने हिसाब राख्ने आँट गर्न सकेको छैन।
गाउँलाई बचाउनु भनेको पुराना घरको भित्ता जोगाउनुमात्र होइन। गाउँमा जीवन फर्काउनु हो। खेतबारीमा खेती, विद्यालयमा विद्यार्थी, घरमा परिवार र चौतारीमा मान्छेको चहलपहल फर्काउनु हो।
मट्याङ्ग्रोलाई आशा छ। कुनै दिन दसैं सकिएपछि पनि गाउँ रित्तिने छैन। बूढा बाआमाले छोराछोरीको बाटो वर्षौं कुरेर बस्नुपर्ने छैन। युवाले आफ्नै माटोमा भविष्य खोज्न पाउने छन्।
तर अहिलेलाई मट्यांग्राको गाउँमा दसैं सकिएको छ। कमेरोले पोतेको घर टल्किरहेको छ। वरिपरिका घरमा ताल्चा झुण्डिएका छन्। मट्याङ्ग्रोका जोइपोइ गाउँको पहरा दिइरहेका छन्।
ऊ चौतारीमा बसेर फेरि त्यही गीत गाउँछ,
‘दसैं सकियो, गाउँ रित्तियो,
घरको आँगन झारले छोपियो,
गाउँ रित्तियो, देश नरित्तियोस्...’