मदन वैचारिक सिद्धान्तकार थिए नै । ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ,’ उनको मान्यता थियो । साथै, ‘अनुशासनवीनाको स्वतन्त्रता स्वेच्छाचारी हुन्छ र स्वतन्त्रताविनाको अनुशासन निरंकुशतन्त्र हुन्छ’ भन्ने मान्यतालाई उनले जोडदाररुपमा पैरवी गरे । क्रान्ति यथास्थितिको मात्रात्मक विकल्प होइन त्यो गुणात्मक पद्धति र राज्य सञ्चालनको उत्कृष्ट अभ्यास हुनुपर्छ भन्ने मान्यता स्थापित गरे । उनमा मास पोलिटिकल लिडरको गुण पनि कम थिएन । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछिको पहिलो व्यवस्थापिका संसद्को निर्वाचनका दौरानमा नेता भण्डारीको मास पोलिटिकल लिडरको क्षमता आमनेपाली जनताले देखेकै हुन्, अनुभव गरेकै हुन् ।
राजनीतिमा फरक पहिचान बोकेका कम्युनिस्ट विचारका धनी नेताको परिचयक्रममा जननेता मदन भण्डारीको नाम संस्मरणमा संधै आउँछ । कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशाबोध दिने जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा राजनीतिक वृत्तमा भण्डारीको परिचय छ । जनताको बहुदलीय जनवादका सैद्धान्तिक पाटाका विश्लेषक र सिद्धान्तकार नेता गिए उनीे । भण्डारी कुशल संगठक र व्यावहारिक नेताका रुपमा लौलिक जीवनकालमा परिचित भए । उनको असामयिक, स्तब्धकारी र अकल्पनीय निधनले तात्कालिक नेपालको राजनीतिमा अपूरणीय क्षति पु¥यायो ।
भण्डारीको जन्म पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारी भण्डारीको माइलो पुत्रका रुपमा वि.सं. २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । वि.सं. २०१५ सालमा गाउँको स्थानीय हिउँदे पाठशालाबाट औपचारिक शिक्षा आरम्भ गरेका मदन सानैदेखि तीक्ष्ण बुद्धिका थिए । राजनीति र सामाजिक रुपान्तरणमा गहिरो रुचि रहेका मदन कम्युनिस्ट चरित्र र माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादी विचारबाट प्रभावित भई तात्कालिक नेकपा मालेका उच्च नेताका रुपमा स्थापित भए । जनआन्दोलन २०४६ मा बाममोर्चाबाट सक्रिय उनी बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् तात्कालिक नेकपा माले र मनमोहन अधिकारीको नेतृत्वको नेकपा माक्र्सवादीको एकतापश्चात् गठन भएको नेकपा एमालेको शक्तिशाली महासचिव भए ।
लेनिनद्वारा स्थापित पहिलो माक्र्सवादी सिद्धान्तमा आधारित सोभियत कम्युनिस्ट व्यवस्था असफल भएपछिको कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थामा नेपालमा कम्युनिस्ट आन्दोलनको सिर्जनात्मक प्रयोगधर्मी र समकालिक विचारक भए । उनले जनताको बहुदलीय जनवादको आधारशीलामा बहुलवादी राजनीतिक प्रतिस्पर्धाका राजनीतिक र सैद्धान्तिक वैचारिक मान्यता स्थापित गरे ।
पछिल्लो राजनीतिक घटनाक्रमको मिहीन विश्लेषण गर्ने हो भने इतिहासको साँघुरो मोडबाट नेपाली कम्युनिस्ट आन्दोलन गुज्रिरहेको छ । संसदीय निर्वाचनमा कम्युनिस्ट वैचारिक मान्यता र यसका राजनीतिक आयामप्रति विकर्षणको अभिमतको अभिव्यक्ति पछिल्लो निर्वाचनले दिएको छ । सबै कम्युनिस्ट शक्तिहरुले अबका दिनमा गहन समीक्षा, आत्मालोचना र कार्यशैलीका व्यावहारिक पक्ष र जनतासँग नजिकिन नसकिएको अनुभूतिलाई आत्मसमीक्षा गर्दै भोलिका कार्यदिशा र रणनीतिक दिशाबोध हुनुपर्दछ भन्ने बुझाइ रहेको छ । गराइ, भोगाइ र सिकाइबाट नै भोलिको दिशाबोध र गन्तव्य तय हुन्छ । निर्वाचन त आवधिक हो । शासन र शत्ता पनि साधनमात्र हुन् । जनताका भावना, आत्मीयता र जनजीविकाका सवाललाई केन्द्रमा राखेर कमी कमजोरीको मिहीन समीक्षा र विश्लेषण हुने होला ।
पहिलो जनआन्दोलन २०४६ पश्चात् बहुदलीय शासन व्यवस्थाको स्थापना भयो । नेपाल अधिराज्यको संविधान, २०४७ नेपाली जनताले प्राप्त गरेपश्चात् सम्पन्न भएको व्यवस्थापिका संसद्को पहिलो निर्वाचनमा विजयी भई संसद् सदस्यका रुपमा नेता भण्डारीको संसदीय अभ्यासमा शालीन, गर्विलो र ओजश्वी उपस्थितिले नेपालको संसदीय परम्परामा छुट्टै छाप छोडेको छ । खरिलो कम्युनिस्ट नेता भएर पनि संसदीय अभ्यास र परम्परामा प्रमुख विपक्षी दलको समन्वयकारी नेताका रुपमा उभ्याउन सक्नु महत्वको थियो ।
उनले लौकिक जीवनको असामयिक मृत्युवरणअघिका दुई वर्ष संसद् सदस्य हुनुबाहेक अरु सार्वजनिक पद लिएनन् । जसका कारण उनलाई बाहिरी दुनियाँले कमै चिनेको सन्दर्भमा सन् १९९१ मा विश्वप्रसिद्ध अमेरिकी पत्रिका न्युजविकमा उनको अन्तर्वार्ता प्रकाशित भयो । जबकि, उनको अन्तर्वार्ता विरलै प्रकाशित हुन्थ्यो । न्युजविकमा अन्तर्वार्ता प्रकाशित भएपछि मदनका विचार, माक्र्सवादको सामयिक प्रयोग, नेपालको कम्युनिस्ट आन्दोलनका विविध आयाममा उनका सारपूर्ण विचार सम्प्रेषित भयो । अन्तर्वार्ताको शीर्षक ‘नेपालमा कार्ल माक्र्स बस्नुहुन्छ’ भन्ने थियो ।
साथै, उनको निधनको केही समयअघि कोलकातामा सन् १९९३ मा सम्पन्न भएको विश्वका २४ देशका कम्युनिस्ट पार्टीको सम्मेलनमा मदन भण्डारीको माक्र्सवादी चिन्तन र दृष्टिकोण सम्बन्धमा सारपूर्ण कार्यपत्र प्रस्तुत भएको थियो । उनको विचार २१औं शताब्दीको कम्युनिस्ट आन्दोलन र माक्र्सवादको सामयिक र व्यावहारिक धरातलमा उभिएको राजनीतिक सिद्धान्त र दर्शनका रुपमा स्थापित भयो । जनताको बहुदलीय जनवाद (जबज) नेकपा एमालेको राजनीतिक तथा वैचारिक सिद्धान्तका रुपमा पछिल्लो समयमा स्थापित भयो । उनको जबजको विचारलाई एमालेको पाचौं राष्ट्रिय अधिवेशनले अनुमोदन गरेपश्चात् त्यस पार्टीको आधिकारिक वैचारिक तथा सैद्धान्तिक विचारधारा बनेको थियो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा जबजको विचार एक महत्वपूर्ण सापेक्षक विचार र राजनीतिक सिद्धान्तका रुपमा स्थापित भयो । जबज विचार भूराजनीतिक अवस्था तथा माक्र्सवादको समचीनि व्याख्यात्मकको सार हो । उपयोगका आधारमा माक्र्सवादी सिद्धान्तको आधार सिद्धान्तसमेत रहन सक्यो । माक्र्सवादी विचार गत्यात्मक र गतिशील विचार हो । वर्गीय विश्लेषणका द्वन्द्वात्मक मान्यता र निरन्तरको गतिशीलता नै माक्र्सवाद हो । होइन भने त्यो निकै हदसम्म जडसूत्रवादको प्रतिछायाँमात्र रहन्छ । गतिशीलता र समग्र परिवर्तनका आयामलाई वैज्ञानिक विचारले राजनीतिक नीति र सिद्धान्तमा रुपान्तरण गर्नु नै माक्र्सवादी वैचारिक धरातल हो । यस मानेमा मदनको जबजले निकै हदसम्म न्याय गरेको छ ।
तात्कालीन नेकपा मालेबाट नेकपा एमाले हुँदै दलीय राजनीतिको अभ्यासले निखारिन प्रयास गरिरहेको एमालेको महासचिवजस्तो प्रभावशाली नेतृत्व सम्हालेका नेता मदनले कम्युनिस्ट विचारको वैचारिक धरातलमा पृथक राजनीतिक विचार जबजलाई नेकपा एमालेको विचार र मार्गदर्शक सिद्धान्तका रुपमा अघि सारे । कम्युनिस्ट आन्दोलनको वैचारिक आयामको प्रायोगिकतालाई हालको नेकपा एमालेले वैचारिक आधारशीला बीउपुँजीका रुपमा लिई आयो ।
चितवनको दासढुंगामा २०५० जेठ ३ गते जननेता मदन तथा अर्का प्रभावशाली नेता जीवराज आश्रितको अकल्पनीय तथा स्तब्धमय निधनले सिंगो मुलुक भावविह्वल तथा स्तब्ध रह्यो । राजनीतिक वृत्त, मिडिया र जनमानसमा त्यो स्तब्धकारी घटनालाई कारुणिक परिदृष्यको दुर्घटनाका रुपमा लिइ आए । त्यो क्षति सिंगो मुलुक र नेकपा एमाले पार्टी र कम्यनिुस्ट आन्दोलनका लागि थियो । अकल्पनीय निधनको घटना कसैका लागि पनि सहज थिएन । नेपाली राजनीतिको एक नायकको इहलिला समाप्त भयो तर उनका विचार, कम्युनिस्ट सिद्धान्त तथा विचार राजनीतिकको पाटामा चीरस्थायी रहला नै ।
विश्व कम्युनिस्ट आन्दोलनमा उनीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादले फरक पहिचानसहित नयाँ उचाई प्राप्त ग¥यो । जबजको प्रतिपादकका रुपमा नेपाली जनता र विश्व कम्युनिस्ट आन्दोलनको क्षेत्रमा मदन चीरस्मरणीय रहन्छन् । माक्र्सवादी विचारको नवीनतम् प्रयोग विचार र मूल्य, जनसंगठन र जनताका प्रतिनिधिमूलक संस्थाका माध्यमबाट अघि बढाउने मान्यताको प्रयोग उनले गरे । त्यो माक्र्सवादको वैज्ञानिकता र गतिशीलताको अभ्यासको निरन्तरता थियो । माक्र्सवादलाई गतिशील तथा समयानुकूल प्रयोगको आयामका रुपमा जबजको सिद्धान्त रहनसक्यो ।
मदन वैचारिक सिद्धान्तकार थिए नै । ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ,’ उनको मान्यता थियो । साथै, ‘अनुशासनवीनाको स्वतन्त्रता स्वेच्छाचारी हुन्छ र स्वतन्त्रताविनाको अनुशासन निरंकुशतन्त्र हुन्छ’ भन्ने मान्यतालाई उनले जोडदाररुपमा पैरवी गरे । क्रान्ति यथास्थितिको मात्रात्मक विकल्प होइन त्यो गुणात्मक पद्धति र राज्य सञ्चालनको उत्कृष्ट अभ्यास हुनुपर्छ भन्ने मान्यता स्थापित गरे । उनमा मास पोलिटिकल लिडरको गुण पनि कम थिएन ।
बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछिको पहिलो व्यवस्थापिका संसद्को निर्वाचनका दौरानमा नेता भण्डारीको मास पोलिटिकल लिडरको क्षमता आमनेपाली जनताले देखेकै हुन्, अनुभव गरेकै हुन् । समकालीन राजनीतिक वृत्तमा कुशल र प्रखर वक्ताको छवि बनाउन सके । कुशल संगठक भएरै पञ्चायती निर्दलीय (एक दलीय) व्यवस्थाको प्रतिकूल परिस्थितिमा पार्टीे संगठन चलायमान गर्ने चुनौती थिए । राजनीतिक आयाम र परिस्थितिको मिहीन विश्लेषण क्षमताले तात्कालीन नेकपा माले र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बीच कम्युनिस्ट पार्टी एकीकरण सम्भव भयो । साथै, एकीकृत पार्टी नेकपा एमालेको महासचिवको महत्वपूर्ण जिम्मेवारी मदन भण्डारीले कुशलतापूर्वक निर्वाह गरे ।
उनी समाजवादी आन्दोलनलाई नयाँ शिराबाट व्याख्या र विश्लेषण गर्ने कुशल भाष्यकारका रुपमा लिन सकिन्छ । विशेषतः पश्चिमा विश्वमा आएको उदारवाद तथा खुल्ला राजनीतिक प्रतिस्पर्धामा कम्युनिस्ट दर्शनको समाजवादी विचारलाई कसरी स्थापित गर्न सकिन्छ र तात्कालीन पूर्वी युरोपलगायत सोभियत संघको विघटन र अवसानपछि विश्व कम्युनिस्ट आन्दोलन नै अवसानको दूर्गतिबाट रोेक्नका लागि यो जबज विचार सञ्जीवनी भयो । पुनर्जागरणको टड्कारो प्रतिछायाँमा नवीन वैचारिक सोपान जनताको बहुदलीय जनवाद थियो । जबजको प्रयोग र व्याख्याको व्यावहारिकता पुष्टि गर्न मदन भण्डारी सफल भए । कम्युनिस्टका प्रगतीशील अभियन्ताभन्दा कञ्जुस्याइँ नरहला ।
विचार स्वीकृत र अस्वीकृतका फरक पाटा रहलान् । जनताको बहुदलीय जनवादको विचार नेपाली कम्युनिस्ट आन्दोलनमा अभ्यास र प्रयोगमा जीवन्त रहने प्रयास गर्ला । माक्र्सवादी चिन्तनले गतिशीलता र द्वन्द्वात्मकतालाई समेट्छ । विचार र सिद्धान्तको द्वन्द्वात्मकता, वर्गीय पहिचान माक्र्सवादको आधार हो । माक्र्सवादको प्रायोगिकताको धरातलमा जनताको बहुदलीय जनवादको व्याख्या र प्रयोग हुनुमा कसैको दुईमत नरहला । हिजो कार्ल माक्र्सले पनि हेगेलको द्वन्द्ववाद र फायरबाखका भौतिकवादी सिद्धान्त र विचारलाई संश्लेषण गर्दै माक्र्सवादी कम्युनिस्ट सिद्धान्त उजिल्याएका हुन् ।
नेपाली राजनीतिकका एक शिखर व्यक्तित्व मदन भण्डारीको जनताको बहुदलीय जनवादको प्रायोगिकता र माक्र्सवादको सान्दर्भिक उपयोगको आयामेली पाटो रहिरहला । जसले नेपाल र विश्व कम्युनिस्ट आन्दोलनमा स्पष्ट प्रभाव छोडेको छ । साथै, नेपाली कम्युनिस्ट आन्दोलनमा जबज अघि बढ्नेमा दीर्घकालीन विश्लेषणको पाटो रहला ।