काठमाडाैं - नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन आगामी निर्वाचनमा देवकुमार खोखालीको नेतृत्वमा जाने सम्भावना बलियो बन्दै गएको छ। एसोसिएसन निकट स्रोतका अनुसार अध्यक्ष पदका लागि आकांक्षा राख्ने चार जना व्यववसायीहरुमध्ये हालसम्म खोखालीलाई टिकट दिने पक्षमा संस्थापन पक्ष सकारात्मक देखिएको छ। खोखाली नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान द्वितीय उपाध्यक्षसमेत हुन्।
खोखालीले आफू निडर, व्यवसायीको हितमा निरन्तर सक्रिय र संघको नेतृत्व गर्न सक्षम उम्मेदवार भएको दाबी गर्दै आएका छन्। संघमा रहँदा आफूलाई दिइएको जिम्मेवारी कुनै दबाब वा प्रभावमा नपरी सफलतापूर्वक निर्वाह गरेको उनको भनाइ छ।
विशेषगरी संघको उपाध्यक्ष रहँदा मलेसिया सिन्डिकेटविरुद्ध संयोजकको भूमिकामा निर्भिकतापूर्वक काम गरेको र वैदेशिक रोजगार विभागलाई गुण्डागर्दीमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको दाबी उनले गर्दै आएका छन्।
एसोसिएसनबाट अध्यक्ष पदका लागि संघका पूर्व महासचिव मेघनाथ भुर्तेल, संघका निवर्तमान सल्लाहकार नवराज केसी तथा एसोसिएसनका पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने पनि आकांक्षी रहेका छन्। यद्यपि संस्थापन पक्षको झुकाव खोखालीतर्फ देखिएकाले उनी उम्मेदवार बन्ने सम्भावना प्रबल रहेको बताइएको छ। यद्यपि उम्मेदवारीबारे औपचारिक निर्णय भने एसोसिएसनले सार्वजनिक गरिसकेको छैन।