यदि सरकार, स्थानीय तह र किसानहरूले सोलार फेनसिङ, मोसन सेन्सर अलार्म, कम्युनिटी अलर्ट सिस्टमजस्ता आधुनिक प्रविधिहरूलाई विस्तार गर्दै लग्यो भने बाँदरबाट हुने क्षति उल्लेखनीय एवं दीर्घकालीनरुपमा घटाउन सकिन्छ । यसले कृषि उत्पादनमा स्थिरता आउन सक्छ । बाँदरबाट हुने कृषिबाली क्षति सम्बन्धमा किसान एक्लैलेमात्र यो समस्या समाधान गर्न गाह्रो हुने भएकाले र सदनमा बारम्बार आवाज उठाइराख्नुभन्दा स्थानीय सरकारलाई परिचालन गरी नीति, योजना, बजेट र समन्वयमार्फत दीर्घकालीन समाधान दिन सक्छ ।
नेपालमा धेरै ग्रामीण तथा वन क्षेत्र नजिकका गाउँहरूमा बाँदरको गतिविधिहरुको कारणबाट किसानहरू गम्भीर समस्याको रूपमा बाँधिएका देखिन्छन् । बाँदरहरू प्रायः बिहान र बेलुकीको समयमा समूहमा आएर मकै, फलफूल, तरकारी तथा अन्य पाक्न लागेका बालीहरूमा आक्रमण गरी ठूलो क्षति पु¥याउने गर्दछन् । यसबाट किसानहरूको उत्पादन घट्नुका साथै आर्थिक नोक्सानीसमेत हुने गरेको छ । यस समस्यालाई सम्बोधन गर्नका लागि विगत धेरै वर्षदेखि कृषकहरुले आवाज उठाइराखेका भएता पनि समाधानको ठोस उपाय अवलम्बन गर्न सकेका छैनन् । कृषकहरुको आवाजलाई जनप्रतिनिधिहरुलेसमेत संसद्मा समाधान गर्नका लागि विगत धेरै वर्षदेखि आवाज उठाइरहेको सुनिन्छ र अहिले पनि ती आवाजहरु उठिरहेका छन् । यद्यपि, बाँदरको गतिविधिहरुको समस्या जहाँको त्यही नै छ र यसलाई दिगोरुपले समाधान गर्नेतर्फ ध्यान जान सकेको छैन ।

त्यसैले किसानहरूले विशेषगरी बाली पाक्ने समयमा खेतबारी वरपर बाँदरको गतिविधिप्रति सजग रहनु अत्यन्त आवश्यक छ । गाउँका किसानहरूले एकआपसमा सूचना आदानप्रदान गरी बाँदर देखिनेबित्तिकै छिमेकीलाई खबर गर्ने, सिटी बजाउने, ड्रम वा टिन बजाउने, कराउने तथा समूहमा खेतबारी संरक्षण गर्ने अभ्यास अपनाउनुपर्दछ । साथै खेत वरिपरि चम्किने टेप, पुराना सिडी, टिनका डिब्बा, बाँसको मचान तथा स्थानीय कुकुरको प्रयोग गर्दा बाँदर भगाउन केही सहयोग पुग्छ । बाँदरहरू धेरै चलाख हुने भएकाले एउटै उपाय लामो समय प्रयोग गर्दा त्यसमा बानी पर्ने सम्भावना हुन्छ, त्यसैले समय-समयमा उपायहरु परिवर्तन गर्दै जानु आवश्यक हुन्छ । किसानबीच समयमै सूचना प्रवाह, सामूहिक सतर्कता तथा समुदायस्तरीय सहकार्यले बाँदरबाट हुने बाली क्षति उल्लेखनीयरूपमा कम गर्न सकिन्छ ।
धेरै किसानहरू वर्षौंदेखि बाँदरको आतंकका कारण ठूलो समस्यामा परेका छन् । बाँदरको आतंकका कारण बिहानदेखि बेलुकासम्म किसानहरू खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको थियो । कतिपय किसानले मिहेनत गरेर लगाएको बाली केही घण्टामै बाँदरको समूहले नष्ट गरिदिने हुँदा उनीहरू निराश र चिन्तित हुने गर्दछन् । तर पछिल्लो समय किसानहरूले सामूहिक प्रयास, स्थानीय उपाय तथा सचेतनाका माध्यमबाट बाँदरबाट हुने क्षति केही कम गर्न सफल भएका छन्, तर क्षति रोक्न सफल भएका छैनन् ।
गाउँका किसानहरूले अब एक्लाएक्लै नभई समूह बनाएर खेतबारी संरक्षण गर्न जरुरी देखिन्छ । बाँदर देखिनेबित्तिकै किसानहरूले सिटी बजाउने, टिनका डिब्बा ठटाउने, ड्रम बजाउने तथा कराउनेजस्ता उपाय अपनाउने परिपाटी बसाल्न जरुरी छ । किसानहरूले अब खेती प्रणालीमा पनि परिवर्तन गर्न जरुरी रहेको छ । बाँदरले धेरै मन पराउने मकै तथा फलफूलको वरिपरि अदुवा, बेसार, खुर्सानी, लसुनजस्ता बाली लगाउन थालेपछि बाँदरको आकर्षण कम भएर जाने सम्भावना रहन्छ र यस उपायलाई आ-आफ्नो क्षेत्रमा प्रयोग गरेर सिकाइ गर्न सकिन्छ । साथै बाली पाकेपछि लामो समय खेतमा नराखी समयमै भित्र्याउने बानीले पनि क्षति घटाएको छ । गाउँहरूमा सामुदायिक सूचना प्रणालीलाई प्रयोगमा ल्याउन सके, बाँदर देखिनेबित्तिकै मोबाइलमार्फत एक अर्कालाई खबर गरेर सबै किसानलाई सचेत गराउन सकिन्छ ।
यद्यपि, दीर्घकालीन समाधानका लागि सरकारको भूमिका अझै महŒवपूर्ण रहेको छ । सरकारले वन क्षेत्र तथा सार्वजनिक सरकारी जमिनमा समयअनुसारका र हावापानी सुहाउँदो फलफूलका बिरुवा रोप्ने योजना बनाउन आवश्यक छ, जसले बाँदरका लागि प्राकृतिक भोजन स्रोत उपलब्ध गराउने छ । यसले बाँदरलाई खेतबारीतर्फ आकर्षित हुनबाट घटाउनेमात्र होइन, वन्यजन्तु संरक्षणमा पनि सहयोग पु¥याउने छ । यस्तो ‘फलफूल वन’ वा ‘फिडिङ जोन’ विकासले मानव-वन्यजन्तु द्वन्द्व कम गर्न महŒवपूर्ण भूमिका खेल्ने छ ।
यसरी सरकार, समुदाय र किसानको संयुक्त प्रयासबाट बाँदरको समस्या व्यवस्थापन गर्दै कृषिबाली संरक्षण गर्न सकिन्छ, जसले किसानहरूको जीवनस्तर सुधार गर्न र दिगो कृषि विकासमा ठूलो योगदान पु¥याउने छ । जबसम्म सरकारको तर्फबाट प्रतिबद्धतासहितको योजना कार्यान्वयनमा आउँदैन तबसम्म दीर्घकालीन समाधान गर्न सकिँदैन । किसानहरूका लागि बाँदरबाट हुने बाली क्षति कम गर्न केही नयाँ र आधुनिक प्रविधिका उपायहरू पनि प्रयोग गर्न सकिने देखिएको छ । परम्परागत विधिहरू जस्तैः सामूहिक निगरानी, टिन बजाउने वा कुकुर प्रयोगसँगै अब आधुनिक प्रविधिमा आधारित समाधानहरूले अझ प्रभावकारी परिणाम दिन सक्छन्, जसले किसानहरूको उत्पादन सुरक्षा र आयमा सुधार ल्याउन मद्दत हुन सक्छ ।
सबैभन्दा उपयोगी नयाँ प्रविधिमध्ये एक हो मोसन सेन्सर अलार्म प्रणाली, यो प्रणाली खेतमा राख्दा कुनै जनावरजस्तै बाँदर प्रवेश गरेपछि स्वतः आवाज, बत्ती वा साइरन बज्छ । यसले बाँदरलाई तुरुन्तै तर्साएर भगाउँछ र किसानलाई पनि मोबाइलमार्फत सूचना दिन सक्छ । यस्ता प्रणालीहरू सौर्य ऊर्जाबाट चल्ने भएकाले बिजुली नभएका ग्रामीण क्षेत्रमा पनि सजिलै प्रयोग गर्न सकिन्छ । यस्ता उपकरणहरु स्थानीय सरकारबाट आ-आफ्नो बाँदरप्रभावित क्षेत्रमा विस्तार गर्न सके कृषकहरुलाई ठूलै राहत हुने थियो ।
त्यस्तै सोलार पावरयुक्त इलेक्ट्रिक फेनसिङ (कम भोल्टेजको) पनि प्रभावकारी आधुनिक उपाय जडान गर्न सकिन्छ । यसले बाँदरलाई हानि नगरी हल्का झट्का दिएर खेतमा प्रवेश गर्नबाट रोक्छ । विशेषगरी मकै, चना, तरकारी र फलफूल बगैंचामा यो प्रविधि धेरै उपयोगी भएको छ । यस्ता उपायहरु जडान गर्नका लागि किसानहरुको समूह र स्थानीय सरकार मिलेर सहकार्यमा फेनसिङ लगाउने उपाय खोज्न जरुरी छ ।
अर्को नयाँ उपाय हो, ड्रोन निगरानी । जसमा केही विकसित कृषि क्षेत्रमा ड्रोन प्रयोग गरेर खेतबारी र वन क्षेत्रको निगरानी गर्न सकिन्छ । बाँदरको समूह कहाँबाट आउँदै छ भन्ने पहिचान गरेर किसानलाई पहिले नै सचेत गराउन सकिन्छ । यो प्रविधि भविष्यमा सहकारी वा स्थानीय तहमार्फत प्रयोग गर्न सकिने सम्भावना छ ।
त्यस्तै एआई आधारित वन्यजन्तु ट्र्यापिङ गर्ने क्यामरा पनि प्रयोग हुन थालेका छन् । यी क्यामराले बाँदरको गतिविधि र आवतजावतको समय विश्लेषण गरी किसानलाई सूचना दिन सक्छन् । यसले कुन समयमा खेत जोखिममा छ भन्ने पूर्वानुमान गर्न सहयोग गर्छ । जसबाट बाँदरको प्रवेशलाई समयमै पहिचान गरी नियन्त्रण गर्न सकिन्छ । केही ठाउँमा मोबाइलमा अलर्ट आउने ‘कम्युनिटी अलर्ट सिस्टम’ ह्वाट्सएपमार्फत पनि उपयोगी देखिएको छ, जहाँ कुनै किसानले बाँदर देखेपछि तुरुन्तै सबैलाई सूचना दिन सक्छ । यसले सामूहिक लखेट्ने प्रणालीलाई अझ प्रभावकारी बनाएको छ ।
यसरी आधुनिक प्रविधिहरूलाई परम्परागत उपायसँग जोड्दा बालीलाई संरक्षण गर्न सकिन्छ । विशेषगरी सोलार फेनसिङ, मोसन सेन्सर अलार्म र कम्युनिटी अलर्ट सिस्टमजस्ता उपायहरू नेपालको ग्रामीण भौगोलिक अवस्थाअनुसार व्यावहारिक र दीर्घकालीन समाधानका रूपमा जडान गर्न सकिन्छ ।
समग्रमा भन्नुपर्दा, यदि सरकार, स्थानीय तह र किसानहरूले यी आधुनिक प्रविधिहरूलाई विस्तार गर्दै लग्यो भने बाँदरबाट हुने क्षति उल्लेखनीय एवं दीर्घकालीनरुपमा घटाउन सकिन्छ । यसले कृषि उत्पादनमा स्थिरता आउन सक्छ । बाँदरबाट हुने कृषिबाली क्षति सम्बन्धमा किसान एक्लैलेमात्र यो समस्या समाधान गर्न गाह्रो हुने भएकाले र सदनमा बारम्बार आवाज उठाइराख्नुभन्दा स्थानीय सरकार (नगरपालिका/गाउँपालिका) लाई परिचालन गरी नीति, योजना, बजेट र समन्वयमार्फत दीर्घकालीन समाधान दिन सक्छ ।
सबैभन्दा पहिले, स्थानीय सरकारले ‘मानव-बाँदर द्वन्द्व व्यवस्थापन योजना’ बनाउनुपर्ने हुन्छ, जसमा जोखिम क्षेत्र पहिचान, क्षति बढी हुने बालीहरूको नक्सांकन र समाधान रणनीति समावेश गर्नुपर्ने हुन्छ । यसले कुन वडामा बढी समस्या छ भन्ने स्पष्ट चित्र दिन्छ ।
दोस्रो, स्थानीय सरकारले सामुदायिकस्तरमा बाली सुरक्षा कार्यक्रम सञ्चालन गर्न सक्छ । उदाहरणका लागि, सामूहिक पहरेदारी, किसान समूह गठन र बाली पाक्ने समयमा विशेष निगरानी प्रणालीलाई संस्थागतरूपमा सहयोग गर्न सकिन्छ । यसले किसानको व्यक्तिगत भार घटाउँछ ।
तेस्रो, प्रविधि विस्तारमा स्थानीय सरकारको ठूलो भूमिका हुन्छ । उनीहरूले विशेषगरी सोलार फेनसिङ, मोसन सेन्सर अलार्म र कम्युनिटी अलर्ट सिस्टमजस्ता आधुनिक प्रविधिमा अनुदान वा सहुलियत प्रदान गर्न सक्छन् । यस्ता प्रविधि महँगो हुने भएकाले सरकारी सहयोगविना सबै किसानले प्रयोग गर्न कठिन हुन्छ ।
चौथो, स्थानीय सरकारले वन कार्यालय र राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर बाँदरको प्राकृतिक बासस्थान व्यवस्थापन गर्न सक्छ । वन क्षेत्रमा फलफूलका बिरुवा रोप्ने, पानी स्रोत सुधार गर्ने र ‘बफर फिडिङ जोन’ विकास गर्ने योजना बनाउन सकिन्छ, जसले बाँदरलाई खेतबारीतर्फ आकर्षित हुनबाट कम गर्छ ।
पाँचौं, स्थानीय तहले किसान सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गर्नु पर्दछ । बाँदर नियन्त्रणका प्रभावकारी तरिका, बाली सुरक्षा प्रविधि र सामुदायिक सहकार्यबारे नियमित प्रशिक्षण दिँदा किसान अझ सक्षम हुन्छन् ।
छैटौं, स्थानीय सरकारले क्षति मूल्यांकन र क्षतिपूर्ति प्रणाली प्रभावकारी बनाउन सक्छ । बाँदरबाट क्षति भएको बालीको द्रुत मूल्यांकन र उचित क्षतिपूर्ति हुँदा किसानमा राहत र भरोसा बढ्छ ।
अन्त्यमा, स्थानीय सरकारले विद्यालय, समुदाय र युवा समूहलाई परिचालन गरी सामाजिक सचेतना अभियान सञ्चालन गर्न सक्छ, जसले बाँदरलाई अनावश्यकरूपमा खुवाउने अभ्यास रोक्न मद्दत गर्छ ।
यसरी कृषकहरुलाई साँच्चै सहयोग गर्ने इच्छा भएमा सदनमा भनिराख्नु (विगत १० वर्षदेखि सुनिँदै आएको) भन्दा स्थानीय सरकारसँग समन्वय गरेर नीति निर्माण, प्रविधि सहयोग, सामुदायिक परिचालन र वन-कृषि समन्वयमार्फत कार्यक्रम तय गरी स्थानीय सरकारको सक्रिय भूमिकालाई कृषकमुखी बनाई बाँदरबाट हुने कृषि क्षति उल्लेखनीयरूपमा घटाउन सकिन्छ । यसबाट किसानहरूको जीवनस्तर सुधार गर्न ठूलो योगदान पुग्ने छ ।