जनताको चेतना जागृत भइसकेको छ, अब चुनौती त्यो चेतनालाई स्पष्ट एजेण्डा र अनुशासित संगठनमार्फत दिगो राजनीतिक शक्तिमा रूपान्तरण गर्नु हो । वैकल्पिक राजनीति सफल हुने कि असफल, त्यसको निर्णय सत्ताले होइन, विचारले गर्छ । पदभन्दा नीति, व्यक्तित्वभन्दा संस्थालाई प्राथमिकता दिन सकिएमात्र वैकल्पिक शक्ति वास्तवमै विकल्प बन्न सक्छ ।
नेपालको समकालीन राजनीति गहिरो संक्रमणको चरणमा छ । जेन–जी आन्दोलन र त्यस क्रममा भएका युवाहरूको बलिदानले केवल सरकारविरुद्ध असन्तोष व्यक्त गरेको होइन, दशकौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, बेथिति र असमानताविरुद्ध जनस्तरको विद्रोही चेतनालाई सार्वजनिक गरेको हो । यही चेतनाबाट वैकल्पिक राजनीतिक शक्तिको उदय आवश्यकमात्र होइन, अपरिहार्य बन्दै गएको देखिन्छ ।
जनआन्दोलनबाट प्राप्त नैतिक अनुमोदनलाई संस्थागत र वैधानिक मार्गमा रूपान्तरण गर्ने माध्यम आवधिक निर्वाचन नै हो । तर निर्वाचन आफैंमा परिवर्तन होइन; परिवर्तनका लागि स्पष्ट दृष्टिकोण, संगठनात्मक क्षमता र वैचारिक एकरूपता आवश्यक हुन्छ । यही पृष्ठभूमिमा उज्यालो नेपाल पार्टीको उदय भएको हो, पुराना अभ्यासभन्दा फरक राजनीतिक संस्कृतिको खोजीका रूपमा । जब देश थाक्छ, तब केही अनुहारहरू आशा बन्छन् । जब भरोसा हराउँदै जान्छ, तब केही नामहरू उज्यालो बन्छन् ।
गठन भएको छोटो समयमै उज्यालो नेपाल पार्टीले उल्लेखनीय जनसमर्थन हासिल गरेको छ । तर नेपालको संसदीय संरचना र संवैधानिक अंकगणितका कारण जनसमर्थनमात्र पर्याप्त हुँदैन, राजनीतिक परिणामका लागि रणनीतिक एकता पनि आवश्यक पर्छ । यही यथार्थका कारण वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकताको आवश्यकता उठ्यो, जुन स्वयं जनअपेक्षासँग पनि मेल खान्थ्यो । इतिहासले देखाएको छ, ठूला र जरा गाडेका शक्तिलाई परास्त गर्न साना तर वैचारिकरूपमा नजिक शक्तिहरूबीचको एकीकरण अस्वाभाविक होइन ।
यसै सन्दर्भमा उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्ने सहमति भयो । सोही आधारमा समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइयो । तर सूची बुझाइसकेपछि देखिएको आन्तरिक राजनीतिक दाउपेज एकाएक बाहिर नै सार्वजनिक भयो । यसले गर्दा वैकल्पिक राजनीतिको भविष्यबारे गम्भीर प्रश्नहरू जन्माएको छ । यहाँ समस्या पद, सत्ता वा शक्तिको होइन, समस्या एजेण्डाको स्वामित्व, संगठनात्मक अस्तित्व र राजनीतिक आत्मसम्मानको हो ।
चुनावको मुखमा उभिँदा वैकल्पिक शक्तिहरूले एउटा मौलिक प्रश्नको सामना गर्नुपर्छ । हामी पुराना दलका कमजोरी देखाएरमात्र मत माग्ने कि आफ्ना स्पष्ट र मापनयोग्य एजेण्डा प्रस्तुत गरी जनअनुमोदन लिने ? देशको शासकीय स्वरूप, संघीयताको अभ्यास, आर्थिक मोडल, भाषिक, सांस्कृतिक विविधताप्रतिको दृष्टिकोण, भ्रष्टाचार नियन्त्रणका उपाय र युवाका आकांक्षालाई सम्बोधन गर्ने नीति, यी सबै विषयमा स्पष्टताविना वैकल्पिक राजनीति विश्वसनीय हुन सक्दैन । तर पार्टी एकताअघि सीमित समय र दबाबका कारण यी वैचारिक आधारहरू पर्याप्तरूपमा संस्थागत हुन सकेनन् । परिणामस्वरूप उदारता र सहकार्यलाई कमजोरीका रूपमा बुझ्ने प्रवृत्ति देखियो । राजनीतिक प्रतिस्पर्धामा विपक्षीसँगको संघर्ष स्वाभाविक हुन्छ, तर आफ्नै सहयात्रीसँगको अविश्वासले वैकल्पिक शक्तिलाई नै कमजोर बनाउँछ । यहीँ प्रश्न उठेको छ, त्यो एकता वैचारिक मर्जर थियो कि केबल अंकगणितीय एक्वायर ? भन्ने ।
वैकल्पिक राजनीतिको सार सत्ता प्राप्तिमात्र होइन, राजनीतिक संस्कृतिको रूपान्तरण हो । त्यसका लागि एजेण्डाको रक्षा, जनविश्वासको कदर र अभियानकर्मीहरूको आत्मसम्मान अपरिहार्य सर्त हुन् । तत्कालीन लाभका लागि दीर्घकालीन लक्ष्य र मूल्य त्याग्नु भनेको स्वयं वैकल्पिक राजनीतिको आत्महत्या गर्नु हो । ‘भोकै बस्न सकिन्छ, तर अन्याय सहन सकिँदैन’ भन्ने चेतना नै परिवर्तनकारी राजनीतिको मेरुदण्ड हो । यसलाई नै केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुको विकल्प छैन । सुशासन, समृद्धि र सामाजिक न्यायको चिन्तन, प्रवद्र्धन तथा राजनीतिक सुधारका रणनीतिहरू बनाई कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता हो । आज हामीले राजनीतिक सिद्धान्तका अन्त्यहीन लफ्फाजी गर्नुभन्दा आर्थिक राष्ट्रवादका कुरा गर्नु छ । कसैलाई प्रतिसोध साँध्ने समय छैन र प्रतिसोध साँधेर देश विकास हुँदैन । हामीले नतिजा हेर्ने हो ।
राजनीति क्षणिक वर्षा होइन, दीर्घकालीन मौसम हो । एक झरीले बर्खा सकिँदैन । आज देखिएका अवरोध र विवादले वैकल्पिक राजनीतिको सम्भावनालाई समाप्त गर्दैन, अहिले संसदीय अंकगणितमा हाम्रो नम्बर कम आउन सक्छ तर यसले धैर्यता, वैचारिक स्पष्टता र संगठन निर्माणको आवश्यकता अझ प्रस्ट बनाउँछ । जनताको चेतना जागृत भइसकेको छ, अब चुनौती त्यो चेतनालाई स्पष्ट एजेण्डा र अनुशासित संगठनमार्फत दिगो राजनीतिक शक्तिमा रूपान्तरण गर्नु हो । वैकल्पिक राजनीति सफल हुने कि असफल, त्यसको निर्णय सत्ताले होइन, विचारले गर्छ । पदभन्दा नीति, व्यक्तित्वभन्दा संस्थालाई प्राथमिकता दिन सकिएमात्र वैकल्पिक शक्ति वास्तवमै विकल्प बन्न सक्छ ।
(लेखक उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन्)