- यो १३ वर्षमा विदेशीनेमध्य २८ लाख ४० हजार २३ जना श्रम स्वीकृति नवीकरण गरेर विदेशीएको तथ्यांक छ
- श्रम गन्तव्य मुलुकमा रोजगारीको आकर्षण बढेपनि पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा खाडी जानेहरु नै बढी
- पछिल्लो समय रोजगारीमा जाने महिलाको संख्या बढ्दो
काठमाडौं- पछिल्लो १३ वर्षमा ७६ लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीवार जारी गरेको श्रम आप्रवासन प्रतिवेदन, २०२४काअनुसार सन् २०११/१२देखि २०२३/२४को अवधिमा ७६ लाख ३६ हजार ८२५ जना युवाहरु रोजगारीका लागि विदेशीएका हुन् ।
यो संख्या संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर गएकाहरुको हो । यो १३ वर्षमा विदेशीनेमध्य २८ लाख ४० हजार २३ जना श्रम स्वीकृति नवीकरण गरेर विदेशीएको तथ्यांक छ । त्यस्तै, रोजगारीमा जानेमा पछिल्लो दुई आर्थिक वर्ष २०२२/२३ र २०२३/२४मा १५ लाख १५ लाख १२ हजार ६१६ जना छन् । जसमा एक लाख ५२ हजार ३०५ जना महिला छन् ।
प्रतिवेदनमा उल्लेख भएअनुसार कोरोना महामारीपछि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेहरुको संख्या बढेको छ । यद्यपि सन् २०२२/२३ यता कामदारको माग बढे पनि जाने कामदारको संख्या भने कम देखिएको छ । सन् २०२२/२३मा पाँच लाख ८३ हजार ४५५ जना पुरुष श्रमिकको मागपत्र प्रमाणीकरण भएको थियो भने रोजगारीमा जानेहरु चार लाख ९४ हजार २१७ जना मात्र थिए । सोही वर्ष महिला कामदारका लागि ८३ हजार ७६२ वटा माग आएकोमा ४३ हजार ४९९ जनामात्र गएका थिए । त्यस्तै, सन् २०२३/२४मा पुरुष श्रमिकका लागि पाँच लाख ५० हजार ७४० वटा माग आएकोमा चार लाख ६० हजार १०२ जनामात्र गएका थिए । उक्त वर्ष ८८ हजार ८२५ जना महिलाको माग आएपनि ५९ हजार ५७७ जना मात्र गएका थिए ।
पछिल्लो समय रोजगारीमा जाने महिलाको संख्या भने बढ्दो छ । सन् २००८/०९मा रोजगारीमा जाने महिलाहरु ३.९ प्रतिशत मात्र थिए भने २०२३/२४मा आइपुग्दा बढेर १२.९ प्रतिशत पुगेको छ ।
खाडीमै बढी कामदार
नयाँ श्रम गन्तव्य मुलुकमा रोजगारीको आकर्षण बढेपनि पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा खाडी जानेहरु नै बढी छन् । २०२२/२३मा चार लाख १८ हजार ६८४ जना व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति लिएर खाडीका छ वटा मुलुक गएका थिए । उनीहरु कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुवेत र बहराइन गएका हुन् ।
उक्त वर्ष खाडीबाहेकका बाँकी सबै मुलुकमा जानेहरुको यस्तो संख्या तीन लाख ५२ हजार ६३५ थियो ।खाडीले वैदेशिक रोजगारीको ८० प्रतिशत हिस्सा ओगटेको मन्त्रालयले जनाएको छ । त्यसपछि २०२३/२४मा पाँच लाख २५ हजार ६९२ जना खाडी मुलुक गएका थिए भने खाडी बाहेकका मुलुकमा दुई लाख १५ हजार ६०५ जना गएका थिए ।
प्रतिवेदनका अनुसार २०२३/२४मा रोजगारीमा गएका पुरुषमा १८देखि २४ वर्ष उमेरका २९.६ प्रतिशत छन् । साथै, २५देखि ३४ वर्षका ४५.७, ३५देखि ४४ वर्षका २२.६ र ४५ वर्ष माथिका १.८ प्रतिशत छन् । त्यस्तै, १८देखि २४ वर्षका महिला ३९.१ प्रतिशत रोजगारीमा गएका छन् । त्यस्तै २५देखि ३४ वर्षका ४८, ३५देखि ४४ वर्षका १२.१ र ४५ वर्षमाथिका ०.८ प्रतिशत महिलाहरु रोजगारीमा गएको पाइएको छ ।
पछिल्लो दुई वर्षमा सबैभन्दा बढी मधेश प्रदेशबाट र त्यसपछि कोशी प्रदेशबाट बढी कामदार विदेशिएका छन् । सबैभन्दा कम भने कर्णाली र सुदुरपश्चिम प्रदेशबाट गएका छन् । कर्णाली र सुदूरपश्चिमका नागरिकहरु बढी जसो मौसमी कामदारको रुपमा भारत जाने गरेको उल्लेख गरिएको छ । उक्त दुई वर्षमा सबैभन्दा बढी महिला कामदार बागमती र कोशी प्रदेशबाट परदेशिएका छन् भने सबैभन्दा कम कर्णाली र सुदुरपश्चिमका रहेका छन् । सोही अवधिमा रोजगारीमा गएकामध्य १० लाख ८३ हजार २६९जना स्वदेश फर्किएको तथ्यांक छ । जसमा ९३ हजार ७५७ जना महिला र नौ लाख ८९ हजार ५१२ जना पुरुष छन् ।
प्रतिवेदनअनुसार सन् २००८/०९देखि २०२३/२४मा रोजगारीमा गएकामध्य १३ हजार १७३ जनाले ज्यान गुमाएका छन् । प्रतिवेदनले कार्यस्थल र वासस्थानको अवस्था, स्वास्थ्य परिक्षणको कम पहँुच, कार्यघण्टाभन्दा बढी काम, भाषा तथा संस्कृतिको अवरोधका कारण शारीरिक तथा मानसिक स्वस्थ्यमा गम्भीर असर पर्ने गरेको जनाएको छ । खाडी मुलुकमा बढी तापक्रम र आद्रताको कारण आउटडोर काम गर्ने कामदारको स्वास्थ्यमा जोखिम रहेको अध्ययनमा उल्लेख छ ।
कामको प्रकृतिका कारण कृषि तथा घरेलु कामदारको रुपमा काम गर्ने महिला जोखिममा रहेको मन्त्रालयले जनाएको छ । नेपाली श्रमिकले गन्तव्य मुलुकको स्वास्थ्य उपचार गर्न नसक्दा रोजगारदाताले पनि बिरामी कामदारलाई बोझको रुपमा हेर्ने गरेको र स्वदेश फर्काइदिने गरेको भनिएको छ ।